बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लम्बियो प्रेस चौतारीको महाधिवेशन

शनिबार, २८ फागुन २०७८, २० : ३७
शनिबार, २८ फागुन २०७८

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको ९ औं महाधिवेशन एक दिन लम्बिएको छ।  शनिबार साँझसम्ममा सम्पन्न गर्ने भनिएको महाधिवेशन आन्तरिक विवाद देखिएपछि लम्बिएको हो । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि चौतारीका सदस्यहरु आन्दोलनमा उत्रिएका थिए । 

उपत्यका प्रदेशले छुट्टै स्वायत्त अधिकार तथा १ खुल्ला सचिवको माग गरेको छ । यता एशोसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ । एक प्रदेशका लागि एक सचिव र ६ पुरुष, ३ महिला सदस्यसहित दस जनाका लागि सहमति गरेर आउन अध्यक्ष मण्डलले निर्देशन दिएको छ । यद्यपि सो निर्देशन लागू हुन सकेको छैन।  एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङ, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्षहरू गगन विष्ट, राजेन्द्र अर्याललगायत बसेर बिहानबाट सहमति जुटाउन प्रयास भइरहेपनि सफल हुन सकेका छैनन्। 

पछिल्लो समयमा आइपुग्दा पदाधिकारी, केन्द्रीय सदस्य तथा आयोगका अध्यक्ष र सदस्यहरूका आकांक्षी बढेपछि सहमतिको प्रयास विफल भएको हो । अघिल्लो पटक मनोमानी  ढंगले केन्द्रीय कमिटी मनोनित गरिएकाले यो पटक सहमति जुटाउन समस्या भएको प्रतिनिधिहरूको आरोप छ। 

निर्वाचन समितिले तेस्रोपटक निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। जसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति १ बजे गर्न र बिहान ७ बजेबाट मतदान कार्यतालिका प्रकाशन गरिएको छ।  अध्यक्षमा गणेश बस्नेत, टीका विष्ट, माधव नेपाल, गणेश पाण्डेको दावी कायमै छ। उता महासचिवमा भने हिरामान लामा, चेतन अधिकारी र इन्द्र आचार्यको दावी रहेको छ।  महाधिवेशनमा १ हजार १८ जना प्रतिनिधि सहभागी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप