बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वयुद्ध उन्मुख भूराजनीतिमा नेपाल ‘स्याटेलाइट स्टेट’ हुने जोखिम : डा.प्रसाई

‘विश्वमा देखिएको द्वन्द्व शक्तिको केन्द्र सर्दै गरेको परिस्थितिको उपज’
शनिबार, २८ फागुन २०७८, १२ : ५१
शनिबार, २८ फागुन २०७८

नेपाल खुला विश्वविद्यालयका सह–प्राध्यापक डा.खगेन्द्र प्रसाईले विश्व भूराजनीतिमा नेपालले संवेदनशील रूपमा पाइला चाल्नुपर्नेमा जोड दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘विश्व भूराजनीति र नेपालले लिनुपर्ने बाटो’ विषय भर्चुअल डिस्कोर्समा सहजीकरण गर्दै डा.प्रसाईले भूगोलले मात्र विश्व राजनीतिमा ठूलो अर्थ नराख्ने तर त्यहाँ रहेका प्राकृतिक सम्पदा र आर्थिक सम्भावना नै भूराजनीतिको निर्णायक पक्ष भएकोमा जोड दिँदै नेपाल प्राकृतिक र सामरिक दुवै दृष्टिले संवेदनशील ठाउँमा रहेको प्रष्टाएका हुन् ।

प्रसाईले भने, ‘भूराजनीतिमा भूगोलले मात्र ठूलो अर्थ राख्दैन । तर, जब त्यहाँ प्राकृतिक सम्पदा, आर्थिक सम्भावना र सामरिक महत्त्व जोडिन्छ, त्यो निर्णायक हुन्छ । नेपाल त्यस्तै ठाउँमा छ ।’  विश्वमा देखिएको द्वन्द्व शक्तिको केन्द्र सर्दै गरेको परिस्थितिको उपज भएको प्रसाईंको विश्लेषण छ । ‘हरेक आर्थिक संकटपछि शक्तिको केन्द्र सर्ने गर्दछ, यो सामाजिक विकासको ऐतिहासिक अनिवार्यता हो,’ प्रसाईले भने, ‘२०१६ सम्म अमेरिकाले चीनलाई आफ्नो प्रतिस्पर्धी शक्तिका रूपमा सोचेको थिएन । तर, त्यसपछि प्रतिद्वन्द्वी शक्तिको आँखाले हेर्न थाल्यो। २००४ को एमसीसी परियोजना र २०१६ पछिको एमसीसीमा आधारभूत रूपमै अन्तर छ। अघिल्लो परियोजना आर्थिक विषयमा केन्द्रित थियो। तर, पछिल्लो भूराजनीतिक र सामरिक विषयमा बढी केन्द्रित छ। विश्व राजनीति र शक्तिको केन्द्र अमेरिकाबाट चीनतिर सर्दै गएको अनुभूति भएकाले अमेरिका र चीन दुवै आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् ।’
‘पुरानो महाशक्तिले आफ्नो शक्ति कायम राख्न खोज्ने र नयाँ शक्तिले शक्ति हत्याउन खोज्ने होडबाजीले अनिवार्य युद्ध निम्त्याउँछ,’ उनले थपे, ‘विश्वमा शक्तिको केन्द्र सर्दा युद्धहरू अनिवार्य हुने गरेका छन् । अहिले विश्वमा देखिएको परिदृश्य पनि त्यस्तै छ ।’

‘अहिले विकल्पको रूपमा चीनको उदय भएको छ । चीनको आर्थिक सामाजिक वर्चश्व पनि विकसित हुँदैछ । पश्चिमाहरुले पाकिस्तानलाई त चीनको ‘स्याटेलाइट स्टेट’ नै भन्छन्। जेहोस्, चीन–पाकिस्तान सम्बन्ध राम्रो छ। रसिया फेरि उदाएको छ । रूस–चीनबीच निकटता छ । यसले विश्वमा नयाँ ध्रुवीकरण देखिएको छ । नेटोको बिस्तार, चीनलाई घेराबन्दीका लागि औकसको निर्माण, क्वार्डको गठन, जि–७ राष्ट्रहरूको चीनप्रति आक्रामक नीति आदिले विश्व फेरि नयाँ युद्धतर्फ धकेलिएको परिस्थिति देखिन्छ,’ उनले भने ।

‘कुनै बेला माओत्सेतुङले साम्राज्यवादलाई कागजी बाघ भनिदिए । तर, साम्राज्यवाद कागजी बाघ होइन । यो त ठूलो भौतिक शक्ति हो । यसलाई कमजोर आँक्नु हुँदैन,’ डा.प्रसाईले भने, ‘उदाउँदो चीन र अस्ताउँदो अमेरिका बीचको द्वन्द्वले विश्वव्यापी प्रभाव राख्नेछ । रूस–युक्रेन मुद्दामा भारतले समेत तटस्थताको नीति लिएको छ । यसमा भारतले बुद्धि पुर्‍याएको छ । हुन त आफ्नो सैन्य शक्ति रसियाको हतियार र प्रविधिमा टिकेका कारण भारतले जोखिम नमोलेका विश्लेषण पनि गरिएको छ । कुरा जेसुकै होस्, भविष्यमा कता उभिन्छ, यसै भन्न सकिन्न । तर, युक्रेन मामिलामा भारतको नीति बुद्धिमतापूर्ण देखिन्छ । नेपालले हतारमा कच्चा निर्णय लिएको छ । यसले भविष्यमा प्रतिकूल परिस्थिति निम्त्याउन सक्छ ।’

अमेरिका आफ्नो शक्ति टिकाउन आक्रामक रूपमा प्रस्तुत भएको र चीन पनि सोहीअनुरूप प्रस्तुत भएको प्रसाईको दाबी छ । उनले भने, ‘ट्रम्पको शासनकालपछि अमेरिका सैन्य रणनीतिका साथ चीनविरोधी मोर्चा निर्माण गरिरहेको छ । पछिल्लो समय चीन पनि आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । बिरलै मात्र प्रतिक्रिया दिने चीनले ६० वर्षको इतिहासमा एमसीसीको मामिलामा १० दिनमा चार पटक प्रतिक्रिया दिएको छ । ताइवानमाथि कसैले आँखा लगाए खरानी बनाइदिने चिनियाँ राष्ट्रपति सीको अघिल्लो वर्षको चेतावनीले पनि त्यही आक्रमकताको संकेत गर्दछ ।’

विश्वयुद्ध उन्मुख भूराजनीतिमा नेपालले दीर्घकालीन सोचका साथ कदम चाल्नुपर्ने उनले बताए । प्रसाईले भने, ‘नेपालले अहिल्यै यही बाटो लिन्छ भन्न सकिने अवस्था छैन। परिस्थिति कस्तो हुन्छ, बाटो पनि त्यस्तै हुन्छ । तर, अहिले मोटामोटी ४ सम्भावना देखिएका छन्। पहिलोः अमेरिकाले आफ्नो कमजोर अर्थतन्त्र र शक्तिको आंकलन गरेर युद्धको तयारीबाट पछि हट्न सक्छ । तर, त्यस्तो सम्भावना बलियो देखिएको छैन । मजदुर आन्दोलन, समाजवादी आन्दोलन र अमेरिकाभित्रै राष्ट्रियताको रक्षाका निम्ति दबाब सिर्जना हुनसके अमेरिका युद्धबाट पछाडि हट्न सक्छ र हामी युद्धको भूमरिबाट जोगिन सक्छौं। दोस्रोः नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढतापूर्वक अडिने सम्भावना हुन्छ ।

नेपालले घोषित रूपमा नीति परिवर्तन गरेको छैन । तर, व्यवहारमा हामी धेरै ठाउँमा चुकेका छौँ । अहिलेको सन्दर्भमा नेपालले लिनुपर्ने बाटो असंलग्नता नै हो । यसले शक्ति राष्ट्रको द्वन्द्वमा नेपाल मिचिने खतराबाट बच्न सकिन्छ । तेस्रोः नेपाल अमेरिकी ध्रुवमा जाने सम्भावना । यो सम्भावना कमजोर छैन । नेपालका पार्टीहरूले बुद्धि पुर्‍याएनन् भने नेपाल ‘स्याटेलाइट स्टेट’ हुने जोखिम छ । चौँथोः चिनियाँ ध्रुवमा जाने सम्भावना । यो सम्भावना पनि समाधान होइन । अमेरिकी वा चिनियाँ ध्रुवमा जाँदा पनि सर्वनाश भइहाल्छौँ भन्ने होइन । तर, त्यो नेपालका लागि सुखद् बाटोचाहिँ होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप