बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधानी महोत्सवले नेपालको छविलाई माथि उठाएको छ : प्रभु साह

शनिबार, २८ फागुन २०७८, १२ : ३९
शनिबार, २८ फागुन २०७८

नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य पूर्वमन्त्री प्रभु साहले मौलापुरमा सम्पन्न मधानी महोत्सवले नेपालको छविलाई माथि उठाएको बताएका छन् । होली पर्वको अवसरमा पर्सा जिल्ला सदरमुकाम वीरगन्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री प्रभु साहले बर्जु घटनाले धुमिलिएको नेपालको छवि मधानी महोत्सवको सफलतासँगै सफा भएको र नेपालमा अन्तर्राष्ट्रिय कलाकारको लागि सुखद वातावरण निर्माण भएको बताए । पाँच लाख भन्दा बढीको सहभागितामा सम्पन्न मधानी महोत्सवले तराई मधेशमा पर्यटन विकास सम्भव रहेको संदेश दिएको पूर्वमन्त्री साहको भनाई छ ।

पूर्वमन्त्री साहले रौतहटको धर्तीमा दबिएको पुरातात्त्विक महादेव मन्दिर र यस क्षेत्रमा मात्रै मनाइने मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव सफल रहेको जिकिर गरे । अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुसंग प्रस्तुति दिएका स्थानीय कलाकारको हौसला बढेको र कला क्षेत्र प्रति मधेशमा आकर्षण बढाएको उनको भनाई छ ।

‘यहाँहरुलाई थाहा छ एक महिना अगाडि बर्जु भन्ने ठाउँमा एउटा मेलामा भारतीय कलाकार सहभागी हुने कार्यक्रममा तोडफोड तथा आगजनी हुँदा अब नेपालमा कोही कलाकार आउदैन जस्तो भैसकेको थियो । खेसारीलाल लगायतका कलाकरको गाडीसमेत जलाइएको उक्त घटनाले कला क्षेत्रमा नेपालको छवि धुमिल भएको थियो । कलाकारहरुमा एकप्रकारको त्रास थियो । तर मौलापुर मधानी महायज्ञमा ५ लाखभन्दा बढीको सहभागिताका बीच पुनः भारतीय कलाकारहरुले अपार रूपमा कार्यक्रम गर्दा नेपालको छविलाई माथि उठाएको छ ।’ पूर्वमन्त्री साहले भने, ‘नेपालमा कलाकारको सम्मान हुन्छ भन्ने कुरा प्रमाणित भएको छ, नेपालको धुमिल छवि मौलापुरको सफलताले धोएको छ ।’

‘खेसारी लाल यादव तथा महानायक राजेश हमाल जस्ता कलाकारहरुसंग कला प्रदर्शन गर्ने स्थानीय कलाकारहरुको हौसला बढेको छ । एकातिर वर्षौदेखि धर्तीमा दबिएको पुरातात्विक मन्दिर र यस क्षेत्रमा मनाइने मधानी महायज्ञको अन्तर्राष्ट्रिय स्तरमा प्रचार भएको छ भने अर्कोतिर मौलापुरमा भएको मोडेल विकासबारे सर्वत्र जानकारी भएको छ ।’ पूर्वमन्त्री साहले थपे, ‘यसप्रति सबैले गर्व गर्नुपर्छ कि रौतहटको धर्तीले यस्तो गौरवशाली कर्म गरेको छ ।’कार्यक्रमबाट भोजेन्द्र चौधरीको नेतृत्वमा रौतहट–वीरगन्ज सम्पर्क समिती घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप