शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको टिप्पणी : ‘नेपालका कम्युनिस्टहरू एउटै पेन्सिलका फरक फरक टुक्रा’

लोसपा र जनमत विचार र सिद्धान्त प्रष्ट नभएको
शनिबार, २८ फागुन २०७८, ११ : ५५
शनिबार, २८ फागुन २०७८

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका सबै कम्युनिस्टहरू एउटै पेन्सिलका फरक फरक टुक्रा रहेको टिप्पणी गरेका छन् । जसपा संघीय परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा अध्यक्ष भट्टराईले नेपालका कम्युनिस्ट पार्टीलाई एउटै पेन्सिलका फरक फरक टुक्रा भएको बताएका हुन् । 

उनले तयार पारेको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा नेपालमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिस्ट समूह रहेको उल्लेख गर्दै साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैद्य, विप्लव, आहुति, माले आदि अनेक समूहहरू रहेको र यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै रहेको जिकिर गरेका छन् । 

यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा÷माओवादबाट प्रभावित रहेको उल्लेख गर्दै उनले सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समातेको उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘माओवादी केन्द्र एमालेसँगको एकता, नेकपाको निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ । औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन । हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फत नेपाली काँग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएको छ ।’

काँग्रेस र एमाले एउटै

काँग्रेस र कम्युनिस्टको ‘ब्राण्ड नेम’बाहेक काँग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो रहेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले काँग्रेस र एमाले एउटै सिक्काका दुई पाटाजस्तै रहेको टिप्पणी गरेका छन् । दुवै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए । दुवै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिएको उल्लेख गर्दै उनले काँग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्त्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न नसकेको उल्लेख गरेका छन् । 

उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी काँग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको प्रतिवेदनमा लेखेका छन् । 

उनले भनेका छन्, ‘एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो । बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रूपमा देखिएको छ । नेकपा (एकीकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रष्ट छैन ।’ 

केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनसँग विमति राखेको एमालेबाट फुटेको दल भएको हुँदा नेकपा एकीकृत समाजवादीको विश्लेषण पद्धति आधारभूत रूपमा एमालेको जस्तै रहेको उल्लेख गर्दै उनले यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्ने अवस्था रहेको उल्लेख गरेका छन् । 

कम्युनिस्टको द्वैध चरित्र 

एमसीसी प्रकरणमा माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै अध्यक्ष भट्टराईले देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरेको आरोप लगाएका छन् ।

साना वामपन्थी वा कम्युनिस्ट समूहमा कुनै उल्लेखनीय नयाँ विचार र सृजनशील क्षमता देखिएको छैन । तिनीहरुसँग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता नदेखिएको उल्लेख गर्दै उनले पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुण्ठा, निराशा, हतासा, विभ्रम र उद्विग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण नदेखिएको टिप्पणी गरेका छन् । 

नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको उल्लेख गर्दै उनले एकातिर उनीहरूले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् भने अर्कोतिर यी विचारको विश्व सान्दर्भिकता, व्यवहारिक प्रयोग र प्रयोजनशीलताबारे व्यापक अन्योल, अविश्वास, निराशा र हिनताभाष व्याप्त रहेको टिप्पणी गरेका छन् । 

नेपालका कम्युनिस्ट समूहहरूसँग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न नसकिने बताउँदै उनले भनेका छन्, ‘आफै भ्रमित व्यक्ति, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन । लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि उनीहरू प्रतिबद्ध छैन ।’ कम्युनिस्ट समूहहरूबाट सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको सम्बोधन पनि सम्भव देखिन्न । नत यिनीहरूसँग कुनै ठोस आर्थिक नीति तथा विकास र समृद्धिको मोडेल नै छ । सरकारमा भएका बेला यिनीहरूले पनि आसेपासे पुँजीवाद, भ्रष्टाचार, कमिशनखोरीकै अभ्यास गर्दै आएको आरोप अध्यक्ष भट्टराईले लगाएका छन् । 

राप्रपा रुढीवादी

राष्ट्रिय जनता पार्टी रुढीवादी धारको प्रतिनिधि दल भएको उनले आफ्नो प्रतिवेदनमा लेखेका छन् । पुराना शासक वर्ग र परिवार– राणा, शाह र पञ्चहरूको विरासतको गर्भबाट यो दलको उदय र अस्तित्व कायम भएको भन्दै उनले जनतामा निहित धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको टिप्पणी गरेका छन् । 

शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल रहेको टिप्पणी गर्दै अध्यक्ष भट्टराईले भनेका छन्, ‘यो मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो । यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ । यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपोगण्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन ।’

विचार र सिद्धान्त प्रष्ट नभएको लोसपा र जनमत

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टीलाई अध्यक्ष भट्टराईले विचार, सिद्धान्त र एजेण्डा प्रष्ट नभएको पार्टी रहेको दाबी गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘लोसपा र जनमत पार्टीः हाम्रो पार्टीबाट विभाजित एउटा समूहले लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) गठन गरेको छ । यो दलसँग विचार, सिद्धान्त र एजेण्डाको प्रष्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भई यो समूह हामीबाट फुटेको हो । ओली सरकारको दुई दुई पटकको असंवैधानिक संसद् विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’

तराई–मधेसका केही जिल्लामा जनमत नामको पार्टीले केही राजनीतिक गतिविधि गरिरहेको पाइएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यो पार्टीका वास्तविक राजनीतिक अभीष्ट के हुन भन्ने अझै प्रष्ट नरहेको टिप्पणी गरेका छन् । ‘स्वतन्त्र मधेस’ को नाराबाट यसको नेतृत्व चर्चामा आए पनि पछि त्यसले ओली सरकारसँग आत्मसमर्पण गरेको र गान्धी र माण्डेलालाई आदर्श ठान्ने भनिएको पार्टी भीडतन्त्र र अराजक क्रियाकलाप गर्न थालेको आरोप अध्यक्ष भट्टराईको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप