कविताको शक्ति भनेको उसको चिन्तनको शक्ति हो
![कविताको शक्ति भनेको उसको चिन्तनको शक्ति हो](https://rpcdn.ratopati.com/media/albums/Netra-Atom_tevCDaOCS9.jpg)
कुन समयलाई समकालीनता भन्ने बारेमा सैद्धान्तिक विमर्श गर्नुपर्दैन । विभिन्न उमेर समूहका, विभिन्न चिन्तनका, विभिन्न शैलीका कविहरू एउटा समयमा सक्रिय हुन्छन् । तीमध्येबाट समकालीनताको निर्धारण हुन्छ । समकालीन कविमा तीन खालका कवि सक्रिय हुन्छन् । यी तीनै खालका कविबाट समकालीनताको निर्माण भएको हुन्छ । त्यस मध्येमा सामान्यतः पहिलो खालका कविहरू अहिलेका कविहरूभन्दा अझ पछाडि फर्किन खोजिरहेका हुन्छन् । दोस्रो थरी कविहरू जे प्राप्त भएको छ, त्यो नै सर्वाधिक महत्त्वपूर्ण हो, अब हामीले प्राप्त गर्नुपर्ने चिज केही पनि छैन भन्ने सोच राखेर लेखिरहने कविहरू छन् । त्यस्ता कविहरूको सङ्ख्या त्यसै पनि धेरै हुन्छ । त्यसपछि तेस्रो खालका कविहरू जसलाई पनि आलोचना गर्दै, यसका पनि विकल्पहरू देखाउँदै नयाँ चिन्तन, नयाँ शिल्प, प्रस्तुतिका नयाँ नयाँ कुरा खोज्दै अगाडि बढाउन चाहने कविहरू हुन्छन् । यी तीनै खालका कविहरू मिलेर समकालीनताको चित्र तयार भएको हुन्छ ।
यहाँ खासमा समकालीन कविताको मार्गचित्र भनेपछि अब हामीले हाम्रो बाटो कतातिर छ, लेख्ने शिल्पहरू कस्ता छन्, प्रस्तुतिका शिल्पहरू कस्ता छन्, चिन्तनहरू कस्ता छन्, कुन चिन्तनले हामीलाई बाटो देखाइदिएको छ ? अथवा हामी कतातिर जानुपर्छ भन्ने कुरालाई हामीले मार्गचित्रसँग सहमत हुनुपर्छ ।
किनभने कविताका विषयवस्तु धेरै छन् । कोही मान्छेको सोच सबै कुरा लेखिसकेको छ, नयाँ ढङ्गले लेख्न सकिन्छ, शिल्प मात्रै नयाँ हो भन्ने पनि हुन्छ । त्यसो भन्यो भने त भाषामा सबै कुरा लेखिसकिएको छ, भाषामा भएका कुराहरू नै हामी राख्छौँ । हामीले लेख्ने खालको शब्द नै छैन भन्ने सोच पनि ठीक छैन ।
हामीले गर्ने भनेको हाम्रो अनुभूतिलाई प्रकट गर्ने हो र सकेसम्म त्यसलाई अभिव्यञ्जित गर्ने हो । कविताको शक्ति भनेको उसको चिन्तनको शक्ति हो । भाषामा चिन्तनलाई कति शक्तिशाली ढङ्गले प्रस्तुत गर्न सकिन्छ, कति खाँदेर भन्न सकिन्छ र कत्तिको श्रोता र पाठकको मनमा भित्र पस्न सकिने गरी भन्न सकिन्छ, त्यो नै महत्वपूर्ण कुरा हो । विषयवस्तु चाहिँ एकातिर, शिल्प अर्कोतिर भएर छुट्टा छुट्टै तरिकाले त्यसलाई प्रस्तुत गर्ने भन्ने कुरा हुँदैन ।
यी विभिन्न खालका चिन्तन धारा, शिल्प, प्रस्तुतिका माध्यमहरू मिलेर समकालीनता बनेको छ । यसमा मूल रूपमा अग्रगमन, विभेद, विविध मुद्दाका कुरा समेटिएका छन् । यसलाई समेट्दै मानवीय सभ्यताका अवधारणा, जति पनि हाम्रा प्राप्तिहरू छन्, ती सबैलाई समेटेर हामी कसरी अझ बढी सफल मानव बन्न सक्छौँ, हाम्रो समाजलाई न्यायपूर्ण बनाउन सक्छौँ, अझ उन्नत ठाउँमा कसरी पुग्न सक्छौँ, त्यस्तो संसार बनाउन सक्छौँ भन्ने तरिकाले हामी हिँडेका छौँ । यसका निम्ति कविताको महत्त्वपूर्ण भूमिका छ । यसले हाम्रो मार्गचित्र पनि प्रस्ट हुन्छ ।
समकालीन कवितामा नेपाली चेत
समकालीन नेपाली कविताका परिदृश्य हेर्यौँ भने, पृथ्वीनाराण शाहकालीन सुवानन्दा दासदेखिका कविता पढ्यौँ भने कविताहरू राजनीतिबाट अत्यधिक प्रेरित छन् । हाम्रो सामाजिक जीवन, सत्ताले बनाइदिएको विचारधारा, जति पनि समाजमा घुलमिल हुने कुरा छन्, त्यसैबाट बनेको एउटा भाषा प्रयोग गरेर नेपाली कविहरूले कविता लेखेका हुन् । कविता लेख्दा राजनीतिक मुद्दाहरूलाई दमन गरिएका पक्षहरू स्वतस्फूर्त रूपले अगाडि आउँछन् । कसैले त्यसलाई प्रत्यक्ष रूपले प्रकट गरेका हुन्छन् । कसैले चाहिँ प्रकट गरिसकेका कुराहरू दबेर बसेका हुन्छन् । कति कविताहरू कविता हो कि होइन भनेर हामीले सुन्न र पहिचान गर्न पाएकै छैनौँ । को–को मान्छेले कविता लेखेका छन् भनेर हामीले थाहै पाउन सकेका छैनौँ र तिनीहरू बाहिर आउन सकेकै छैनन् । त्यसको पछाडि पनि अनेक खालका राजनीतिहरू छन् । समूहहरूका राजनीति पनि छन्, लेखनका राजनीति पनि छन्, शिल्पका र प्रस्तुतिका राजनीति पनि छन् ।
कसले कुन प्रतिभालाई प्रमोट गरेका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कतिपय प्रकाशकहरू क्षमतावान् हुन्छन्, उनीहरूले लेखकका कमजोर कृतिहरूलाई पनि महत्त्वपूर्ण रूपले विभिन्न माध्यमहरूमा, अन्तर्राष्ट्रिय मञ्चहरूमा पठाएर कवि, लेखक भनेको यही मात्र हो भन्ने किसिमले ब्रान्डिङ गर्दिन्छ । त्यसपछि उसैका कृतिहरू खोजी खोजी प्रकाशित गरेर आफैले उसलाई केही मिडियाहरूसँग मिलेर हाइलाइट गर्ने, उसैलाई मात्र लेखकका रूपमा स्थापित गर्न खोज्ने राजनीति अहिले अलि बढी हाबी भएको छ । प्रजातन्त्रले पनि त्यसलाई वस्तुका बजारमा आउने गरेको छ । त्यसरी ब्रान्डिङ गरेपछि साहित्य उनीहरूले मात्र सिर्जना गर्छन्, उनीहरूको मात्र विकाउ हुन्छ भन्ने सोच बनेको हुन्छ । यस्तो तरिकाले ब्रान्डिङ गर्ने कार्य कवितामा पनि भएको छ ।
यही कारण सही कविहरू बाहिर आउन सकेका छैनन् । जो मान्छे आएका छन्, उनीहरूको पनि पूरै क्षमता प्रस्तुत हुन नसकेको हो । कहिलेकाहीँ प्रकाशकहरूको, बजार तथा मिडियाको इन्टे«स्ट अनुसार उनीहरूलाई पनि डाइभर्ट गरिएको हुन्छ । उसको एउटामा बढी क्षमता छ तर अर्कोतिर लगाएर लेख्न लगाइन्छ । कवितामा राम्रो गरिरहेको मान्छेलाई पनि लोभ देखाएर उपन्यासतिर लगिन्छ । ऊ उपन्यासमा खासै सफल त हुँदैन तर यो यस्तो कवि हो भनेर त्यो उपन्यासलाई उसले मार्केटिङ गर्न खोजिरहेको देख्छौँ । यसबाट कतिपय कविहरू असफल पनि भएको हामीले देखेका छौँ । तर त्यो चिज स्वीकार गर्न धेरै गाह्रो छ । कविहरूलाई पनि स्वीकार गर्न गाह्रो छ । किनभने कविहरूमा अहिले एक किसिमको अहम् पनि छ । हामी त संसारको सिर्जना गर्ने हो । हामी त स्वयम्भू हौँ भने जस्तो पनि हुन्छ कतिपयलाई । यसले गर्दा उनीहरूले स्वीकार गर्न सकिरहेका पनि हुँदैनन् । त्यो खालको स्थिति हामीले देखेका छौँ ।
मुद्दामा केन्द्रित भएर कविता लेखेको चिज कुनै बेलामा त्यो मुद्दा अगाडि आउँछ, कुनै समय त्यो मुद्दा थिचिएर बसेको हुन्छ । नदेखिने भन्ने हुँदैन । जसलाई जे आवश्यकता छ, उसले त्यो लेख्छ लेख्छ नै । भानुभक्तकालीन समयमा पनि ज्ञान दिलदास जस्ता मानिसहरूले जातीयताको विरुद्धमा महिलामाथि भएका हिंसाका विरुद्धमा लेखेका थिए त । तर हाम्रो सत्ताले चाहिँ त्यसलाई थिचेर राखेको थियो । अनि कवि भनेको भानुभक्त आचार्य मात्रै हो अथवा त्यस्तो खालको कविता लेख्ने मात्रै हो भन्ने किसिमले अगाडि ल्याइएको थियो । त्यतिबेला लोककविहरू कति थिए भन्ने हामी अनुमान गर्न सक्छौँ । जुनबेलामा बेलायतमा अथवा युरोपमा क्रिस्चियन धर्मको दबदबा थियो मध्यकालमा, त्यो बेलामा अत्यधिक लोकसाहित्यको विकास भयो । किन लोकसाहित्यको विकास भयो भने सत्ताले जनमानसको त्यो चेतनालाई मात्र प्राथमिकता दिन्थ्यो । धार्मिक दृष्टिले लेखेको कुरालाई मात्र प्राथमिकता दिन्थ्यो । जनताको जीवनलाई अभिव्यक्त हुन नदिने, उनीहरूको चाहना र अभावहरूलाई व्यक्त हुन नदिने । त्यसैले गर्दा अगाडितिर जानुपर्ने शक्ति पछाडितिर फर्कियो र आठौँ नवौँ शताब्दीदेखि १५ शताब्दीसम्म लोकसाहित्यको अत्यधिक विकास भयो । त्यतिबेला धेरै लोकमहाकाव्यहरू रचिएका छन् ।
यी महाकाव्य किन अगाडि आएनन् भने जसले क्रिश्चियन धर्मको अवलम्बन गरे र त्यसलाई मूल रूपमा देखायो । त्यसले गर्दाखेरी त्यस्ता कविहरू चाहिँ अगाडि आउने तर लोककविहरू; जसले जीवनको धार देखाउँछन् उनीहरूले चाहिँ अगाडि आउन नसक्ने अवस्था थियो ।
हाम्रोमा पनि पहिलेदेखि नै मुद्दाका कविताहरू लेखिएका हुन् । भाषामाथि दमन गरिएका कुराहरू लेखिएका हुन् । स्वतन्त्रतामाथि दमन गरिएका कुराहरू लेखिएका हुन् । दैनिक हिंसाका कुरा लेखिएका कुरा हुन् । तर सत्ताले त्यसलाई अगाडि आउन नदिएको हो । त्यसलाई छायाँमा पारेको हो । कानुनी रूपले पनि त्यसलाई छायाँमा पारिएको छ, कति चाहिँ हाम्रै घरकै सत्ताले पनि बाहिर निस्कन दिँदैन । अहिलेसम्म लेखिएका जति पनि कविताहरू छन्, ती कविताहरूमा मुद्दाहरू पनि छन् र त्यो कुनै बेला आउँछन् । जस्तो २०४६ सालपछि मुद्दाहरू अलि बहारका रूपमा आयो । किनभने स्वतन्त्रता प्राप्त भयो । त्यो भन्नको लागि त्यसमा पनि माओवादीले जनयुद्ध गरिसकेपछि २०५२ पछि झन् ऊर्जाशील रूपमा आयो । ६० को दशकपछि त्यसले फल्ने फुल्ने राम्रो अवसर पनि पायो । सङ्क्रमण काल भनेको पनि यही हो । यही सङ्क्रमण कालको साहित्यलाई हामी समकालीन साहित्य भनिरहेका छौँ ।
तीन थरी लेखकहरू जुनबेलामा पनि सक्रिय हुन्छन् । यी तीन पिढीका सर्जक हुन्छन् । यसमा हामी एउटै उमेर समूहका हौँ भनेर हुँदैन अथवा उमेरले यो अलि परिपक्व भइसकेको छ वा भर्खरको छ भनेर हुँदैन । जुन उमेरको भए पनि एउटै समयमा लेखिरहेको छ भने युवा लेखकले पनि कवितामा एकदमै पुरानो ढाँचाको विचारलाई अवलम्बन गरिरहेको हुन सक्छ । उमेर पुगिसकेको मान्छेले पनि नयाँ अवधारणालाई लिइसकेको हुन्छ । त्यो हाम्रो विश्वदृष्टिकोणमा आधारित हुने हो । हाम्रो चिन्तन धारामा, हाम्रो विचारधारामा केन्द्रीत भएर हामीले लेख्ने हो । यसमा कवितामा मूल रूपमा विचारलाई नै अभिव्यक्ति गर्ने हो । त्यसैले कविताको सिर्जनालाई ‘मेडिटेसन’सँग तुलना गरेको कारण त्यो हो ।
हामीले बाहिर देखेको चिज, हामीले बाहिर भोगेको चिज र जति पनि सामाजिक चिन्तनहरू छन्, विचारधारा, लोक प्रचलन छन्, सबै चिजलाई हामीले बचाएर त्यसलाई प्रकट गर्ने हो । हामीले जुन चिन्तन बाहिर दिइरहेको छौँ, यो चिन्तनमा अन्तरमिश्रण र अन्तरसङ्घर्ष पनि भइरहेको छ । यो कुनै बेला देखिन्छ, कुनै बेला देखिँदैन । समुद्रमा सुनामी आएको बेला मात्र छाल देखिने होइन, अरूबेला पनि देखिन्छ । त्यसमा तल र माथि दुई धार देखिन्छन् । तलको धार अर्कै दिशामा बगिरहेको पनि हुन सक्छ । माथिको धार चाहिँ अर्कै दिशामा देखिएको हुन सक्छ ।
नेपाली कविताको विश्व चेतना प्रभाव
हाम्रो विचार पनि विश्व चेतना हो । हामीले जे कुरा लेखिरहेका छौँ, यस्तो कुराले धेरै मान्छेहरूले लेखिरहेका हुन्छन्, त्यही कुरा विश्व चेतना हो । अङ्ग्रेजी, हिन्दी लेखकहरूले लेख्ने अनि नेपाली लेखकहरूले पछ्याउने भन्ने जुन सोच छ, त्यो एकदमै गलत हो । यो कोशी नदी गङ्गामा मिसिए जस्तो होइन । हामीले समग्र रूपमा जुन चेतना प्रकट गरिरहेका छौँ, जुन आस्था प्रकट गरिरहेका छौँ, जुन शिल्प प्रकट गरिरहेका छौँ, प्रस्तुति हामीले गरिरहेका छौँ, त्यो हाम्रो समग्र विश्व चेतना हो । यसका ठेली शक्ति भएका राष्ट्रहरू निकाल्लान्, भाषिक, आर्थिक अथवा राजनीतिक शक्ति भएको अर्को लेखक तथा देशहरूले त्यस्ता भाषाका मान्छेहरूले निकाल्लान् । त्यसैलाई हामीले सर्वसचेत मान्नु हुँदैन । अफ्रिकामा लेख्ने मान्छेहरूले जुन चेतना प्रकट गरिरहेका छन् त्यो पनि विश्व चेतना हो । कुनै कुनै बेला चिन्वा आजिबे जस्ता मान्छेहरू बाहिर देखिए तर त्यहाँभित्र त्यस्ता मान्छे धेरै छन् । सेक्सपियरहरू हलो जोत्दा हुन्, त्यसै देवकोटाले भनेका होइनन् ।
प्रदर्शित भएकालाई चाहिँ हामीले महत्त्व दिएका हुन्छौँ, ओझेलमा परेकालाई महत्त्व दिएका हुँदैनौँ । त्यसैले हरेक समय सङ्क्रमणशील हुन्छ । यसले कुनै बेला हामीलाई अगाडि बढाउँछ र कुनै कुनै बेला पछाडि पनि फर्काउँछ । पछाडि फर्काएको चिजलाई हामीले स्वीकार गर्यौँ र त्यसैलाई महत्त्वपूर्ण हो भनेर प्रकट गर्यो भने हाम्रो समाज, हाम्रो सभ्यता केही समयका लागि अवरुद्ध हुन पनि सक्छ । त्यसपछि फेरि अगाडि जान्छ । त्यसैले हाम्रा कविता सङ्क्रमणशील छन्, सङ्क्रमणशील रहिरहन्छन् । भाषा साहित्य जतिबेलासम्म जीवित हुन्छ, त्यतिबेलासम्म हाम्रो चिन्तन जीवित हुन्छ, हामी जीवित हुन्छौँ । हाम्रो साहित्य सङ्क्रमणशील हुन्छ ।
हेटौंडा साहित्यिक महोत्सवमा एटमले प्रस्तुत गरेको विचारको सम्पादित अंश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या