‘हामीलाई कसैको भर्याङ चढेरै जानुपर्ने आवश्यकता छैन’
नेकपा एमालेसँग विद्रोह गरेर बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष हुन् प्रमेश हमाल । एमाले दक्षिणपन्थी भासमा भासिएकैलै कम्युनिस्ट विचार, सिद्धान्त र आचरणयुक्त पार्टी बनाउने अठोट यो पार्टीका नेताहरूले गर्दै आएका छन् ।
हमाल अहिले जनवादी क्रान्ति सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यदिशा लिएर अघि बढिरहेको बताउँछन् । अहिलेको अन्तर्विरोध भनेको दलाल नोकरशाही पुँजीवादविरुद्धको संघर्ष भएको उनको भनाइ छ ।
यस्तोमा मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएको यो पार्टीका आगामी कार्यनीति र कार्यदिशा के के हुन् ? आगामी निर्वाचनमा ती एजेण्डा जनतामाझ कसरी स्थापित हुँदैछन् ? गठबन्धनबिनै चुनाव लड्दा यो पार्टीले कति सिट जित्छ र एमसीसी स्वीकार्नुपर्ने अवस्था कसरी आयो ? प्रस्तुत छ उपाध्यक्ष हमालसँग यिनै विषयमा गरिएको कुराकानी :
नेपाली राजनीतिमा नेकपा एकीकृत समाजवादी वैचारिक रूपले कस्तो पार्टी हो ?
हामीले मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेका छौँ । नेपाली क्रान्तिको बारेमा पनि हाम्रो स्पष्ट धारणा छ । समाजवादी कार्यदिशा बोकेर जानुपर्छ भन्नेमा पनि हामी स्पष्ट नै छौ । साथसाथै हाम्रो कार्यभारका सवालमा हाम्रो अहिलेको काम के हो ? सांगठनिक, वैचारिक काम के हो ? प्रचारात्मक काम के हो ? जनताका मागहरू सम्बोधन गर्न हामीले के कस्ता गतिविधिहरू गर्नुपर्छ ? जनतासँग कसरी एकाकार हुनुपर्छ ? जनआधारित राजनीतिलाई कसरी विकास गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । मार्क्सवादी दृष्टिकोणबाट एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी कसरी उभिनुपर्ने हो त्यसरी नै हामी उभिएका छौँ । र, शान्तिपूर्ण तरिकाले नै देशका समस्याहरू समाधान गर्न सकिन्छ र राजनीतिमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ ।
अहिले यो गठबन्धन खासगरी दक्षिणपन्थी शक्तिको विरुद्धमा भएको मोर्चाबन्दी हो । अहिले संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने मान्यताका आधारमा गठबन्धनका शक्तिहरू एक ठाउँमा रहनुपर्छ भन्ने हो । यसै विषयलाई स्थानीय निर्वाचनसम्म पनि यो कुराहरू हेरिरहेका छौँ ।
राजनीतिक वैचारिक विषयमा प्रस्ट पार्दै गर्दा तपाईंहरूले अघि सारेको राजनीतिक कार्यदिशाका बारेमा पनि बताइदिनुस् न ।
कार्यदिशा भनेको काम गर्ने दिशा हो । हामीले हाम्रो कार्यदिशालाई समाजवाद उन्मुख कार्यदिशा भनेका छौँ । हाम्रो लक्ष्य पनि समाजवाद नै हो । यसले गर्दा हाम्रो कार्यदिशामा कुनै अस्पष्टता छैन । तर नेपालको सन्दर्भमा कस्तो किसिमको समाजवाद ? भन्ने कुरामा फरक फरक ढङ्गले छलफल र बहस पनि भइरहेको छ । र यसमा आआफ्ना फरक दृष्टिकोणहरू पनि छन् । हामीले मार्क्सवादलाई रचनात्मक रूपमा नेपालको वस्तुस्थितिमा प्रयोग गर्दा व्यवहारिक ढङ्गबाट समाजवादको प्रक्रियाबाट अघि बढाउनुपर्ने हुन्छ । सामाजिक आर्थिक रूपान्तरणको गतिविधिलाई अघि लैजानुपर्ने हुन्छ भनेर हामीले काम गरिरहेका छौँ । नेपालको संविधानले पनि निर्देशक सिद्धान्तमा स्पष्ट भनेको छ कि हामी आत्मनिर्भर, स्वतन्त्र र उन्नतशील अवस्थाबाट आर्थिक स्थितिलाई अघि बढाएर समाजवादको कार्यदिशामा अघि बढ्छौ, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्छौँ ।
हाम्रो भर्खर सकिएको केन्द्रीय कमिटीको तेस्रो बैठकले संविधानले उल्लेख गरेको यस कुरालाई पूर्णरुपले परिपालन गर्ने प्रतिबद्धता जनाएको छ । र नेपाल सरकारले पनि तदनुरूप नीति र कार्यक्रम तर्जुमा गर्नुपर्छ भनेर माग गरेको छ । हामी पनि यो निर्माणको प्रक्रियामा छौँ । अहिलेको यो स्थानीय निर्वाचन हुन गइरहेको छ त्यसमा हामी सरिक हुँदा खेरी जनतामा जाँदा राजनीतिक, वैचारिक कुरा त छँदैछ त्यसबाहेक स्थानीय तहलाई कसरी समाजवाद उन्मुख गतिविधिमा लैजाने, जनकेन्द्रीत कसरी बनाउने ? कसरी मानवकेन्द्रीत विकासका कुरालाई अघि बढाउने ? कसरी समतामूलक समाजको विकास गर्ने ? आर्थिक विकास पनि कसरी समतामूलक कसरी बनाउन सकिन्छ भन्ने कुरामा हामी विशेष ध्यान दिन्छौँ । यसका निमित्त हामी हाम्रो घोषणापत्र पनि तयार गर्दैछौँ । त्यसपछि केही दिनमा यसबारेमा हाम्रा नेता कार्यकर्ता, पत्रकार र जनताले पनि थाहा पाउनुहुनेछ ।
नेकपा एकीकृत समाजवादीको जन्म नै गठबन्धनबाट भएको कुरा सत्य हो । अब हुने निर्वाचनमार्फत तपाईंहरूको वास्तविक धरातल प्रस्ट होला । यस्तो अवस्थामा हुने निर्वाचनमा गठबन्धनकै सहारा लिने कि एक्लै जाने साहस पनि छ ?
हामीले बेला बेलामा भनिरहेका छौ । अहिले यो गठबन्धन खासगरी दक्षिणपन्थी शक्तिको विरुद्धमा भएको मोर्चाबन्दी हो । अहिले संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने मान्यताका आधारमा गठबन्धनका शक्तिहरू एक ठाउँमा रहनुपर्छ भन्ने हो । यसै विषयलाई स्थानीय निर्वाचनसम्म पनि यो कुराहरू हेरिरहेका छौँ । त्यति मात्रै होइन आगामी दिनमा हुने संघीय र प्रदेश निर्वाचनसम्म पनि यो गठबन्धन अघि बढाउनुपर्छ र सरकारलाई पनि तदनुरूप परिचालित गर्नुपर्छ भनेका छौँ ।
तर गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेसका कतिपय नेताहरूले काँग्रेस एक्लै निर्वाचन लड्छ भनिरहेका छन् । यस्तो अवस्थामा नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचन लड्ने ल्याकत राख्छ ?
हामी अहिले गठबन्धनमा छौँ । यो गठबन्धन बन्नुको पनि खास उद्देश्य छ । अघि मैले भनिसकेँ, आगामी निर्वाचनहरूमा पनि सँगसँगै जाने र सरकार सञ्चालन गर्न हामी प्रतिबद्धता जाहेर गरिरहेका छौँ । जहाँसम्म निर्वाचनको कुरा छ । निर्वाचनमा आआफ्ना ट्याक्टिकलका कुरा पनि हुन्छन् । आफ्नो पार्टीको श्रेष्ठता हासिल गर्ने चाहना पनि हुन्छन् । त्यसकारण यसबारे हामीले गहिरो अध्ययन पनि गरिरहेका छौँ । सकेसम्म गठबन्धनमा रहेको नेपाली काँग्रेसका साथै अरू वामपन्थी पार्टीहरूसँग निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा छलफलमै छौँ । अहिलेसम्मको अवस्थामा हामी कुनै न कुनै किसिमको गठबन्धनमा जान्छौ । त्यो नेपाली काँग्रेससँग पनि हुन्छ, वामपन्थी शक्तिहरूको बीचमा पनि हुन्छ, कुनै कुनै ठाउँमा गठबन्धनका सबै शक्तिहरूका बीचमा तालमेल पनि हुनसक्छ भने कतिपय अवस्थामा गठबन्धनका सबै शक्तिसँग एकनासको तालमेल नभएर खासखास पार्टीहरूसँग पनि हामीले मिलेर काम गर्नुपर्ने हुन्छ । तर म विश्वस्त छु गठबन्धन निर्वाचनसम्म एकाकार भएर जान्छ ।
हामीलाई कसैको भर्याङ चढेर अगाडि जानुपर्ने छैन । हामीले विद्रोह र पुनर्गठनको माध्यमबाट स्पष्ट वैचारिक अडानका साथ पार्टीलाई अगाडि बढाएका छौँ । हामी विचार केन्द्रित पार्टी निर्माण गर्न चाहन्छौँ । यो निर्वाचन हाम्रो तत्कालको कार्यनीतिको अंग भएकाले निर्वाचनसँग बढी केन्द्रित भएर गएका हौँ ।
यदि काँग्रेसले यो गठबन्धन कायमै राखेर चुनावमा जान चाहेन भने काँग्रेसबाहेकको गठबन्धन पनि बन्न सक्छ भन्ने तपाईंको भनाइ हो ? त्यो सम्भावना कति देख्नुहुन्छ ?
हामीले अहिले त्यो बारेमा सोचिसकेका छैनौ । हामीले गठबन्धनमा रहेका सबै शक्तिहरू मिलेर जानुपर्छ भनिरहेका छौँ । छलफल जारी नै छ । गठबन्धनमा कसरी हामीले काम गर्नुपर्छ भन्नेबारेमा जब सबै पार्टी या गठबन्धनका सहयात्रीहरूको के कस्तो प्रस्ताव आउँछ त्यसपछि मात्र हामी निर्क्योलमा पुग्छौँ ।
यदि नेकपा एकीकृत समाजवादी देशभर एक्लै निर्वाचन लड्नुपर्ने अवस्था आयो भने ७५३ स्थानीय तहमध्ये कतिमा जित्ने आङ्कलन गर्नुभएको छ ?
हामी एक्लै निर्वाचन लड्नुपर्दा पनि ७५३ वटै पालिका र वडाहरूमा आफ्नो शक्ति विन्यास गर्छौँ । तर अहिले नै त्यो अनुरूप सोच्नुपर्ने स्थिति बनिसकेको छैन । अहिले गठबन्धनको दायरामै रहेर सोच्नुपर्ने स्थितिमा म मेरो पार्टीको छुट्टै अस्तित्वको बारेमा धेरै चर्चा गर्न चाहन्न त्यो उपयुक्त पनि हुँदैन । तथापि हामी क्रमिक रूपबाट सबै पालिका र वडाहरूमा हाम्रो शक्ति विन्यास गरिरहेका छौँ । हिजो मात्रै हामीले केन्द्रीय कमिटीका सदस्यबाट पनि डिटेल तथ्यहरू लिएका छौँ । जुन विषय स्थायी वा सचिवालयमा अझ बढी प्रोसेसिङ पनि गर्छौ । त्यसपछिमात्रै हामी तय गर्छौ कि कुन कुन ठाउँमा हाम्रो स्थिति अगाडी छ, कुन कुन ठाउँमा अरू पार्टीहरू अगाडि छन् ? गठबन्धनको संयुक्त स्थिति कस्तो छ ? यी सबै कुराको मूल्याङ्कन गर्छौ ।
निर्वाचन आउन ६० दिन पनि बाँकी छैन, यस्तो अवस्थामा समेत यति नै स्थानीय तहमा हामी जित्छौँ भन्ने आङ्कलन नै गर्न नसकेको अवस्थामा त तपाईंहरू पुरै अर्काको भरमा वा भर्याङ चढ्न लागेको जस्तो देखिन्छ नि ?
हामीलाई कसैको भर्याङ चढेर अगाडि जानुपर्ने छैन । हामीले विद्रोह र पुनर्गठनको माध्यमबाट स्पष्ट वैचारिक अडानका साथ पार्टीलाई अगाडि बढाएका छौँ । हामी विचार केन्द्रित पार्टी निर्माण गर्न चाहन्छौँ । यो निर्वाचन हाम्रो तत्कालको कार्यनीतिको अंग भएकाले निर्वाचनसँग बढी केन्द्रित भएर गएका हौँ । त्यसकारण निर्वाचनमा कतिवटा सिट आउँछ,कति सिटले हाम्रो पार्टीलाई सक्षम बनाउँछ भन्दा पनि वैचारिक रूपले कति स्पष्ट छौँ भन्नेमा लाग्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु । तथापि म के भन्छु भने हाम्रो उपस्थिति अहिले निर्वाचनमा अत्यन्त सशक्त हुनेछ । अहिले नै हाम्रा स्ट्राटेजी र ट्याक्टिसहरु तपाईंहरूलाई भन्दियो भने प्रतिस्पर्धी शक्तिहरूलाई खुराक दिएजस्तोमात्रै हुन्छ ।
अहिलेको अवस्थामा नेकपा समाजवादीको प्रतिस्पर्धी शक्ति को हो त, त्यो त छुट्याएको होला नि ?
त्यो कुरा त स्पष्ट नै छ । हामी जुन पार्टीसँग विद्रोह गरेर आयौँ, दक्षिणपन्थी गठबन्धनको विरुद्धमा वामपन्थी लोकतान्त्रिक गठबन्धन बनाइरहेका छौँ । यस्तो अवस्थामा को सँग प्रतिस्पर्धा हुन्छ भन्ने त स्पष्ट नै छ ।
भनेपछि नेकपा एमालेलाई तपाईंहरूले प्रतिस्पर्धीका रूपमा लिनुभएको छ ?
नेकपा एमाले र उसले गर्ने दक्षिणपन्थी गठबन्धनसँग हाम्रो प्रतिस्पर्धा हुने कुरा सत्य हो ।
काँग्रेसलाई पुँजीवादी पार्टी भनेर चिनिन्छ, जुन पार्टीसँग तपाईंहरूको गठबन्धन छ । त्यो गठबन्धन काँग्रेसलाई भन्दा पनि तपाईंहरूलाई बढी आवश्यक देखिन्छ । यस्तो अवस्थामा समाजवाद र पुँजीवादबीचको तालमेल कसरी मिलाउनुहुन्छ ?
हामी अहिले जनवादी क्रान्ति सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यदिशा लिएर अघि बढिरहेका छौँ । यसका केही कुराहरूलाई हामीले गम्भिरतापूर्वक मनन गर्नुपर्ने हुन्छ । अहिलेको हाम्रो अन्तर्विरोध भनेको दलाल नोकरशाही पुँजीवादविरुद्धको संघर्ष हो । र, नेपाली समाजमा केही सामन्तवादी अवशेष पनि छन् उनीहरूका विरुद्ध पनि हाम्रो संघर्ष निरन्तर अघि बढाउनुपर्ने हुन्छ । त्यसकारण हामीले लोकतन्त्रको रक्षाका निमित्त, संविधानको रक्षाका निमित्त,संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निमित्त लिबरल डेमोक्रयाट्सहरु र लिबरल पुँजीपतिहरुसँग पनि मिलेर नै जानुपर्ने हुन्छ । यही वास्तविकता बुझेर, यही यथार्थ चिनेर दक्षिणपन्थी गठबन्धनको विरुद्धमा लोकतान्त्रिक र वामपन्थीहरूको गठबन्धन बनाएका हौ ।
अझै पनि तपाईंहरू संविधानमाथि, लोकतान्त्रिक गणतन्त्रमाथि खतरा देखिरहनुभएको छ ? कसरी र कस्तो खतरा छ ?
यथार्थको धरातलमा रहेर यसलाई विश्लेषण गर्नुपर्छ । जस्तो अहिले विगतका केही ऐतिहासिक घटनाक्रमहरुलाई हामी हेरौँ । नेकपाको सरकार हुँदा करिबकरिब दुई तिहाइको सरकार बनेको थियो । तर त्यो सरकार सञ्चालनका क्रममा अत्यन्त ठुलो त्रुटि देखियो । सर्वसत्तावाद हावी भयो, पार्टीभित्र पनि र सरकारमा पनि । त्यो सर्वसत्तावादको चेतनाले शक्तिकेन्द्रीत गर्न संसद्को विघटन गरियो । त्यो पनि दुई दुई पटक । त्यसपछि राज्यका विभिन्न अङ्गहरूसँग साँठगाँठ गरेर शक्ति एकीकृत गर्ने प्रयत्नहरू गरियो । यो कुरा त सबैले बुझेको छ । त्यति मात्रै होइन हिन्दुत्व स्वीकार गर्न सक्ने एउटा कम्युनिस्ट पार्टीको वैचारिक आधार होइन त्यसलाई समेत अनुसरण गर्न खोजियो । यी सबै कुराहरूको विश्लेषणका आधारमा, दक्षिणपन्थी सोच र विचारमा सङ्गठित हुन खोजिरहेका शक्तिका विरुद्धमा हाम्रो शक्ति निर्माण गर्नुपरेको हो ।
दक्षिणपन्थकै कुरा गर्दा पश्चिमा शक्ति पनि जोडिन्छ । नेपालमा एमसीसीको बहस धेरै भयो र अन्ततः व्याख्यात्मक घोषणासहित अनुमोदन पनि भैसकेको छ । सुरुमा तपाईंको पार्टी पनि एमसीसीको विपक्षमा थियो र अन्तिमसम्म पनि त्यो कायमै थियो, तर अन्तिममा सहजै एमसीसी स्वीकार्न पुग्नुभयो, के कारण हो त्यस्तो ?
हाम्रो पार्टीले एमसीसी सम्झौताका कतिपय दफाहरू हाम्रा लागि अमान्य हुने भएकाले प्रश्न उठाएको सत्य हो । नेपालको राष्ट्रियता,संविधान, असंलग्न परराष्ट्र नीतिमा आँच आउने खालका बुँदाहरू जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने हाम्रो मान्यता रहेको हो । त्यसलाई चर्को विरोध भन्नुभन्दा पनि यथार्थ विरोध भन्दा हुन्छ । त्यसपछि हामीले यसबारेमा धेरै सोच्यौँ । धेरै सोचेर धेरै कुराहरू भइसकेपछि अन्तर्राष्ट्रिय हिसाबमा भएको एउटा सम्झौता हो । एमसीसी भनेपनि त्यो अमेरिकी सरकार अन्तर्गतकै संस्था हो । त्यसमा हामीले जुन विचारहरू राखेका छौँ, त्यहाँभित्र जुन असमान खालका बुँदालाई कसरी संशोधन र परिमार्जन गर्न सकिन्छ भनेर सुरुबाटै सोचेका पनि हौ । कतिपय अवस्थामा यसको विपक्षमा उभिने बाटा पनि खोजेकै हौ । तर यी सबै कुराको बाबजुद पनि अन्त्यमा एउटा निष्कर्षमा पुग्यौँ । त्यो निष्कर्ष के हो भने हामीले यदि व्याख्यात्मक प्रावधानबाट जान सक्ने हो भने गठबन्धनका सहयात्री शक्ति सहमत हुने हो भने हामीले अन्तर्राष्ट्रिय कानुनी मान्यतासहित अघि बढ्न सकिन्छ भन्ने विचारहरू आए । त्यसमा पनि छलफल गर्यौँ, त्यही उपयुक्त हो भन्ने निष्कर्षमा पुग्यौ र त्यही निष्कर्षका आधारमा व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने प्रक्रियामा अघि बढेका हौ ।
कतिपयले अझै पनि भनिरहेका छन्, व्याख्यात्मक घोषणा लाज छोप्ने टालो हो । यदि अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकारेन र एमसीसीको अंग भएन भने त्यो अवस्थामा एमसीसी के हुन्छ ?
नेपालको सार्वभौम संसद्ले निर्णय गरेको कुरालाई लाज ढाक्ने टालो भनेर व्याख्या गर्नु नेपालको संसदीय सर्वोच्चतालाई र नेपालको प्रतिनिधि सभालाई अवमूल्यन गर्नु मात्रै हो । त्यस्तो प्रतिबद्धताको आधारमा हामीले ठुलाठुला निर्णयहरू पनि गरेका छौ । राजतन्त्रको अन्त्य गरेका छौ । संविधानको घोषणा गरेका छौ । र बेलाबेलामा अत्यन्त महत्त्वपूर्ण सङ्कल्प प्रस्तावहरू पनि पास गरेका छौ । त्यसैले नेपालको प्रतिनिधि सभा सार्वभौम बडी हो । यसले गरेका निर्णयहरू, सङ्कल्पहरू,घोषणहरू नेपालको तर्फबाट नेपाली जनता मात्रै नभएर संसारभरका देशलाई आफ्नो स्ट्याटस क्लियर गरेको हुन्छ ।
तर सम्झौता त दुई देशबीच हुने कुरा हो । तपाईंहरूले एकपक्षीय रूपमा गरेको यो घोषणा अर्को पक्षले मान्नैपर्छ भन्ने हुन्छ र ? भनेर पनि प्रश्नहरू उठ्ने गरेका छन् नि ?
भन्दैछु । जब हामीले यो डिक्लियर गरिसकेपछि सम्झौताको अर्को पक्षले यसलाई अस्वीकार गरेको भए यो अस्वीकारको अवस्थामा अवस्य पुग्थ्यो । तर उसले पनि स्वीकारका कुराहरू जस्तो संसद्बाट पारित भएका कुरालाई स्वागत गरेको अवस्था छ । हिजो सम्पन्न हाम्रो पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले एउटा प्रस्ताव नै पारित गरेको छ । पारित प्रस्तावमा व्याख्यात्मक घोषणासहित पास गरिएको एमसीसी सम्झौता त्यसलाई दुवै पक्षले स्वीकार गर्ने विश्वास पनि लिएका छौ । त्यति मात्रै होइन यो दस्तावेजलाई कूटनीतिक माध्यमबाट अर्को पक्षलाई पठाउनका निमित्त र उसको पनि सहमति लिन नेपाल सरकारले आग्रह गर्नुपर्छ भनेर निर्णय गरेका छौँ ।
हाम्रा पार्टीका मन्त्रीहरूले जनअपेक्षा अनुरूप काम गर्न सक्नुभएन भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ । केही थोरै आलोचना हुनु स्वाभाविक हो । राम्रा काम पनि भएका छन्, तिनको प्रशंसा पनि नभएको होइन, भएको छ ।
तपाईंहरूको केन्द्रीय कमिटी बैठकले सरकारका कामकारबाही जनभावना अनुरूप नभएको, भ्रष्टाचार मौलाएको, महँगी बढेको भनेर प्रस्तावहरू पारित गरेछ । तपाईंहरू आफै सरकारमा हुनुहुन्छ । यो सरकारप्रति तपाईंहरू आफै सन्तुष्ट नरहेको भन्ने देखियो नि ?
हामी सरकारमा रह्यौँ भन्दैमा सरकारका हरेक कुरालाई आँखा चिम्लेर समर्थन गर्ने भन्ने होइन । सरकारले गरेका राम्रा कुराहरूको प्रशंसा गर्नुपर्छ । कमीकमजोरी भए भने गठबन्धनको इमानदार सहयात्रीको उसलाई सुझाव पनि दिने गर्नुपर्छ । त्यसकारण हामीले पास गरेका प्रस्तावहरू यो सरकारलाई अझ बढी सशक्त र प्रभावकारी अगाडि बढाउनलाई दिएको सुझाव हो । ती महत्त्वपूर्ण प्रस्तावहरूमध्ये नेपालको अर्थतन्त्रमा जुन सङ्कट देखा परेको छ त्यसलाई समाधान गर्न नेपाल सरकारले ठोस कार्ययोजना बनाओस् भन्ने छ । दोस्रो नेपालको संविधानले भनेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेको छ त्यसको बारेमा पनि ठोस कार्ययोजना लिएर आओस् भनेर माग गरेका छौ । जसरी पेट्रोलियम पदार्थ लगायतका वस्तुहरूमा मूल्यवृद्धि भएको छ त्यसको नियन्त्रण गरोस् भनेका छौ । अर्को महत्त्वपूर्ण कुरा राज्यका विभिन्न अंग वा तहहरूमा भएका भ्रष्टाचारहरूलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न शक्तिशाली भ्रष्टाचार छानबिन आयोग गठन गरियोस् भनेर माग गरेका छौ । यस्ता धेरै कुरा जो सरकारले गर्न सक्ने कुराहरू गरेर जनतालाई राहत दिने र आर्थिक उन्नतिमा सहयोग पुग्छ भन्ने हाम्रो भनाइ हो ।
तपाईंकै पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो पर्फमेन्स देखाउन सकेनन् भन्ने पार्टीभित्रै पनि बहस भएको छ । के कारणले पार्टीका मन्त्रीले काम गर्न नसकेका रहेछन्, यसबारे के निष्कर्ष निकाल्नुभयो ?
जनअपेक्षाहरू धेरै छन्, गर्नुपर्ने कामहरू पनि धेरै छन् । ती कामहरू मन्त्रीहरूले पुरा गरिदिउन् भन्ने चाहाना हुन्छ । दूर दराजका जनताहरू, हाम्रा पार्टीका नेता र कार्यकर्ताहरूले मन्त्रीहरूलाई नजिकबाट नियालेर हेरिरहनुभएको छ । हाम्रो पार्टीबाट चार जना मन्त्री र एक जना राज्यमन्त्री हुनुहुन्छ । हाम्रा पार्टीबाट मन्त्री भएका र गठबन्धनबाट मन्त्री भएका अन्यले पनि आफ्ना तर्फबाट योगदान पुर्‍याउनुपर्‍यो, सरकारका तर्फबाट जनतालाई दिनुपर्ने डेलिभरी र राष्ट्रिय विकासमा उहाँहरूको भूमिका हुनुपर्‍यो भन्ने कुरा छँदैछ । साथसाथै हाम्रो पार्टीका विषयमा विशेष किसिमको आग्रह छ । पार्टी बैठकमा पनि तिनै आग्रहहरू व्यक्त भएका हुन् ।
जनअपेक्षा अनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउने चर्चा पनि हुने गरेको थियो । त्यसबारेमा पार्टीभित्र कुनै निर्णय पनि भयो कि ?
हाम्रा पार्टीका मन्त्रीहरूले जनअपेक्षा अनुरूप काम गर्न सक्नुभएन भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ । केही थोरै आलोचना हुनु स्वाभाविक हो । राम्रा काम पनि भएका छन्, तिनको प्रशंसा पनि नभएको होइन, भएको छ ।
यो सरकार वा मन्त्रीहरूले यो चाहिँ राम्रो काम गर्यो है भनेर भन्ने त केही देखिएको छैन, भोलि जनतामा जाँदा के गर्यौ भनेर भन्नुहुन्छ त ?
जस्तो बिहीबार मात्रै हामीले केही रेजुलुसन पनि पास गरेका छौ । त्यो भनेको केही भ्रष्टाचार विरुद्धका कारबाहीहरू पनि गरिएका छन् । पर्यटन, सहरी विकास, स्वास्थ्य र वैदेशिक रोजगारीमा थोरै भए पनि राम्रा काम भएका छन् । जसले सकारात्मक तरङ्ग उत्पन्न गरेको पनि छ, त्यो हामीले भन्न डराउनु पर्ने छैन । त्यस्तै कामहरू हाम्रा सबै मन्त्रीहरूले गर्नुपर्छ । पछिल्लो मन्त्रिपरिषद्ले ज्येष्ठ नागरिकका निमित्त अस्पताल, गम्भीर प्रकृतिका रोगहरूको निःशुल्क जाँच गर्ने लगायतका निर्णय सरकारले गरेको छ यो सकारात्मक छ । यसरी सकारात्मक निर्णयहरूलाई पनि हेरौँ । सकारात्मकलाई सकारात्मक भनौँ र जहाँ जहाँ कमजोरी भएका छन्, कमीकमजोरीलाई विना मुलाहिजा कमजोरी भएको छ भनौँ । हाम्रो पार्टीको केन्द्रीय कमिटीमा मात्रै होइन अरू कमिटीमा जनताले पनि यो कुरा उठाएका छन्, उठाउनुपर्छ र जनहितका काम गर्नुपर्छ भनेर हाम्रा मन्त्रीहरूलाई प्रेरित गर्नुपर्छ भनेका छौँ ।
अन्त्यमा समाजवादी गठन हुँदै माओवादीसँग पार्टी एकता हुँदैछ भन्ने चर्चा भएको थियो । त्यो कति सत्यतामा आधारित चर्चा हो ?
देखिएकै कुरा हो अहिले हामी सहकार्य गरिरहेका छौँ । गठबन्धनमा छौँ । हामी अझै पनि कार्यगत एकताको प्रक्रियाबाट अगाडी बढ्छौ । कतिपय कार्यदिशा,विचार, मार्गदर्शक सिद्धान्त मिल्दै गएका पार्टीहरूसँग पार्टी एकता नहुने भन्ने कुरा हुँदैन । अहिले हामी गठबन्धन र कार्यगत एकताबाट अघि बढिरहेका छौ र निर्वाचन अगाडी आएको छ । निर्वाचनअघि नै पार्टी एकताको कुरा सघन रूपमा अघि बढ्छ जस्तो लाग्दैन । यद्यपि हाम्रो पार्टीमा धेरै समूहबाट क्रमिक रूपमा हरेक दिन प्रवेश गर्ने, पार्टीमा आउने क्रम चलिरहेको छ । तर तपाईंले भनेजस्तो तुरुन्तै पार्टी एकता गरेर जाने निर्णय गरेका छैनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी