कथा : गर्भवतीको जागिर यात्रा
झमझम पानी परेको त्यो दिन मलाई घरबाट अलिक छिटो गरी बाहिर निस्कनुपर्ने थियो । रोजगारीको लागि फोनबाट संवाद गरेकी थिएँ । मीठो स्वर अनि मेरो बायोडाटा सुनेर सम्पूर्ण योग्यताका कागजातसहित भेट गर्न बोलाइएको थियो । पानीलाई छाताले छल्दै घरबाट निस्कें । बस स्टपमा पुगेपछि भिजेको छातालाई सगेलेर ब्यागमा राख्दै थिएँ, पानी झन दर्किएर आयो । बस स्टपमा ओत लाग्नेहरुको भीड बाक्लिदै गयो । सबै अलि अलि भिजेका देखिन्थे । यत्तिकैमा बस हल्ला गर्दै आयो ।
गाडी रोक्नासाथ एक हुल मानिस तँछाड मछाड गर्दै गाडीतर्फ दौडिए । गाडीको सहचालक भीड मिलाउँदै भन्दै थिए, ‘पछाडि पुरै खाली छ, अलि सरेर मिलेर बस्नुस् त । आउनुस्, आउनुस् बहिनी, अर्को बस पनि यस्तै हो । यहाँ नजिकै झर्ने धेरै हुनुहुन्छ ।”
नभन्दै मानिसको हुल गाडी भित्र ईंटा मिलेझैं मिल्न थाल्यो । मेरो मनलाई पनि त हतार थियो । जागिर पाउनकै लागि त समयमा आउन नसक्नेले पछि कसरी समय मिलाउनुहुन्छ भनेर म माथि प्रश्न आउने हो कि ? भन्ने लागिरहेको थियो । त्यसैले पनि सहचालकको बोलावटलाई सहर्ष स्वीकार गर्दै खुर्रर दगुर्दै गाडीको दोश्रो खुड्किलोसम्म पुगें । कोही बाहिर भिजेका, कोही मन भिजाएका व्यक्तिहरुको त्यो हुलमा आफूलाई बचाएर राख्न निकै गाह्रो महशुस भइरहेको थियो । खचाखच भरिएको गाडीमा सायद प्यासेन्जर मिलाएर राख्न होला, चालकले बिच बिचमा अलिक बेसरी ब्रेक लगाउँथे । सोंच्छु भीडभाडलाई मिलाएर राख्न चालक, सहचालकले जति कसले पो जानेको होला ? हाम्रा नेताहरुले जनतालाई यस्तै मिलाएर राख्न सिके हुने नि । यिनीहरु आफू आफू पनि एक आपसमा मिलेर बस्न यिनैबाट सिके हुन्थ्यो ।
सबै राजनितीक दलले आफ्नो मात्रै पोल्टोको भाग हेर्दा देश विकास र हामी सर्वसाधारणका लागि सोच्ने फुर्सदै पाएनन् । हामी सधै यिनीहरुको रमिते बनिरहने हो कि ? अनि यिनको परिचय हामीले बनाईदिएको होईन र ? किन सक्दैनौं हामी यिनको परिचय कार्ड खोस्न ? यस्तै प्रश्न आफैले आफैलाई गर्दै थिएँ, मेरो झर्ने स्टेशन पो आएछ ।
बाहिर पानी परिसकेर पारिलो घामले घमाइलो बनाए पनि मेरो मन अघिको मुसलधारे पानीले दिन धुम्मिएजस्तै धुम्मिएको थियो । म आज पास हुन्छु या फेल ? मेरो सर्टिफिकेट बिक्छन् कि बिक्दैनन् ? मलाई कस्तो प्रश्न सोधिने होला ? समय कति दिनुपर्ने होला ? फेरि मेरो भनसुन गरिदिने मान्छे पनि त छैन, म कसरी छनौटमा परुँला ?
म गन्तव्यमा पुगीसकेकी थिएँ । बाहिर उभिएका पाले दाइले प्रश्न गरे, ‘बहिनी कसलाई भेट्न आउनु भाको ? के काम छ ?’ म हाकिमलाई भेट्न आएको भन्दै कार्यालयभित्र छिरें । बाहिर राखिएको नेम प्लेट हेरेर हाकिमको कोठाभित्र दाखिल भएँ । उनीसँगै अरु तीन जना व्यक्ति थिए, सायद सहकर्मीहरु होलान् । अनुहार रातो बनाउँदै भित्र छिरेकी मलाई तीनै जनाले तलदेखि माथिसम्म नियालेर हेरेको मेसो पाइहालें । उकुसमुकुस भएँ । त्यसो त जागिर पाउने हो कि होइन भन्ने डर, त्यसमा पनि उनीहरुको नजर मलाई त्यत्ति चित्त बुझेको थिएन ।
बस्ने अनुमति लिंदै नजिकैको सोफामा बसें । र, मेरो परिचयसहित फोनमा कुरा भएको व्यक्ति आफू भएको जानकारी गराएँ । ‘खोई एकचोटि हेरौं न त डकुमेण्ट” हाकिमको इच्छा बुझेपछि क्लियर व्यागमा राखिएका निकै क्लिन मेरा सर्टिफिकेट र मेरो बायोडाटा पेश गरें ।
सर्टिफिकेटका पाना फर्काउँदै घरीघरी उनको नजर म माथि परिरहन्थ्यो । त्यत्तिकैमा आफ्नो नजिकैको एकजनालाई सुटुक्क कानेखुसी गरे, ‘मान्छे त ट्यालेण्ट नै हो तर वहाँको अहिलेको अवस्थामा जागीर दिंदा भोलि हामीलाई काममा बाधा हुन्छ ।’ मैले भेउ पाइसकेकी थिएँ । खुकुलो कुर्ता सलवारमा सपक्क छोपिने गरी ओडेको चुनरीले पनि छेकेन मेरो बाध्यता । अनि मलाई लुकाउनु पनि त थिएन । मैले अनुरोध गरें, ‘जागिर पाएँ भने म आफ्नो व्यवस्थापन सजिलै गर्न सक्छु ।’
अनि त्यसैमाथि कोखैमा बसेका भद्र भलाद्मी व्यक्तिले सोधे, ‘बहिनी यस्तो बेलामा नि तपाईं काम खोज्न हिँड्नुभएको ? बरु यस्तो बेलामा त भएको काम पनि छाडेर आराम गर्नुपर्छ, खानपीनमा जोड दिनुपर्छ । जागीर गरेर कसरी सम्भव हुन्छ तपाईंलाई ?’
मलाई यो सब थाहा नभएको कहाँ हो र ? साथीहरु सबै आ–आफ्नो काममा व्यस्त छन् । उनीहरुको अगाडि पनि मैले केही गर्नु जरुरी छ । फेरि त्यति धेरै पढेकी बुहारी ल्याएर के काम ? खोई त पढेको काम लागेको ? भन्ने समाजको लान्छना । केही गर्न नसक्ने तिमी ? साथीहरुका श्रीमती सबै जागिरे छन्, तिमी त सधंै घरमै बसेर नथाक्ने श्रीमान्को चित्त दुखाई । अनि पल्ला घरकी बुहारी बिहानै काम सकेर स्कुटर चलाएर अफिस जान्छिन् । घरको काम नि भ्याउने, अफिस पनि भ्याउने कस्तो बुहारी पाएका, कति भाग्यमानी सासु ससुरा । हाम्रो त रहर मात्रै भयो । सासुको दिनहुँको गनगन झल्यास्स मनमा आयो ।
झनक्क उठेको रिसलाई काबुमा राख्दै नबुझेजस्तो गरी भनें, ‘मेरो पेटमा हुर्किरहेको बच्चाको लालन पालनको लागि त झन मलाई आवश्यक छ जागिर । म सक्छु सबै मिलाउन । मलाई आफूमाथि विश्वास छ ।’ यति सुनेपछि ‘हुन्छ बहिनीलाई खबर गरौंला’ भन्ने जवाफ आयो । मैले त्यहाँको कर्मचारी हुने आशा मारी हवस् भन्दै निस्कें ।
निकै भोक लागेको थियो । विहान मनमा अलिक हतार भएकोले खाना रुचेको थिएन । घरमा गएर पनि त आफै बनाएर खानुपर्छ, बरु खाजा खाएर जान्छु भन्दै नजिकै रहेको खाजा घरमा पसें । दिनभर पानी परेकोले होला, त्यति भीडभाड थिएन । मैले खाजा र कफी अर्डर गरें । यत्तिकैमा नजिकै कुन अफिस रहेछ कुन्नी, त्यहाँका कर्मचारीहरु खाजा खान भनी आएर मेरो नजिकैको टेबलमा बसेर चर्को चर्को स्वरमा गफ गर्न लागे ।
हेर न, अस्ति कर्मचारी कम भयो भनेर एचआरसँग मागेको, एउटी गर्वभती महिलालाई पठाएछ । अब विदा बस्दिने होला । यस्ता कर्मचारीबाट प्रगति कसरी गर्न सकिन्छ ? अर्कोले यत्तिकैमा थपे, यो केटी मान्छेहरु त कार्यालयमा नपठाए हुन्थ्यो जस्तो लाग्छ । फेरि आरक्षण छ, आजकाल धेरै नै आउने गरेका छन् । विहे नभएको केटी मान्छे आयो भने काम सिक्न नपाउँदै विहे गरेर अर्को ठाउँमा जाने, सरुवा भइदिने अनि भर्खर विहे भएकाहरु फेरि कहिले ३ महिना विदा बसीदिने हुन् भन्ने डर । बरु बच्चा हुर्किएका पठाए हुन्थ्यो भन्दै महिला कर्मचारीलाई मजाकको पात्र बनाउँदै गललल्ल हाँसे ।
मलाई असह्य भयो तर त्यसको प्रतिकार गर्न मसँग सामथ्र्य थिएन । यत्तिकैमा मेरो खाजा आयो । उता गफको प्रसंग मोडियो । त्यो होटल उनीहरुकै स्टाफमध्ये एकजना श्याम भन्नेको रहेछ । श्याम सरले कति प्रगति गर्नु भाछ । अफिस अनि व्यावसाय दुवै भ्याउनु भाछ । निकै टाठो मान्छे वहां । हुन त गर्न पनि पर्यो, हाम्रो आम्दानीले मात्रै परिवार धान्न कहाँ सकिन्छ र । दाम अनुसारको काम त हो नि, बाहिर अरु नगरे त परिवार पाल्नै सकिंदैन । यत्तिकैमा अर्कोले थपे, विहान अफिस आएपछि वहाँ धेरैजसो बाहिरै हुनुहुन्छ । अफिस पनि सजिलो छ वहाँको, असिस्टेण्ट स्टाफ एउटी राम्री महिला छिन्, उनले सबै काम सहज तरीकाले समयमै सकाउँछिन् । अफिसको खासै टेन्सन गर्नुपर्दैन । अर्कोले थपे, ए राम्री पनि छिन् ? फेरि श्याम सरलाई व्यावसाय विर्सेर अफिसमै बस्न मन लाग्ने पो हो कि ? सबैजना खित्का छाडेर हाँसे, केही खुसीयाली मनाए जस्तो गरी ।
....
महिला कर्मचारीले कामको सम्पूर्ण बोझ उठाईदिएर पुरुष साथीहरुले व्यापार धान्न हुने ? उनीहरुले अफिसको काम भन्दा बाहिरको काम गर्दा टाठोबाठो हुने ? तर प्रकृतिले दिएको भूमिका निभाउने क्रममा विदा बस्दा महिला कर्मचारी काम नलाग्ने बनिदिने ?
महिलाको कामको भन्दा पनि सुन्दरताको मूल्याङ्कन हुने ? महिलाहरुमा काम प्रतिको लगाव बढी हुन्छ, आफ्नो जिम्मेवारीमा कहिल्यै चुक्दैनन् । तर पनि उनीहरुको मूल्याङ्कन रुप रङ्गसँग मात्रै किन गरिन्छ ? उनको परिचय उनको योग्यतालाई किन मजाक बनाईन्छ समाजमा ? यी यस्ता भलाद्मी भनिएका समाजका पढेलेखेका भनाउँदाहरुको त सोंचाई यति निकृष्ट सोच हुन्छ भने आममानिसको हेराईलाई कसरी बुझ्ने ? मलाई प्रश्न गर्न मन लाग्यो, तपाईंकी आमा कति राम्री छिन् ? के आमाको रुपसँग तुलना गर्न सक्नुहुन्छ उनको ममता ? विवेकको घैंटोमा स्वार्थको ताला कहिलेसम्म लगाउने हो ?
हामी विभेदरहित समाजको परिकल्पना गरिरहेका छौं । विभिन्न खाले विभेदमध्ये लैंगिक विभेद एउटा जटिल विभेद हो । हाम्रो समाजलाई नजिकबाट नियाल्ने हो भने पुरुष र महिला बिचको ठूलो विभेदको खाडल अझै पनि यथावत नै देखिन्छ । लिंगका आधारमा हुने हिंसाको चपेटामा सिंगो मुलुक परिरहेको छ ।
यी सब कुराले मलाई असह्य भएको थियो । म भित्रका विरोधहरु पनि जमेर पत्थर बनिसकेका थिए । आफ्नो आवेगलाई सम्हाल्दै निस्कें । अब त साँझ पनि पर्न लागिसक्यो, बस चढेर जानु छ । फेरि घरमा गएर साँझको भान्सा सुरु गर्नु छ । घरको बुहार्तन अनि समाजको कुदृष्टिका बिच केही गर्नु नै छ । बस पनि आइहाल्यो, साँझ परेकोले होला भीडभाड थिएन । खाली सीटमा बसेर घर आईपुगें । हतार हतार गरी फ्रेस भएर भान्सामा छिरें । खाना खाईवरी सबैजना टेलिभिजन हेर्न थाले । म भने जुठो भाँडा माझ्न थालें । आज छिटै विस्तारमा पल्टिएँ । दिनभरका घटनाक्रम आँखाभरी ऐनामा जस्तो छर्लङ्ग आईरहे । आँखा चिम्लिएर मनमा आफैसँग गन्थन मन्थन गर्दागर्दै कति बेला निदाएछु, पत्तै भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको