सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड भन्छन् – अहिले पनि निर्णायक भूमिकामा हामी नै छौं

राजनीतिक ‘कमाण्डर’ माओवादी !
शुक्रबार, २७ फागुन २०७८, २२ : ५६
शुक्रबार, २७ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिको कमाण्ड माओवादीले गरेको दाबी गरेका छन् । गणतन्त्र स्थापनापछि देखि पछिल्लो राजनीतिक परिस्थितिलाई समेत मूल्याङकन गर्दै प्रचण्डले सो दाबी गरेका हुन् । ‘अहिले देश जतिपनि एजेण्डामा चलिरहेको छ, त्यो माओवादीले गरेको त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको हो,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको प्रशिक्षण भेलामा उनले भने,‘त्यो हिसाबले अझैपनि देशको राजनीतिलाई कुन दिशातर्फ मोड्ने, कता लैजाने भन्ने निर्णायक भूमिका  हाम्रै हातमा छ ।’ 

शुक्रबार बिहान नौ बजेतिर सुर्खेत विमानस्थल आइपुगेका उनले त्यहाँ पत्रकारसँग छोटो कुराकानीमा एमसीसी र वर्तमान गठबन्धनका बारेमा बोलेका थिए । ‘एमसीसीमा केही त्रुटिहरु थिए । हामीले व्याख्यात्मक टिप्पणीका माध्यमबाट भएपनि सच्याएर पास गरायौँ । जसले गर्दा देश दुर्घटनाबाट बच्यो,’ उनले भने,‘ अब गठबन्धनमा समस्या छैन् । आगामी चुनावसम्मै गठबन्धन जान्छ ।’ तर दिउँसो पार्टी प्रशिक्षण कार्यक्रममा भने उनले गठबन्धनको खासै भर नभएको भन्दै नेता, कार्यकर्ताहरूलाई आफ्नै शक्ति परिचालन गरेर नै चुनाव जित्न अठोट गर्न आग्रह गरे । गठबन्धनको कुनै टुंगो छैन । माओवादी पार्टी चुनाव एक्लै लड्न सक्ने हैसियत नभएको पार्टी पनि होइन्,’ उनले भने, ‘तपाइँहरु ढुक्क भएर आफ्नै शक्तिमा चुनाव जित्ने अठोटका साथ लाग्नुहोस् !’

यद्यपि उनले गठबन्धनलाई नकार्न नसकिने तर्क राखे । उनले भने, ‘एमसीसीलाई कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता र व्यवस्थापिकामाथि हमला गरिँदै थियो । तर, हामीले गर्दा त्यसो हुन पाएन । एमसीसीसँग दाँजेर गठबन्धनबारे टिका–टिप्पणी भइरहेका छन् । गठबन्धन निर्वाचनसम्म रहने या नरहने अझै टुंगो नभए पनि निर्वाचनसम्म लैजाने प्रयास भने हाम्रो छ ।’ 

साथै प्रचण्डले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको पनि उल्लेख गरेका थिए । ‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौं,’ उनले भनेका थिए, ‘हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा प्राप्त सफलता हासिल भएका हुन् । प्रतिक्रान्तिकारी नेतृत्व विरुद्ध विद्रोह हाम्रो जारी नै छ ।’ 

७४४ जना पार्टी प्रवेश 

प्रदेशस्तरीय प्रशिक्षण भेलामा विभिन्न दल त्याग गरेर ७४४ जनाले माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले नै फूलमाला लगाएर स्वागत गरेका छन् । पार्टी प्रवेश गर्नेमा जनता समाजवादीका प्रदेश उपाध्यक्ष पवित्रा शर्मा, लिला सिजापति, सचिव छविलाल गौतम, जाजरकोट जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य लगायत ७४४ जना रहेका छन् । 

प्रचण्डमाथि ढुंगा प्रहार भएकै हो ?
शुक्रबार प्रचण्डमाथि वीरेन्द्रनगरको सिटी हलमा ढुंगा प्रहार भयो भनेर सामाजिक सञ्जालमा चर्चा भयो । तर माओवादी केन्द्र प्रदेश कमिटीले भने त्यसको निन्दा गरेको छ । प्रचण्ड बुद्ध एयरको विमानमार्फत सुर्खेत विमानस्थल आएका थिए । त्यहाँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । झण्डै आधा घण्टाजति प्रचण्डले विमानस्थलमा बिताएका थिए । त्यसपछि वीरेन्द्रनगरस्थित गुरुङ चोक नजिकै पार्टीका नेताहरूसँगै प्रचण्डले सामूहिक खाना खाएका थिए ।

जुन चोकमा कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही बस्छन् । शाही निवासमा खाना खाएपछि प्रचण्ड सिधै कार्यक्रमस्थल सिटी हलमा प्रवेश गरेका थिए । प्रशिक्षण कार्यक्रममा सम्बोधन गरिरहेको बेला सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड माथि सुर्खेतमा ढुंगा प्रहार अवस्था गम्भीर भन्ने स्टाटस् सार्वजनिक भयो । यो स्टाटस् फेसबुक प्रयोगकर्ता एवी डी बोहोरा र राधिका जोशी अनुपमाले फेसबुकमा लेखेका छन् । तर कडा सुरक्षाबीच विमानस्थलदेखि पूर्व मुख्यमन्त्री निवासमा खाना खान र त्यहाँदेखि कार्यक्रमस्थल पुगेका प्रचण्ड झण्डै २ घण्टा पार्टी पदाधिकारी र कार्यकर्तालाई प्रशिक्षण दिएर काठमाडौं जान सुर्खेतबाट नेपालगञ्ज गइसकेका छन् ।

अफवाह फैलाउने हेतुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिएको भन्दै सुर्खेत प्रहरीले पनि स्टेटमेन्ट निकालेको छ । प्रहरीले सूचना जारी गर्दै प्रचण्डमाथि कुनै प्रकारको घटना नभएको र बाहिरी हल्ला मात्रै भएको उल्लेख गरेको छ । प्रहरीले आधारहिन रुपमा सम्प्रेषण गरेको र ती समाचार तथा सूचनामा कुनै सत्यता नभएको बताएको छ । 

साथै त्यस्ता खालका झुठा भ्रमपूर्ण र शान्ति सुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरु सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ भन्दै प्रहरीले सचेत समेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप