शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा रहेका विप्लवलाई देउवाले भने–विरोधका कार्यक्रम शान्तिपूर्ण होस्

शुक्रबार, २७ फागुन २०७८, २२ : २०
शुक्रबार, २७ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका महासचिव विप्लव लगायतका साना कम्युनिस्ट पार्टीलाई विरोधका नाममा अराजक गतिविधि नगर्न आग्रह गरेका छन् । उनले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न विप्लवसँगको भेटमा आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । 

शुक्रबार बालुवाटारमा भएको भेटवार्तामा विप्लवले तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । जवाफमा देउवाले सरकार सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गरेका थिए । प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि विप्लवसहितका साना दलले सडक संघर्ष गर्दै आएको छ । 

यहीबीचमा राजनीतिक लबिङसमेत गर्दै आएका विप्लव आफ्नै ३ बुँदे कार्यान्वयनमा सरकारबाट ढिलाइ भएपछि सोही विषयमा पनि ध्यानाकर्षण गराउन विप्लव बालुवाटार पुगेका हुन् । छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता थियो भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता थिए । 

यसअघि गृह मन्त्रालयमा गृहमन्त्री खाण र विश्वकर्माबीच छलफल भएको थियो । सो क्रममा पनि नेपाल सरकार र  नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो । छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाइ गर्न आग्रह गरेका थिए ।  गृहमन्त्री खाणले प्रक्रिया पु¥याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप