बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ताजा जनादेशको विकल्प छैन : कमल थापा

शुक्रबार, २७ फागुन २०७८, १८ : १५
शुक्रबार, २७ फागुन २०७८

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।

उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए । अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए । उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहिन बनेको बताए ।

अध्यक्ष थापाले भने, ‘भ्रष्टाचार अत्यन्तै विकराल भएको छ । नियन्त्रण गर्ने संस्थाहरु सरकारको दबाब र प्रभावमा परेर, राजनैतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेका छन् । कयौँ ठूला भ्रष्टाचारको छानबिनहरु त्यसै सेलाएको छ । छानबिन भएर अदालतसम्म पुगेको मुद्दाहरूमा पनि सम्बन्धित निकायले ठोस र प्रभावकारी कदम चाल्न सकेको छैन । धर्म निरपेक्षताको आडमा संगठित र योजनाबद्धरुपमा धर्म परिवर्तन भइरहेको छ । नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसेको छ । यस्तो अवस्थामा विगत ७ महिनादेखि संसद अवरुद्ध छ । न्यायपालिकाभित्रको अराजकता अझै समाधान हुन सकेको छैन । सरकार प्रभावहिन बनेको छ । यो समग्र परिदृश्यलाई दृष्टिगत गर्दै अब देशलाई संकटबाट मुक्त तुल्याउनका निम्ति ताजा जनादेश र संसदको चाँडोभन्दा चाँडो निर्वाचनमा जानु नै सबैभन्दा उपयुक्त विकल्प हो ।’

उनले राप्रपा नेपालको संगठन निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको बताए । उनले भने, ‘राप्रपा नेपाल अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा छौँ । स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी हुन्छ । हाम्रो प्राथमिकता स्थानीय तहको निर्वाचन भन्दा पनि संसदीय निर्वाचनमा छ । आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने ढंगबाट आवश्यक तयारी गरिरहेका छौँ ।’
अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभइ संसदीय निर्वाचन भएको बताए । उनले आगामी निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने पनि दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप