शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

बजार महँगी ६ प्रतिशत नजिक

शुक्रबार, २७ फागुन २०७८, १५ : १९
शुक्रबार, २७ फागुन २०७८

नेपाल राष्ट्र बैंकको तथ्यांकले गत माघ मसान्तसम्मको बजार महँगी ५.९७ प्रतिशत रहेको देखाएको छ । शुक्रबार चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले २०७८ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत मात्र रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको बैंकले जनाएको छ । २०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६  प्रतिशत र ५.९२ प्रतिशत रहेको छ । क्षेत्रगत रुपमा यस्तो मुद्रास्फीति समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप