शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चित अधिकतम १६ प्रतिशतले घट्यो, ६.७ महिनाको आयात धान्न पुग्ने

शुक्रबार, २७ फागुन २०७८, १५ : ०८
शुक्रबार, २७ फागुन २०७८

बढ्दो आयात र घट्दो रेमिटेन्सका बीच विदेशी मुद्राको सञ्चितिमा तीब्र गिरावट आएको छ । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) सम्ममा विदेशी मुद्राको सञ्चितिमा अधिकतम १६.२ प्रतिशतले कमी आएको हो ।  बैंकका अनुसार माघ मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति घटेर ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँमा झरेको छ । यस्तो सञ्चिति गत २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ बराबर रहेको थियो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको बैंकले जनाएको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई १० खर्ब २४ अर्ब ६० करोड कायम भएको बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैँकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ माघ मसान्तमा ३.९ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ४२ करोड कायम भएको बैंकले जनाएको  छ । 

२०७८ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ । बैंकका अनुसार यस्तो सञ्चितिले आर्थिक वर्ष २०७८–७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ५५.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप