चुनावी अभियानको रिपोर्टपछि तालमेलबारे निर्णय गर्छौं : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्। काठमाडौँको आलोकनगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रममा उनले एक महिने अभियानपछि मात्रै काँग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्।
चुनावी तालमेलका बारेमा अहिले काँग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताए।
‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने ।
चुनावी अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा पार्टी हितमा निर्णय गरिने बताए ।
सत्तारुढ पाँच दलीय गठबन्धन काँग्रेसले चाहेर मात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिजन्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याए।
‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो काँग्रेसले चाहेर मात्र होइन कि परिस्थितिजन्य कारणले यो गठबन्धन हो।’