उत्तर प्रदेश चुनावमा योगी आदित्यनाथको ऐतिहासिक जीतका ६ कारण
‘बिजेपी थुप्रै फ्रन्टमा काम गरिरहेको छ । ऊ एउटा मात्रै एजेन्डामा हिँड्ने पार्टी होइन । उसले सुशासनको क्षेत्रमा पनि काम गर्छ । उसका सुरक्षाको नाममा केन्द्र सरकारका जुन योजना छन् त्यसले महिलालाई पनि आकर्षित गर्छ । यसबाहेक उसले सोशल इन्जिनियरिङमा पनि काम गर्छ । यो सबै मिलाएर उसको सम्मिलित प्रभाव यो हुन्छ कि उसले चौथो पटक (२०१४, २०१७, २०१९, २०२२) मा जीत हासिल गर्ने भएको छ ।’
यो भनाई भारतका वरिष्ठ पत्रकार प्रदिप सिंहको हो जसलाई बिजेपीको काममा सूक्ष्म निगारनी राख्ने व्यक्तिको रुपमा चिनिन्छ ।
उनी भन्छन्, ‘यसका साथै योगी आदित्यनाथले एउटा इतिहास रच्ने भएका छन् । उत्तर प्रदेशमा पहिलो पटक कुनै यस्ता मुख्यमन्त्री हुनेछन् जो पाँच वर्ष सत्तामा बसेपछि पुनः फर्किनेछन् ।’
पाँच राज्यमा भएको विधानसभा चुनावमा युपी, उत्तराखण्ड, गोवा र मणिपुरमा भारतीय जनता पार्टी पुनः सत्ता हासिल गर्नेतर्फ अघि बढिरहेको छ । युपीमा (लगभग ५५) सिट घटे पनि र अखिलेश यादवको सपाको (करिब ८० ) सिट बढेतापनि बिजेपी जीततर्फ अघि बढिरहेको छ ।
बिजेपीको सत्तामा फिर्तीको पछाडि थुप्रै कारण बताइँदैछ । यद्यपि, जानकारका अनुसार यसमा रोजगारजस्ता महत्वपूर्ण मुद्दा कतै लुकेका छन् । यहाँ हामी ती कारणको विश्लेषण गरिरहेका छौँ जुन योगी आदित्यनाथलाई सत्तामा फिर्ता ल्याउने महत्वपूर्ण कारण बताइँदैछ ।
१. रणनीति पहिल्यै बनाउनु महत्वपूर्णः
सन् २०१४ मा केन्द्रमा सत्ता हासिल गरेपछि बिजेपीबारे जान्ने विज्ञले यो पार्टीले चुनावको रणनीति निकै पहिला नै बनाउने बताउने गरेका छन् ।
प्रदिप सिंह भन्छन्, ‘यसपटक पनि चुनाव नजिकिँदै गर्दा मात्रै अन्य दलले आ–आफ्नो रणनीति बनाउँदा बिजेपीले त्यसलाई धेरै अघि लागू गर्ने गरेको पनि भनिएको छ । अखिलेश पनि ढिलो गरी मैदानमा आए ।’
‘समयमा निर्णय लिनु पनि बिजेपीको पक्षमा रह्यो । किसान आन्दोलनले उनीहरुको घाँटी अँठ्याएको देखिँदा केन्द्रीय नेतृत्वले तीनवटा विवादित कानुन खारेज गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।’
उनी भन्छन्, ‘ जातीय सन्तुलन कायम राख्न कुनै कसर बाँकी नराख्नु पनि बिजेपीको जीतको ठूलो कारण थियो । आफ्नो दललाई उनीहरुले नछोडिकिन निषाद पार्टीको समर्थन पनि गरे ।’
प्रदिप सिंह भन्छन्, ‘बिजेपी थुप्रै फ्रन्टमा चुनाव लड्छ । अन्तिम साससम्म चुनाव लड्छ । प्रधानमन्त्री दुई–तीन दिन त्यहाँ नै बसे । उनले कार्यकर्तालाई सम्बोधित गरिरहेका थिए । बिजेपी जित्नका लागि लड्छ । थुप्रै मुद्दामा लड्छ । अन्य मुद्दा त साइडमा भइहाल्छन् । हिन्दुत्वको मुद्दा समानान्तर रुपमा चलिरहन्छ ।’
२. हिन्दुत्वको एजेन्डा र मायाको विनाश
हिन्दुत्वको मुद्दा यो चुनावमा पनि एउटा ठूलो मुद्दा रह्यो । हिन्दुको एकता र राम मन्दिरजस्ता एजेन्डामा बिजेपी पहिले नै काम गर्दै आइरहेको छ । संघको यो एउटा ठूलो रणनीतिक एजेन्डा पनि हो र सबै हिन्दु एउटा प्लेटफर्ममा आए ।
वरिष्ठ पत्रकार पूर्णिमा जोशी भन्छिन्, ‘हिन्दुलाई एउटा मञ्चमा ल्याउने आफ्नो एजेन्डामा मायावतीको पार्टी, लोकदल वा अखिलेशको पार्टी बाधक भएको संघले विश्वास गर्दै आएको छ । उनीहरुले यो चुनावमा एउटा बाधा हटाइदिएका छन् । दलितको पार्टीलाई ध्वस्त पारेका छन् । उनीहरुको भोट प्रतिशत ९ देखि १० प्रतिशत घटेको छ । ’
चुनाव प्रचारको बेला अमित शाहले मायावती बलियोसँग चुनाव लडिरहेकी थिइन् भन्ने बयान दिएका थिए । त्यसको अर्थ के हो ?
यसबारे पूर्णिमा भन्छिन्, ‘एक त मुसलमानको भोट थोरै बाँडियोस् र अर्को दलितको भोट सपातर्फ नजाओस् ।’
‘सपाको भोट २१ बाट बढेर ३१–३२ प्रतिशत भइरहेको देखिएको छ । यसको अर्थ धेरै भोट काटिएको देखिएको छ । अखिलेश ओबीसीका ठूला जातीहरुलाई आफ्नो पक्षमा ल्याउन सफल भएको देखिन्छन् तर धेरै दलित मतहरु भाजपाको पक्षमा जाने देखिन्छ ।’
तर बिजेपीको सिट घटिरहेको देखिएको छ । यसबारे वरिष्ठ पत्रकार रामदत्त त्रिपाठी भन्छन्, ‘सिट पक्कै पनि घटेको छ तर भोट प्रतिशत बढेको छ । ’
सिएसडीएसका चुनाव विश्लेषक सञ्जय कुमारले पनि आफूले जीतलाई भोटको प्रतिशतको आधारमा मान्ने र आफ्नो मूल्याङ्कन पनि मत प्रतिशत वृद्धिकै आधारमा भएको बताएका छन् ।
रामदत्त त्रिपाठीका अनुसार प्रधानमन्त्री मोदीको आकर्षण यथावत छ । भोट सेयर बढ्नुको मुख्य कारण चुनावमा बिएसपीको उदासीनता भएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘बिएसपी चुनावमा सक्रिय रहेन त्यसैले उनको भोट अन्तै गयो र त्यसको लाभ बिजेपीले पाएको छ ।’
३. कानुन र व्यवस्थाः
योगी आदित्यनाथले चुनाव प्रचारको क्रममा अलिगढको र्यालीमा भनेका थिए, ‘पहिले उत्तर प्रदेशको पहिचान अपराधबाट हुन्थ्यो । पहिला हाम्रो छोरीचेली सुरक्षित थिएनन् । यहाँसम्म कि वस्तुभाउ पनि सुरक्षित थिएनन् । आज स्थिति फेरिएको छ ।’
बिजेपीले यो मुद्दाचलाई निकै ठूलो रुप दिने कोसिस गरेका थिए । प्रधानमन्त्री मोदीले पनि काुनन व्यवस्थाको कुरा उठाएका थिए । उनले भनेका थिए, ‘एक समय थियो जब शासन प्रशासन गुण्डा र माफियाको मनोमानीले चल्थ्यो तर अब पैसा उठाउने माफियाहरु जेलमा कैद छन् । राजकाजलाई भ्रष्टाचारीको हातमा सुम्पिइएको थियो । आज योगीजीको सरकार पूरा इमान्दारीताका साथ युपीको विकासमा जुटेको छ ।’
सी–भोटर्स के यशवन्त देशमुखका अनुसार राज्यमा कानुन व्यवस्था एउटा ठूलो मुद्दा थियो । यसको श्रेय मुख्यमन्त्री योगी आदित्यनाथलाई पक्कै पनि जानुपर्छ ।
तर यसको ठूलो मुद्दा केन्द्रको योजनालाई पनि बताउँछ ।
४. शौचालयको भूमिका र महिलाको भोटः
यशवन्त देशमुख भन्छन्, ‘बुलडोजर बाबाको इमेजले पनि एउटा भूमिका पक्कै पनि प्रदान गर्यो तर यो जीतमा प्रदेशमा बनाइएका शौचालयले पनि आफ्नो ठूलो भूमिका निर्वाह गर्यो ।’
देशमुख थप्छन्, ‘देशको कुनै पनि इलाकामा जहाँ सबैभन्दा बढी महिलामाथि यौन शोषणको घटना हुन्थ्यो त्यसको एउटा ठूलो हिस्सा बिहान सबेरै वा अबेर राती अँध्यारोमा खेतमा शौच गर्न जाने महिलामाथि हुने गर्दथ्यो । शौचालय बन्नु महिलाका लागि सफा–सुग्घरको मुद्दा मात्रै थिएन उनीहरुका लाष् िसुरक्षा, उनीहरुको अस्मिताको मुद्दा थियो ।’
‘महिला मुद्दामा आधारित भएर भोट दिन्छन् । उनीहरुको पुरुष वा महिला प्रत्यासीको अनुहारसँग कुनै लेनदेन हुँदैन । यसलाई तपाईंले उत्तर प्रदेशमा मात्रै नभई उत्तराखण्डमा पनि देख्नुहुनेछ । त्यहाँ तीनजना मुख्यमन्त्री फेरिँदा पनि बिजेपीको अग्रता देखिएको छ । बिजेपीका वर्तमान मुख्यमन्त्री हारे । यसको अर्थ के निकाल्ने ?’
‘मानिसमा प्रदेश सरकार, मुख्यमन्त्री र विधायकप्रति रिस थियो । यो रिस नै थियो त्यसैले त बिजेपीको युपीमा सिट घटिरहेको छ र सपाको सिट बढेको छ । तर त्यो आक्रोशलाई काट्दै त्यहाँ मोदीको छवि पनि थियो र उनको योजना पनि । त्योभए जहाँ योजनाहरु कार्यान्वयन भए त्यहाँ उनीहरुमाथि छाप लागेको छ ।’
‘तपाईं गोवाको उदाहरण पनि देख्न सक्नुहुन्छ । बीचको स्थितिमा बिजेपीले पुनः बहुमत प्राप्त गर्यो । मणिपुरमा जहाँ बिजेपी पाँच वर्ष अघि दोस्रो नम्बरेको पार्टी थियो आज शीर्ष पार्टी बनिरहेको छ । कतै न कतै एउटा अन्डरलाइन सेन्टिमेन्ट छ र यसको पछाडि धेरै कुराको कार्यान्वयन थियो । ’
५. लाभार्थी योजना र महिलाको भोटः
सन् २०१९ को लोकसभा चुनावमा मोदीले पाएको जीतलाई उनको लोकप्रिय उज्ज्वला योजनासँग पनि अत्यधिक जोडिने गरिन्छ । यसमा ग्रामिण महिलालाई ग्यास सिलिन्डरको लाभ पाइन्छ । थुप्रै जानकारको नजरमा यो योजनाले मोली सरकारप्रति महिलाको समर्थन बढाउने काम गरेको थियो ।
सन् २०१९ मा चुनाव र त्यसअघि असम, कर्नाटक, उत्तर प्रदेश र गुजरातको विधानसभा चुनावमा पनि भाजपाले पुरुषको तुलनामा महिलाको भोट अत्यधिक पाएको थियो ।
पूर्णिमा जोशी भन्छिन्, ‘राशनको मुद्दामा युपीका जनताबीच मोदीको नुन आएको छ भन्ने कुरा प्रचार गरियो । यसबाहेक ग्यास, प्रधानमन्त्री सम्मान निधि, शौचालयजस्ता थुप्रै मुद्दा छा् जसमाथि मानिसले भोट दिएका छन् ।’
सी–भोटर्सका यशवन्त देशमुख भन्छन्, ‘यसलाई विकासको जीतभन्दा पनि सुशासनको जीत भन्न सकिन्छ । खाना पाएको छ, छत पाइको छ, शौचालय बनेका छन् र अकाउन्टमा पैसा आएका छन् । यी सबै मुद्दाभन्दा पनि माथि प्रदेशका महिलाले भाजपाको पक्षमा भोट दिएका छन् । प्रदेशका पुरुषले मुल रुपमा जाती समीकरण र साम्प्रदायिक आधारमा धेरै नै भो दिए । महिला मतदाताका कारण नै भारतीय जनता पार्टीले जीत हासिल गरेको छ । यसो भन्दा कुनै फरक पर्दैन ।’
६. हिन्दु मुसलमानको मुद्दाः
चुनाव प्रचारका बेला हिन्दु मुसलमानको नाममा भोटको धार्मिक ध्रवीकरणको कोसिस पनि गरियो ।
यसबारे देशमुख भन्छन्, ‘यो त यस चुनावमा मुद्दा नै हुनुपर्ने थिएन किनभने भोट त अन्य मुद्दाका कारण पनि पाइने नै थियो । हिन्दु र मुसलमानको भोट त क्रमशः भाजपा र सपाले पाउने नै थियो । बिजेपीको हिन्दु भोटको मात्रै किन कुरा गर्ने । सपाको भोटको ग्राफ जुन बढेको छ त्यो पनि त मुसलमानको भोटका कारण नै त बढेको हो ।’
तर चुनाव प्रचारका क्रममा अखिलेशले मतको धार्मिक ध्रवीकरणसँग सम्बन्धित कुनै पनि वक्तव्य दिएनन् ।
यसबारे देशमुख भन्छन्, ‘तर बयान नदिँदा माबै भोटको धार्मिक ध्रुवीकरणसँग कुनै सरोकार छैन भन्ने प्रमाणित हुन्छ । त्यसो भए अखिलेशले जुन भोट पाएका छन् त्यसमा मुसलमान मतदाताको योगदान कसरी बढी छ ? उनी कुन एजेन्डामा छन् । उनी एउटै एजेन्डामा छन्, कुनै पनि हालतमा बिजेपीलाई हराउनु ।’
‘मुस्लिमहरुले भापजालाई हराउन भोट दिन्छन् भने त्यो धर्मनिरपेक्ष भोट हुने र हिन्दुहरुले भाजपालाई भोट दिए त्यो साम्प्रदायिक भोट हो भन्ने कुरा विश्वास गर्न म अस्वीकार गर्छु ।’
अन्त्यमा प्रदिप सिंह भन्छन्, ‘सपा मुस्लिम यादवभन्दा अगाडि बढ्न सकेको छैन । यसपटक पनि बढेको सिटमा मुस्लिम मतले मात्रै फाइदा पुगेको छ । बसपाको भोट घट्नु भाजपाको लागि त राम्रो संकेत हो तर सपाका लागि राम्रो होइन । किनभने अर्को चुनावमा सन् २०२४ र २०२७ मा जो बीएसपीको जाटव उप–जातीको भोट छन् तीमध्ये धेरै विभाजित हुनेछ र यो बिजेपीतर्फ नै आउनेछ ।’
यस्तै, रामदत्त त्रिपाठीका अनुसार भाजपाको यो जीत यसवर्ष हुने राज्यसभा चुनाव र राष्ट्रपतिको चुनावका लागि असाध्यै महत्वपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण