शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

झापा गोल्डकप : झापा–११ विजयी

बिहीबार, २६ फागुन २०७८, २२ : ३६
बिहीबार, २६ फागुन २०७८

झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा¬–११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा¬–११ का लागि विमल घर्तीमगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा¬–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डी–एरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा¬–११ ले खेलमा सुरुआती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्तीमगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डी–एरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।

५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए । ७७ औँ मिनेटमा विमल घर्तीमगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको ह्यान्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । तर ६० औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पन्च गर्दै बचाए ।

खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद रु नौ हजार ९९९ पाए ।

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टरफाइनलको समीकरणका खेल पूरा भएको छ । जीतसँगै झापाले शनिबार सङ्कटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप