बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब

बिहीबार, २६ फागुन २०७८, २२ : ०८
बिहीबार, २६ फागुन २०७८

ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो ।
             
एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले   ३५ करोडको बिल भुक्तानी लिँदासाथ यही फागुन ५ गतेदेखि काम छोडी हिँडेको गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख नीरज शाक्यले बताए । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक हिँडेपछि स्थलगत काम पूर्णरूपमा बन्द भएको छ ।
             
जिम्मा लिएको काम छोडी राजमार्ग विस्तारमा बाधा पु¥याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भइरहेको प्रमुख शाक्यले बताए । बीचमा काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पु¥याउने सो कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न आयोजना बाध्य हुने बताइएको छ ।
              
नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको प्राविधिकले जनाएका छन् । गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा पुलमध्ये चार वटा सम्पन्न भई यातायात चालु भइसकेको र अन्य पक्कीपुल धमाधम निर्माण भइरहेका छन् ।
             
यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सिमाना फलाखु खोलाको पुल साइटका ससाना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भइसकेको बताइएको छ । मङ्सिर, पुस, माघको चिसो याममा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धीशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुल उपरका लागि मजदुरबाट निवेदन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप