शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडाको मेयरमा एमालेभित्र रस्साकस्सी सुरु, ४ जनाको दाबी

बिहीबार, २६ फागुन २०७८, १६ : २१
बिहीबार, २६ फागुन २०७८

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मकवानपुरमा राजनीतिक गतिविधिले तीव्रता पाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित भएर राजनीतिक दलहरुले जिल्लाका सबै स्थानीय तहमा आफ्ना कार्यक्रम सुरु गरिसकेका छन् । यसै क्रममा नेकपा एमाले पनि जिल्लामा स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ भने निर्वाचन रणनीति निर्माणमा पनि लागेको छ । यसअघि जिल्लामा बलियो अवस्थामा रहेको एमालेलाई आगामी निर्वाचनमा पार्टी विभाजनको असर पर्ने देखिएको छ । विभाजन कै कारण एमालेलाई जिल्लाका स्थानीय तहहरु जित्न समस्या हुने विश्लेषण पनि गरिएको छ ।

एमाले विभाजनका कारण मकवानपुरमा ठुलो संख्यामा कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । जसको प्रत्यक्ष असर आगामी निर्वाचनमा एमालेले भोग्नु पर्ने स्थानीय नेताहरु बताउँछन् । यसैबीच बागमती प्रदेशको राजधानीसमेत रहेको प्रदेशकै एकमात्र उपमहानगरपालिका हेटौंडाको मेयरमा एमालेबाट को उम्मेदवार हुन्छ भन्ने विषय निकै चासोका साथ हेरिएको छ । हाल एमालेको नेतृत्व रहेको यस उपमहानगरपालिकामा एक प्रकारको दबदबा नै कायम छ । एमालेको बर्चस्व तोड्न अन्य दलहरूलाई त्यति सहज भने नहुने विश्लेषकहरुको भनाइ छ ।

हेटौंडाको मेयरमा एमालेबाट ४ जना आकांक्षी

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि एमालेका ४ जना नेताले आकांक्षा व्यक्त गरेका छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको यस उपमहानगरको मेयर बन्न अहिले एमालेभित्र तीन नेताबीच रस्साकस्सी नै सुरु भइसकेको छ ।

हेटौंडाको मेयरका लागि संविधानसभा सदस्यदेखि हालका जिल्ला समन्वय समिति प्रमुखसमेत दाबेदार छन् । हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले हेटौंडाको मेयर पदमा आकांक्षा देखाएका छन् ।

तीन जना आकांक्षीहरु आफनो पक्षमा टिकट ल्याउनका लागि प्रयासरत छन् । उनीहरु टिकटका लागि केन्द्रीय स्तरका नेतृत्वसँग छलफलमा रहेको बुझिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमाले विजयी भएका कारण यहाँ एमालेबाट मेयरका प्रत्याशी धेरै भएको अनुमान गरिएको छ ।

हाल नेकपा एमाले विभाजन भए पनि संगठित कार्यकर्ताको बलमा चुनाव जित्नेमा नेताहरु ढुक्क देखिन्छन् ।

आफूसँग विकासका योजना रहेको पौडेलको दाबी

वार्षिक करिब ३ अर्ब रुपैयाँ बजेट रहेको हेटौंडा उपमहानगरपालिकाको नेतृत्वका लागि संविधानसभा सदस्य अनन्त पौडेलले आकांक्षा व्यक्त गरेका छन् । २०७० सालको संविधानसभा सदस्य पदमा मकवानपुरको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पौडेलले आफू कार्यकर्तामा पपुलर रहेको भन्दै मेयर पदमा आकांक्षा व्यक्त गरेका हुन् ।

२०५४ सालमा पनि जिल्ला विकास समिति मकवानपुरको सदस्य पदमा निर्वाचित भएर पर्यटन तथा सामाजिक क्षेत्रको नेतृत्व गर्दै काम गरेका कारणले आगामी निर्वाचनमा पार्टीले हेटौंडाको मेयरमा आफूलाई खटाउने उनको विश्वास छ ।

२०७४ सालमा भएको निर्वाचनमा एमालेले नेतृत्व गरेको हेटौंडा उपमहानगरपालिकाले विकास तथा पूर्वाधारको क्षेत्रमा धेरै काम भइसकेको र आगामी दिनमा जनताको जीवनस्तरसँग जोड्ने योजनामा काम गर्नुपर्ने भएकाले ती योजनाहरु आफूसँग रहेको उनले दाबी गरे ।

नेता, कार्यकर्ता र जनताले पनि आफूलाई मेयर भएर काम गर्न आग्रह गरेका कारण आफूले आकांक्षा व्यक्त गरेको र टिकट प्राप्त गर्नका लागि जिल्लादेखि केन्द्रसम्म छलफलमा रहेको उनले बताए ।

आकांक्षामात्र होइन, पालो मेरै हो : श्रेष्ठ

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पनि आकांक्षा व्यक्त गरेका छन् । उनले हेटौंडाको मेयर बन्ने पालो आफ्नै भएको भन्दै आन्तरिक तयारीमा जुटेको बताए ।

‘मेरो आकांक्षा स्वाभाविक पनि हो । आकांक्षामात्र होइन, पालो पनि मेरै हो । सबै नेताहरुको सहयोग मलाई छ । मैले नेतृत्वहरुसंग छलफल पनि सुरु गरिसकेको छु । अबको निर्वाचनमा हेटौंडाको मेयर म नै हुँ,’ उनले भने ।

ठूला नेताहरु नै मेयर पदमा दाबी गर्नुपर्ने भएपछि उनी केही समस्यामा रहेको एमाले निकट स्रोत बताउँछ ।

दोस्रो इनिङको प्रयासमा मेयर महत

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुनः अर्को कार्यकालको तयारी सुरु गरेका छन् । पहिलो कार्यकाल पूरा हुने अवस्थामा रहेका मेयर महतले पुनः नेतृत्वको प्रयास थालेका हुन् ।

हेटौडाको विकास र जनताको मन जित्ने काम गरेका भन्दै महतले पुनः एक कार्यकाल मेयर पदमा दोहो-याउने तयारी थालेको उनी निकट स्रोत बताउँछ । उनले मेयर पदमा दाबी गर्दै आन्तरिक छलफलमा जुटेको तर, बाहिर भने नखुलेको स्रोत बताउँछ ।

२०७४ सालको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई पछि पार्दै २३ हजार १२४ मतसहित उनी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए । पराजुलीको करिव ७ हजार मत बदर भएको थियो ।

मेयर महतले प्राविधिक रुपमा ६५० मतान्तरले मात्र निर्वाचन जितेकाले आगामी निर्वाचनमा टिकट दिन नहुने भन्दै पार्टीभित्र टिकाटिप्पणी पनि हुने गरेको छ । समय समयमा व्यक्तिगत आचरणका कारण पनि उनको आलोचना तथा विरोध हुने गरेको छ ।

जिसस प्रमुखको मेयर बन्ने चाहना

यता मकवानपुरको जिल्ला समन्वय समितिको प्रमुख रघुनाथ खुलालले पनि हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा आकांक्षा व्यक्त गरेका छन् । ५ वर्ष जिल्ला समन्वय समितिमा रहेर जनताको काम गरेका खुलालले आगामी एक कार्यकाल कार्यकारी पदमा रहेर काम गर्ने इच्छा व्यक्त गर्दै मेयर पदमा आकांक्षा व्यक्त गरेको उनी निकट स्रोत बताउँछ ।

विद्यार्थी जीवनबाट राजनीतिमा लागेका खुलाल मजदुर युनियन हुँदै पार्टीका विभिन्न पदमा रहेर विगत ४० वर्षदेखि निरन्तर काम गर्दै आएका छन् । २०७४ सालको निर्वाचनमा उनी हेटौंडा–९ बाट वडा सदस्य निर्वाचित भएका थिए । उनलाई हेटौंडाका जनप्रतिनिधिहरुले पुनः मतदान गरेर जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित गराएका थिए ।

जिल्ला समन्वय समितिको ५ वर्षे कार्यकालमा स्थानीय तहको काम कारवाहीलाई नियाल्दै जनताको पक्षमा काम गरेका उनी प्रत्यक्ष रुपमा जनतासँग जोडिन मेयर पदमा लविङ गरिरहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप