र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्छौँ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदसँग छलफल गरिरहेको बताए ।
उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको औंल्याए । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रुपमा विकास गर्नु पर्ने बताए । र्याफ्टिङ लगायत अन्य जलाशय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली,सुनकोसी र भाेटेकाेसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने उनले बताउ ।
यस्तै नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिइओ) डा. धनञ्जय रेग्मीले र्याफ्टिङ खेल एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गदै जानु पर्ने बताए । उनले र्याफ्टिङ खेलाडीको क्षमता विकासको लागि पर्यटन बोर्ड विगतदेखि आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने प्रतिबद्धता जनाए ।