हरियो रङबारे सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन महामन्त्री शर्माको सुझाव
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिएका छन् । महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्रीले खुद्रा वहस गर्न नमिल्ने बताएका हुन् ।
बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिए ।
अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे । उनले अध्यक्ष ओलीलाई मतपत्रको रङभन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए ।
उनले भने “कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ । मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मत परिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।”
उनले राजनीतिक दलहरुले मतपत्रको रङ बैजनी, रातो, हरियो, कालो के राख्ने भन्ने विषयमा बोल्न नहुने बताए । शर्माले निर्वाचन आयोगले विगतमा रातो, हरियो, कालोमध्ये कुनै एक रङ राख्दै आएकाले आफ्नो परम्परालाई पालना गरेको बताए ।