मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस जिल्ला अधिवेशन : १२ जिल्लामा नयाँ नेतृत्व, देउवा पक्ष नै हावी

बिहीबार, २६ फागुन २०७८, १६ : ०७
बिहीबार, २६ फागुन २०७८

नेपाली काँग्रेसको जिल्ला अधिवेशनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । महाधिवेशनअघि अधिवेशन हुन बाँकी १६ जिल्ला मध्ये १४ जिल्लाको अधिवेशन भएको छ । जसमा १२ जिल्लाको नेतृत्व चयन भएको छ भने २ जिल्लाको परिणाम आउन बाँकी छ ।  यसैगरी दुई जिल्लामा शुक्रबारदेखि अधिवेशन हुँदैछ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा पक्षबीच नै मुख्य प्रतिस्पर्धा भएको छ ।

देउवाले पक्षले १३ औं महाधिवेशनमा जितेका प्रायः सबै जिल्ला जोगाएको छ । केन्द्रमा देउवा पक्ष भारी बहुमतमा रहेपनि जिल्लामा शेखर कोइराला पक्षले पनि राम्रै सफलता हात पारेको छ । देउवा पक्षबीच अन्तिम प्रतिस्पर्धा हुँदा केही जिल्लामा कोइराला पक्ष निर्णायक बनेको छ । १२ जिल्ला मध्ये ७ जिल्लामा देउवा पक्षले जित हात पारेको छ ।

पाँच जिल्लामा शेखर कोइराला पक्षका नेताहरु सभापतिमा निर्वाचित भएका छन् । यस्तै पूर्व उपसभापति विमलेन्द्र निधिको भने गृह जिल्ला धनुषामा मात्र पकड देखिएको छ । मधेस प्रदेशमा निधि पक्षको विद्रोहले देउवा पक्षलाई अप्ठ्यारो पर्ने विश्लेषण भएपनि अहिलेसम्म चारै जिल्लामा नेतृत्व हत्याउन सफल भएको छ । मधेस प्रदेशका ३ जिल्लाको परिणाम आउन बाँकी छ भने एक जिल्लामा अधिवेशन भएको छैन ।

समूहभित्रै मुख्य प्रतिस्पर्धा

कैलालीमा संस्थापन पक्षका नारायण दत्त भट्ट निर्वाचित भएका छन् । कैलालीमा संस्थापन समूहकै भट्ट र प्रकाश बहादुर बमबीच मुख्य प्रतिस्पर्धा भएको थियो । संस्थापन इतर समूहबाट सभापतिमा भिडेका रामबहादुर कलेल पहिलो चरणमा तेस्रो भएर रिङआउट भएपछि बम र भट्टबीच प्रतिस्पर्धा भएको थियो । कलेलको समर्थन बमलाई भने पनि पहिलो चरणमा दोस्रो भएका भट्ट सभापतिमा निर्वाचित भए ।

अछाममा पनि संस्थापन पक्षकै पुष्प शाह सभापतिमा निर्वाचित भएका छन् । अछाममा संस्थापन समूहकै भरत स्वाँर र शाहबीच मुख्य प्रतिस्पर्धा भएको थियो । महामन्त्री गगन थापा निकट राजन कुँवर पहिलो चरणबाटै बाहिरिएका थिए । कुँवरको समर्थन स्वाँरलाई भएपनि शाहले बाजी मारे ।

मकवानपुरमा संस्थापन समूहका बुद्ध लामा सभापति बनेका छन् ।  संस्थापन समूहका बुद्ध लामा र आनन्दराम पराजुली तथा इतर समूहबाट जयराम लामिछाने प्रतिस्पर्धामा थिए । पहिलो चरणको मतदानमा इतर पक्षका लामिछाने रिङआउट भए ।

संस्थापन समूहबीच सबैभन्दा बढी मत ल्याउनेलाई समर्थन गर्ने पूर्वसहमतिअनुसार पराजुलीले समर्थन गरेपछि लामा निर्वाचित भएका भएका थिए । बाँकेमा संस्थापन समूह विभाजित हुँदा संस्थापनइतर समूहले नेतृत्व हत्याएको छ । संस्थापन समूहका सुरेन्द्र हमाल र बादशाह कुर्मीको लडाइले संस्थापनइतर समूहका नारायण गौडेल सभापति भए ।

पहिलो चरणबाट तेस्रो भएर बाहिरिएका हमाल तटस्थ बसेपछि पौडेललाई सभापति बन्न सहज भयो । बाँकेमा संस्थापन समूह इतरभन्दा करिब ४ सय मतले अगाडि भएपनि दोस्रो चरणमा गौडेलले कुर्मीलाई पराजित गरिदिए ।

संस्थापनको समर्थनमा चितवनमा इतर पक्षीय राजेश्वर खनाल सभापति निर्वाचित भएका छन् । चितवनमा संस्थापन इतर समूहबाट ४ जना र संस्थापन समूहबाट एकजना प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारलाई ५० प्रतिशतभन्दा बढी मत प्राप्त भएन । पहिलो चरणमा पहिलो भएका इतर समूहका खनाललाई संस्थापन पक्षका मिलनबाबु श्रेष्ठले समर्थन गरिए । श्रेष्ठले समर्थन गरेपछि निर्वाचनबिनै खनाल सभापतिमा विजयी भएका थिए ।

यस्तै पूर्वी नवलपरासीमा महेन्द्रध्वज जीसी निर्विरोध सभापति भएका छन् । संस्थापन इतर निकट उनी निर्विरोध सभापति भएका हुन् । काँग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला निकट जीसीको विरुद्धमा संस्थापन पक्षले उम्मेदवार समेत खडा गरेन ।

कोइरालाको निर्वाचन क्षेत्र समेत रहेको पूर्वी नवलपरासी जिल्ला निर्विरोध नेतृत्व चयनका लागि गण्डकीका महामन्त्री विष्णु लामिछानेले विशेष भूमिका खेलेका थिए । निर्वतमान जिल्ला सभापति समेत रहेका लामिछानेले जीसीलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

सिन्धुलीमा भने संस्थान इतर पक्षमै मुख्य प्रतिस्पर्धा भएको थियो । वाहलवाला सभापति उज्ज्वल बराललाई पराजित गरी उपेन्द्रकुमार पोखरेल सभापति बनेका छन् ।  संस्थापन समूहले प्रेमचन्द्र हमाल र शेखर कोइराला समूहले बराललाई उम्मेदवार बनाएको थियो । दोस्रो चरणमा दाहालको समर्थन पाएका पोखरेल सभापति बने ।

मधेस प्रदेशमा देउवा पक्ष नै हाबी

महोत्तरीमा संस्थापन पक्षमा नागेश्वर यादव सभापति भएका छन् । महोत्तरीमा संस्थापन समूहका दुई जना उम्मेदवार थिए । निवर्तमान सभापति महेन्द्र कुमार रायले सुशीलकुमार यादव र कल्याण गुरुङले नागेश्वरलाई अगाडि सारेका थिए ।

यस्तै निधिले बजरंग नेपालीलाई उम्मेदवार बनाएका थिए । नेपालीलाई शेखर कोइराला समूहको समर्थन थियो । तर नागेश्वरले सभापति देउवाको सदभाव र गुरुङको साथ पाएपछि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याए । नेपाली पहिलो चरणबाट तेस्रो भएर बाहिरिएपछि नागेन्द्रलाई सुशीलकुमारले समर्थन गरेका थिए ।  

यस्तै पर्सामा संस्थापन समूह र संस्थापनइतर समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । संस्थापन समूहका जनार्दनसिंह क्षत्री प्यानलसहित निर्वाचित भएका छन् । संस्थापन इतर पक्षका श्याम पटेललाई पराजित गरी उनी सभापति भएका थिए ।

काँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका सुनिल यादव (जितेन्द्र) विजयी भएका छन्। सुनिलले इतर पक्षका हृदय नारायण यादवलाई पराजित गरेका थिए ।​ पूर्वउपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइराला समूह एक ठाउँमा उभिएपनि संस्थापन पक्ष नै हाबी भएको छ । मधेस प्रदेशका सभापति तथा रौतहटका निर्वतमान सभापति कृष्ण यादव आफू पक्षीय नेतालाई जिल्ला सभापति बनाउन सफल भएका छन् ।

काँग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादव विजयी भएका छन् । इतर पक्षका राम सुन्दर चौधरीलाई पराजित गरी संस्थापन पक्षीय यादव पुनः जिल्ला सभापति बनेका छन् ।

चौधरीलाई पूर्व कोषाध्यक्ष सीता देवी यादव, नेता प्रदिप गिरी,  पदम नरायण चौधरी, गणेश मण्डल, मधेश प्रदेशका सांसद नरेश कुमार यादव लगायतका समर्थन थियो । तर केन्द्रीय सदस्य चित्रलेखा यादव लगायतका नेताको साथ भएपछि यादवले सहजै जित हात पारेको छन् ।

काँग्रेस धनुषाको सभापतिका लागि सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो चरणको निर्वाचनमा शेखर कोइराला समूहका दिनेश प्रसौला रिङआउट भएपछि देउवा पक्षीय  सन्तोष यादव र निधि समूहका जोगी पन्जियारबीच प्रतिस्पर्धा हुँदै छ ।

पहिलो चरणमा बढी मत पाएका पन्जियारलाई प्रसौलाको समर्थन छ । प्रसौलाको समर्थन पाएपछि पन्जियारले सभापचि जित्ने निश्चित जस्तै छ । सप्तरीमा बुधबार अधिवेशन भएपनि परिणाम आइसकेको छैन । सभापति पदमा संस्थापन पक्षबाट शत्रुधनप्रसाद यादव र इतर समूहबाट रामदेव साहबीच प्रतिस्पर्धा भएको छ ।

बारामा संस्थापन समूहकै दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापनबाट राजेश राय र शम्भुप्रसाद बुढाथोकी चुनावी मैदानमा छन् भने संस्थापनइतर समूहबाट रामानन्द यादव उम्मेदवार छन् । यादवलाई शेखर कोइराला र कृष्णप्रसाद सिटौला समूहको समर्थन छ । बुधबार भएको निर्वाचनमा मतगणना जारी छ ।

दुई जिल्लामा अधिवेशन हुन बाँकी

सर्लाहीमा संस्थान र इतर पक्षबीच प्रतिस्पर्धा हुँदैछ । संस्थानबाट लक्ष्मण राय र इतर समूहबाट सुरेन्द्र सिंह प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको अधिवेशन अनिश्चित समयका लागि स्थगित गरिएको  छ  ।

सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षले प्रेमध्वज लामालाई अगाडि सारेको छ । यस्तै संस्थापन इतरबाट इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ उम्मेदवार भनेका छन् । फागुन २७ र २८ गते हुने जिल्ला अधिवेशनमा लामा र तामाङबीच प्रतिस्पर्धा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप