बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पर्वतारोहण सङ्घको साधारणसभा चैत ९ मा

बिहीबार, २६ फागुन २०७८, १३ : ३४
बिहीबार, २६ फागुन २०७८

पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१ औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो । 

महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो । यसअघि गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ र घरवास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ । नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स (नाट्टा) को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ ।

सङ्घका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारणसभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिए  । संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उनको भनाइ छ । ‘बोर्ड बैठकले यही मार्चभित्रै निर्वाचन गर्ने भनेर छलफल गरियो तर विधानको केही धारा र दफामा समस्या रहेकाले विधान संशोधनका लागि साधारण सकेर जुनको पहिलो सातातिर निर्वाचन गर्नेगरी तयारीमा जुटेका छौ’, उनले भने ।

सङ्घको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

आसन्न वसन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेर फर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने सङ्घको योजना छ । संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन । सङ्घको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ । उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप