सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

छोरीमा आफ्नो भविष्य देख्न सक्नु पर्छ

बिहीबार, २६ फागुन २०७८, ११ : ५५
बिहीबार, २६ फागुन २०७८

केही समय अघि काठमाडौंका एक पैसावाल महोदयले आफ्नी आमालाई उपचार गर्न लान्छु भनी ढाँटेर गाडीमा चढाए र नजिकैको बृद्धाश्रममा लगेर छाडेर हिँडे । छोरो केही समय पछि लिन आउला भन्ठानेर आमा बसिन् तर छोरो अहिले आउँछ छैन, भरे आउँछ छैन । छोरो आएन । ओठ कलेटी परे । चाउरी परेको अनुहारको छालामा आँखाबाट झरेका आँसुका भेलले सबै अनुहार भिजिसके । तर छोरो फर्किएर लिन आएन ।

बृद्ध आमालाई उक्त बृद्धाश्रममा खान बस्न त दिइयो तर त्यहाँ आफ्नो छोरो छैन । सास हुन्जेल आश हुन्छ भनेझैं अझै पनि छोरो लिन आउने आशमा उनी छिन् । तर छोरोले वर्ष दिन हुँदासम्म लिन आएन । आउँछ पनि कसरी, लिन आउने भए त छाडेर नै जाने थिएन । आज पनि आमाका आँखामा आशु ओभाएका छैनन्  । छोराले आमालाई धोका दिए । अपमान गरे, बेइज्जत गरे । आमाको दूधको ऋण समेत भुले । बूढी भएकी आमालाई एक छोराले गर्नुपर्ने सामान्य कर्तब्यसम्म ती व्यक्तिले पूरा गरेनन् ।

त्यस्तै, झापामा एक विधवा बृद्ध आमा दुई छोरा र छ छोरीकी धनी । कान्छोे छोरो बुहारीसँग बस्दै आएकोमा एक दिन छोराकोे सडक दुर्घटनामा मृत्यु भयो । अव बृद्ध आमालाई राम्रो र रोजेर बसेको छोरो मरिहाल्यो । आमालाई आपत आइलाग्यो ।  बृद्ध आमाको सहारा नै सकिएजस्तो भयो । कान्छी बुहारीले पहिलैदेखि नै त्यति राम्रो व्यवहार नगर्ने त्यसमाथि श्रीमान् मरेपछि बुहारीले सासुलाई धेरै नै नराम्रो व्यवहार गर्न थालिन् ।

आमालाई बुहारीको व्यवहार असह्य भयो र सहन नसकेर जेठो  छोरा बुहारीकोमा पेसुवा लाग्नु जानु भयो । तर आमालाई त्यहाँ पनि आशा गरे अनुसारको व्यवहार भएन । जेठी बुहारीले सासुलाई टिप्पा खेलाई, बसी खान दिइन । छातीले थाम्न नसक्ने बचन लगाई भनेर आमाले बिलौना गर्न थाल्नु भो । गाउँभर यो कुरा फैलियो । आमाको यो दुर्दशा छोरीहरुले चाल पाए र आमालाइ छ वटी छोरीहरुले बर्षमा दुई महिनाको दरले पालन पोषण गर्ने गरी उद्धार गरेर लगे । अहिले आमा दुई महिनाको दरले छोरीहरुकोमा मुख फेरी फेरी मीठो मसिनु खाएर सुखसँग आफ्नो बाँकी जीवन विताई रहनु भएको छ ।

उल्लेखित दुई परिघटना यो समाजको प्रतिनिधि घटना हुन् । यस्ता घटना यो समाजमा अझ धेरै छन् । यो नै हाम्रो समाजको अहिलेको यथार्थ प्रवृत्ति र चरित्र हो । संसारमा सवै बस्तु र चिजको मूल्य हुन्छ तर आमाबाबु अमूल्य हुन्छन् । सन्तानको लागि भगवान् भन्नु नै उसका आमा बाबु हुन् । एक छोरो जो विवाह नहुन्जेल प्रायः आमा बुबासँग नराम्रो व्यवहार गर्दैन र गरिहाले पनि आमा बाबुले माइन्ड गर्दैनन् । तर उही छोरो जो विवाहपछि विवाह अघिकै जस्तो समान व्यवहार आमाबाबुलाई गर्छ भने अब त्यहाँ पारिवारिक दुर्घटना निम्तिने खतरा हुन्छ ।

पूर्वीय दर्शनको स्कूलिङ नै छोराले आमाबाबु पाल्नुपर्ने भन्ने छ । विकसित देशमा जस्तो यहाँ वृद्धाश्रमको उचित प्रवन्ध र व्यवस्था पनि छैन । तर अहिले समय बदलिदै आएको छ । कति छोरीहरुले आमाबाबुलाई राम्रोसँग पालनपोषण गरेका छन् । अहिलेका ज्वाँइहरु पनि सासु ससुरा पाल्ने र हेरचाह गर्ने कुरामा नरम नै भएको देख्न सकिन्छ । छोरीसँग बसेका आमाबाबु बुहारीसँग बसेको भन्दा खुसी देखिन्छन् । छोरा र छोरीको विभेद घट्दै गएर क्रमशः छोरीहरुले आमा बाबुलाई आफैसँग राख्ने परिपाटीको विकास हुन थालेको छ । जसमा महिलाहरुको शिक्षा, रोजगार आदिले सहयोग गरेको छ । यो खुसीको कुरा हो । 

छोरी आमा बाबुसँग आत्मिक र भावनात्मक रुपमा जति मिल्न सक्छिन्, त्यति बुहारी सासु ससुरासँग मिल्न सक्दिनन् । बुहारी त परिवारको आगन्तुक सदस्य हो । परिवारमा ‘एडप्सन र मोडिफिकेसन’ हुन पनि समय लाग्छ । छोराको नाताले बुहारीसँग जोडिएको सम्वन्ध भन्दा रगतको नाताले छोरीसँगको प्राकृतिक रुपमा हुने सम्वन्ध प्रगाढ र निस्वार्थी हुने गर्छ । त्यसैले परिवारमा बुहारी र सासु ससुराको सम्वन्ध प्रेममय हुन सक्दैन । बुहारी सासु ससुरासँग नमिल्नु वा मिल्न नसक्नु पनि अस्वाभाविक होइन । ‘जेनेरेशन ग्याप’, इच्छा, चाहना, रुचि र उमेर आदिले गर्दा पनि यस्तो हुन्छ ।

समाजले पनि बुहारी र सासुको सम्बन्धलाई आदिम कालदेखि नै समस्याग्रस्त सम्वन्धका रुपमा अगाडि बढाउदै ल्यायो । सासु र बुहारीको सम्वन्धमा विभिन्न पक्षबाट कहिल्यै हार्दिकता हुन दिइएन । यो सम्बन्धको सामाजिकीकरणमा नै खोट छ । सासुले बुहारीलाई छोरी जस्तो र बुहारीले सासुलाई आमा जस्तो मान्न नसक्नु दुवै समस्या हो । परिणामतः समाज आफ्नु कर्तब्यबाट च्युत भइरहेको छ । अरुको मात्र दोष देख्ने, आफू दूधले नुहाएको जस्तो गर्नाले परिवारमा पनि जटिलता बढिरहेका छन् ।

     बृद्धबृद्धा डाँडाका जुन घाम हुन् । अस्ताउने टुङ्गो हुँदैन । उनीहरुलाई धेरै स्याहारको जरुरी हुन्छ । धेरै बृद्धबृद्धाको जीवन समस्याग्रस्त छ । परिवारको साथै राज्यले समेत बृद्धबृद्धालाई सम्मानजनक व्यवहार गर्न सकेको छैन । ‘मान्छे बूढो भए निहँु खोज्छ, भैंसी बूढो भए भिर खोज्छ’ भने झै बृद्ध आमाबाबु पनि चाहिने नचाहिने कुरामा निहुँ खोज्ने, झगडा गर्ने गरेको देखिन्छ । अरुले आफूलाई कस्तो गर्छ भन्ने कुरा आफूले अरुलाई गर्ने व्यवहारले निर्देशित गर्छ । राम्रो व्यवहारको बाबजुद पनि छोरा बुहारीलाई नै गलत भनी चित्रण गर्ने गरेको देखिन्छ । छोरा बुहारीको दृष्टिबाट हेर्दा जति राम्रो गरे नि नहुने भन्ने परिरहेको छ । ‘सँगै सुतेपछि लात्ती लाग्छ’ भनेझैं परिवारमा कहिलेकाहीँ झैझगडा हुनु सामान्य कुरा हो । त्यसलाई समायोजन र व्यवस्थापन गरेर अगाडि बढ्न नसक्दा पारिवारिक विग्रह देखिन्छ । 

छोरीसँगको आमा बाबुको सम्वन्ध प्राकृतिक सम्वन्ध हो । यो सम्वन्धको जग नै मजबुत हुन्छ । छोरा सरह छोरी पनि हुन्छन् भन्ने कुरा आमाबाबुले बुझ्नु पर्छ । छोरा र बुहारीसँग समायोजन हुन नसकेमा आमाबाबु छोरी र ज्वाँइसँग बस्नुु पर्छ । मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अंशको व्यवस्था गरेको छ । यस्तो अवस्थामा यदि आमाबाबु छोरीसँग बस्ने चाहना राख्छन् भने छोरीले पालनपोषण गर्नुपर्छ । आमाबाबुको अंश खाएपछि उहाँहरुप्रतिको कर्तब्य पनि पुरा गर्नुपर्छ ।  

     सकेसम्म त राज्यले बृद्धबृद्धालाई गतिलो आश्रम नै बनाएर जीवन विताउने व्यवस्था गर्नुपर्छ । छोरा बुहारी, छोरी ज्वाँइसँग आश्रित हुनु भन्दा स्वतन्त्र रुपमा जीवनको उत्तराद्र्ध व्यतित गर्नु नै बृद्धबृद्धाको लागि श्रेयस्कर हुन्छ । आमाबाबुले आफ्नो अनुकूलताअनुसार बस्ने छनौट गर्नुपर्छ । कतिपयको त छोरा बुहारीले पनि धेरै राम्रो गरेका छन् । तर पछिल्लो समयको अभ्यासले यो देखाइरहेको छ कि छोराभन्दा छोरीले आमाबाबुलाई माया ममताका साथ सेवा गर्ने गरेको देखिएको छ । छोरीले पक्कै पनि बढी स्नेह, ‘टेक केयर’ गर्छन् भन्ने कुरामा कसैको विमति नहोला ।

अव बिस्तारै छोराले भन्दा छोरीले आमाबाबुको पालनपोषण गर्ने परिपाटीको विकास गर्नुपर्छ । झट्ट सुन्दा कतिपयलाई यो अपाच्य पनि हुन सक्छ । तर यो कुरालाई बस्तुनिष्ठ भएर समाजका अगुवाहरुले साथ दिन जरुरी छ । आमाबाबुले छोरामा मात्र सपना देखेर हुँदैन, छोरीमा नि आफ्नो भविष्य दखेर भरोसा गर्न सक्नुपर्छ । जस्तो छोरा हो, त्यस्तै छोरी हो भन्ने सोच्नु पर्छ । समाजले जे सुकै भनोस्, त्यसलाई वास्ता गर्नु हुँदैन । समाजको क्रुरतालाई चिरेर सवै अगाडि बढ्न सके बाबुआमा, छोरा बुहारी लगायत परिवारको सवै सदस्यका बीचमा सौहार्द सम्वन्ध बन्न सक्छ भने बृद्धबृद्धाको अन्तिम श्वास पनि सन्तोषले जान सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन दाहाल
सुजन दाहाल
लेखकबाट थप