सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सहरमा पहाडको ताजा तरकारीको खोजी

बिहीबार, २६ फागुन २०७८, ११ : ४६
बिहीबार, २६ फागुन २०७८

गौरीफन्टाको डोकेबजारमा एकजना ठेलावाल फलफूल बेच्दै थिए । आफ्नै होटलअगाडि सानो ठेला राखेर फलफूल बेच्ने तराई मूलका व्यापारीलाई देखेर साहुजीकी छोरी मेरो मुख हेरेर मुसुक्कै हाँसिन् । म पनि ‘उता हजुर मुसुक्कै यता यो ज्यान भुसुक्कै’ भनेझैँ उनलाई हेरेर मुस्कुराएँ ।

उनको होटलमा म नयाँ ग्राहक भएकाले हामीबीच चिनजान थिएन । तर पनि एकअर्कालाई हेरेर मुसुक्कै हाँस्नुको कारण थियो, ठेलामा तरकारी बेच्ने व्यापारीको गफ ।

सडक किनारमा रोकिरहेको गाडीमा अडेस लागेर ठेला नजिकै म उभिएको थिएँ । उनी मोबाइल चलाइरहेकी थिन् । गाडीको ट्यार ट्यार हल्लाका बीच एक टमाटर व्यापारी ठेला लिएर आए । उनको ठेलामा लगभग निख्रिएका टमाटर थिए । ती पनि टाढैबाट हेर्दा विषादीयुक्त हो भनेर चिनिने खालका थिए । साह्रै बिग्रिएका र ससाना दाना भएकाले पनि किन्न मन नलाग्ने थिए । चाम्रिएर बिग्रिएका  ती टमाटर बेच्न ऊ जोडजोडले ‘आयो हजुर पहाडी टमाटर आयो’ भन्दै कराउँदै थियो । त्यही हल्ला सुनेर हामी मुस्कुराएका थियौँ ।

उनी केही बोलिनन् । तर मैले त्यो व्यापारीले सुन्ने गरी पहाडको नाम बेचेर तरकारी बेच्ने, तिमी त बाठो रहेछौ, कुहिएको टमाटर पनि पहाडी पो भन्छौ भनेँ । अनि उनले थपिन् ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन,’ त्यतिकै भनेका हैन रहेछन् । आजकाल त बाहिरबाट आएर तरकारी बेच्नेहरूले पनि सहरका मान्छेले पहाडका फलफूल तथा तरकारी किन्छन् भनेर बुझिसके । मैले पनि सही थपेँ ।

केही दिनअघि डडेल्धुरा गएको थिएँ । त्यही बेला महेन्द्रनगर बस्ने साथीले फोन गरे । उनले फर्किने बेला पहाडमा पाइने फलफूल तरकारी के के पाइन्छन् ल्याउनू, पैसा छैन भने पठाइदिन्छु भने । फर्किने बेला खानीडाँडाबाट चुक पनि ल्याइदिएँ ।

महेन्द्रनगर बजारमा तरकारी किन्नेहरू सबैले हिजोआज पहाडमा उत्पादन भएका मूला, काँक्रो, काउली, बन्दा, टमाटर, खुर्सानी, करेला खोजिरहेका देख्छु । कहिलेकाहीँ साथीहरूले काँक्रो खाऊँ भनेर कसैलाई किन्न पठाउँदा पहाडी नै ल्याउनु भन्छन् । पहाडी भनेपछि सबै अर्गानिक हुन्छ भनेर किन्न दौडिन्छन् । यो देखेर पहाडका उत्पादन त ओखती नै हो कि जस्तो लाग्छ ।

तराई तथा सहर छेउछाउ उत्पादन गर्ने फलफूल, तरकारी उत्पादन गर्दा धेरैजसोमा विषादी प्रयोग गरेको पाइन्छ । विषादीयुक्त मल, बीउ, कीटनाशक औषधि, भण्डारण गर्दा विषादी राखेर अन्न तथा तरकारी उत्पादन गरिएको हुन्छ । तर पहाडमा विषादीबिना विशुद्ध प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएको हुन्छ । जैविक मलको प्रयोग गरिएको हुन्छ । यसैले पनि पहाडी उत्पादन गुणस्तरीय र स्वस्थ्यवद्र्धक मानिन्छ ।

अचेल सहरतिर बेच्न लैजाने उत्पादनमा विषादीको अत्यधिक प्रयोग गरिएको पाइन्छ ।  सानो लौका बोटबाट चुँडेर इन्जेक्सन लगाएर बेचिन्छ । बेलुका फ्रिजमा हालेको त्यो लौका बढेर बिहान ढोका नै नलाग्ने भएको हुन्छ भन्छन् ।

पछिल्लो समय भारतबाट विषादीयुक्त केरा आयात हुने गरेको छ । यसले स्वास्थमा असर पार्ने हुनाले रोक्नुपर्ने माग केही समय पहिले विद्यार्थी नेताहरूले राखेका थिए । उनीहरूले गड्डाचौकी क्वारेन्टिनबाट केरा तथा तरकारी भित्रिन लागेका ट्रकहरू नै रोकेको समाचार पनि आएको थियो । विचौलिया, व्यापारी र किसानहरूले विषादी प्रयोग गरेर छोटो समयमै ठूलो परिणाममा उत्पादन गर्ने र टन्नै कमाउने धन्दा गरिहको भेटिन्छ ।

पछिल्लो समय गाउँ छोडेर सहर तथा पहाड छोडेर सहरमा बसाइँ सर्ने क्रम दिन प्रतिदिन बढिरहेको छ । तर सहरमा गाउँको जस्तो ताजा र स्वच्छ उत्पादन पाइँदैन । पहाड तथा गाउँमा पाइने अर्गानिक टेस्टयुक्त फलफूल सहरमा पाइँदैन । यसर्थ पहाडबाट ल्याइएका सामग्री देखेपछि उपभोग गरिहाल्न मन लाग्दो रहेछ ।

बजारमा देखिएका तरकारी तथा फलफूल हेर्दा सफा र चिटिक्क देखिन्छ तर त्यसमा प्रायः विषादी प्रयोग भएको हुन्छ । बजारमा बिक्री गर्न राखिएका उत्पादन चाम्रिसक्ने बेला भइसकेको हुन्छ । तर फ्रेस राख्ने औषधि प्रयोग गरेर स्वच्छ र सफा ताजाझैँ देखिन्छ । जबकि त्यसमा पाइने स्वाद, पौष्टिक तत्त्व र रसायन समाप्त भइसकेको हुन्छ ।

हिजोआज गाउँमा उत्पादन घट्दै गइरहेको छ । युवाहरू सहरमा छन्, विदेशमा छन् । गाउँ तथा पहाडमा खेतीयोग्य जमिन बाँझो बन्दै गइरहेको छ । एकातिर उत्पादन घट्दै गइरहेको छ भने अर्कोतिर खाने मुख थपिँदै गएका छन् । भएका खेतबारी बाँझिदै गएका छन् । मान्छेहरू कृषि पेसाबाट विमुख हुँदैछन् । कृषिलाई हेलाको पेसाका रूपमा लिन थालिएको छ । तर हामी भने सहरमै बस्ने अनि पहाडको उत्पादन खोजिरहेका छौँ । केही काम नपाए मात्र वैकल्पिक पेसाका रूपमा कृषि पेशा अपनाइरहेका छौँ । काम गर्नुपर्ने, पाखुरा चलाउनुपर्ने युवा खाडी र सहरमा पसेपछि, बसाइँ सर्न थालेपछि उत्पादन र पहाडको मौलिकता हराउँछ । यस पक्षमा एक पटक सोच्नुपर्ने बेला  आएको छ ।

अझै पनि तराई सहरवासीको मूल थलो पहाड नै हो । हामी कोही नयाँ व्यक्तिसँग परिचय गर्दा तपाईंको पहाड घर कता हो भनेर सोध्ने गर्छौं । सहरमा बस्ने मान्छेलाई पहाडकै डायस्पोराले सताउने गरेको छ । तर पनि सबै कुरा पहाडमै छोडेर सहरिया बन्न त हामी नसक्ने रहेछौँ । सहरीया बने पनि गाउँको कुनै कुरा भुल्न नसक्ने रहेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप