आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बारामा काँग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने

बिहीबार, २६ फागुन २०७८, १० : ००
बिहीबार, २६ फागुन २०७८

नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन् ।

काँग्रेसको विधानमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्छ । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप्त गरेर रामानन्द यादव तेश्रो स्थानमा रहे ।

दोस्रो चरणमा राजेश राय यादव र शम्भुबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै संस्थापन पक्षका उम्मेदवार हुन् । राजेश रायले बारा निर्वाचन क्षेत्र नं. १ बाट ६६, क्षेत्र नं. २ बाट ३ सय ४५, क्षेत्र नं. ३ बाट एक सय ९१ र क्षेत्र नं. ४ बाट २ सय ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी बुढाथोकीले निर्वाचन क्षेत्र नं. १ बाट ३ सय २१, क्षेत्र नं. २ बाट एक सय ९०, क्षेत्र नं. ३ बाट एक सय ५४ र क्षेत्र नं. ४ बाट एक सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी रामानन्दले निर्वाचन क्षेत्र नं. १ बाट २ सय ३२, क्षेत्र नं. २ बाट एक सय २६, क्षेत्र नं. ३ बाट २ सय ३२ र क्षेत्र नं. ४ बाट एक सय १८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. १ मा खसेको ६ सय २७ मत मध्ये ५ वटा मत बदर भएको भएको छ भने २० जनाले मतदान गरेनन् । यसैगरी क्षेत्र नं. २ मा खसेको ६ सय ७४ मत मध्ये ४ वटा मत बदर भएको छ भने २४ जना मतदाताले मतदान लिएनन् ।

क्षेत्र नं. ३ मा खसेको ५ सय ९४  मत मध्ये १५ वटा मत बदर भएको छ भने १२ जना मतदाताले मतदान गर्न आएनन् । यसैगरी क्षेत्र नं. ४ मा खसेको ५ सय ५ मत मध्ये ७ वटा मत बदर भएको छ भने २५ जना मतदाताले मतदान गर्न नआएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

उनका अनुसार चारवटै निर्वाचन क्षेत्रबाट गरी कुल २ हजार ४ सय ८१ मत मध्ये २ हजार ४ सय मत खसेको थियो । सभापतिका लागि त्रिपक्षीय भिडन्तमा संस्थापन पक्षका दुई उम्मेदवार राजेश राय यादव र शम्भु बुढाथोकी तथा कृष्ण प्रसाद सिटौला पक्षका उम्मेदवार रामानन्द प्रसाद यादवले बुधवार आ आफ्नो प्यानल बनाएर मत मागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप