सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायती सेनाका लेफ्टिनेन्ट जनरलद्वारा नेपाली सेनाको प्रशंसा

बिहीबार, २६ फागुन २०७८, ०७ : १९
बिहीबार, २६ फागुन २०७८

लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित ‘नेपाली सेना दिवस २०२२’ मा  बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डल (ओबीइ) ले  नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । समारोहका  प्रमुख अतिथि वार्डलले नेपाली सेनाले आफ्नो देशभित्र मात्र नभइ अन्तरराष्ट्रिय स्तरमा समेत ठूलो प्रतिष्ठा कमाउन सफल भएको बताए । संयुक्त राष्ट्रसंघको शान्तिसेनामा सहभागिताका हिसाबले नेपाली सेना संसारकै दोस्रो स्थानमा रहेको धारणा व्यक्त गरे । बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्ध र गोर्खाहरुको नाताका कारण बेलायती सेना र नेपाली सेना अझ निकट रहेको पनि उनले बताए ।

बेलायत सरकार तथा बेलायती सेनाका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ, सैन्य अधिकारी, बेलायती गोर्खा सैनिकहरु र नेपाली समुदायका प्रतिनिधि समेतको सहभागितामा सेना दिवस मनाइएको हो ।

समारोहका विशेष अतिथि बेलायतका पूर्व रक्षा राज्यमन्त्री लर्ड मार्क लांकास्टरले बेलायती र नेपाली सेनाबीचको सहकार्य र सम्बन्धलाई आगामी दिनमा अझै व्यापक बनाउँदै लैजान बेलायत प्रतिवद्ध रहेको जनाए ।  

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबीचको ऐतिहासिक कूटनीतिक मित्रतामा दुई देशको निकट सैन्य सम्बन्धले समेत विशेष भूमिका निर्वाह गरेको बताए ।

समारोहमा स्वागत मन्तव्य दिंदै मिलिटरी अट्याची कर्णेल रत्नबहादुर गोदारले नेपाली सेना इतिहासदेखि नै जस्तोसुकै परिस्थितिमा पनि नेपालको शान्ति, समृद्धि र स्थिरताको पक्षमा पहरेदारको रुपमा उभिँदै आएको बताए ।  

नेपाली सेना शान्ति सुरक्षाका साथै देशभित्र दैवी प्रकोपमा राहत तथा उद्धार, राष्ट्र निर्माणका विभिन्न कार्यहरुदेखि संयुक्त राष्ट्र संघको मिसनमार्फत विश्व शान्तिका लागिसम्म खटिंदै आएको उनले सुनाए ।  

त्यस अवसरमा नेपाली सेना दिवसको खुसीयालीमा प्रमुख अतिथि, विशेष अतिथि, राजदूत र मिलिटरी एट्याचीबाट संयुक्त रुपमा केक समेत काटिएको थियो । समारोहको सञ्चालन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।  विगतमा दूतावासले मनाउँदै आएको सेना दिवस कोरोना महामारीका कारण निरन्तरता हुन सकेको थिएन  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप