शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेस अधिवेशन : दोस्रो चरणमा निधि पक्षलाई कोइराला समूहको समर्थन

बिहीबार, २६ फागुन २०७८, ०७ : १५
बिहीबार, २६ फागुन २०७८

नेपाली काँग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेको छ । पहिलो चरणमा चुनावी प्रतिस्पर्धामा तेस्रो भएका कोइराला समूहका सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई ​समर्थन गरेका हुन् ।

काँग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनअघि सर्वसम्मति गराउने प्रयास विफल भएपछि प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गरेका छन् ।

पूर्व उपसभापति निधिको निवासमा भएको छलफलपछि प्रसैलाले पजियारलाई समर्थन गरेका थिए । निधिले आफ्नो उम्मेदवारका लागि दौडधूप शुरु गरेपछि कोइराला समूह समर्थनका लागि तयार भएको हो । निधिसँग दुई कोइराला समूहबाट पूर्वमन्त्री रामकृष्ण यादव, डा. चन्द्रमोहन यादव, सभापति पदका उम्मेदवार प्रसैला लगायतका नेताहरुले छलफल गरेका थिए ।

यता देउवा समूहले पनि कोइराला समूहका उम्मेदवार प्रसैलालाई फकाउने प्रयास गरेको थियो । तर देउवा समूहसँग सहमति नजुटेपछि निधि समूहलाई समर्थ गर्ने निर्णय गरिएको बुझिएको छ । रामकृष्ण यादवले पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याएका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने ‘हामीले सर्वसम्मति गराउने प्रयास गरेकै हो तर सर्वसम्मति हुन सकेन । सहमति नजुटेपछि सबैभन्दा बढी मत ल्याएका उम्मेदवारलाई समर्थन गर्नु हामीलाई उचित लाग्यो ।’

निधिले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा दिनेश प्रसैलाले आफ्ना उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन्।  उनले निर्वाचन पश्चात जिल्लाको दीर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य र सहमतिमार्फत नै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मंगलबार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार पुनः निर्वाचन हुन लागेको हो । सोमबार भएको निर्वाचनमा कुल ३ हजार १ सय ७३ मतदाता रहेकोमा २ हजार ९ सय १२ जनाले मत खसाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप