आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अब डिजिटल माध्यमबाट २ अर्ब रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने

बुधबार, २५ फागुन २०७८, २२ : ०५
बुधबार, २५ फागुन २०७८

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।

विभिन्न सरकारी निकाय तथा बैंक/वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कारोबार सीमा वृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरूले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत ‘वन–अस’मा २ अर्बसम्म, कर्पोरेटपेमार्फत पब्लिक नेटवर्कबाट ‘वन–अस’मा १ करोड र प्राइभेट नेटवर्कबाट ‘वन–अस’मा ५ करोड रुपैयाँसम्म गर्नसक्ने भएका हुन्‌ ।

वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ । पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोड रुपैयाँसम्म र रियल टाइम भुक्तानी २० लाख रुपैयाँसम्म नै लागू हुने क्लियरिङ हाउसले जानकारी दिएको छ ।

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवापुग्ने अपेक्षा राखिएको हाउसले जनाएको छ । विशेषत: नेपाल सरकार अन्तरिक राजस्व र भन्सार विभागजस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरूका लागि यो सुविधा थप प्रभावकारी हुने बताइएको छ ।

एनसीएचएलले हाल कनेक्ट आइपीएस, कर्पोरेटपे, बैंक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्‌ तथा विभिन्न मोबाइल वालेटमार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फागुन महिनाको मध्यसम्म एनसीएचएलमार्फत ३४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप