आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ फाइनलमा

बुधबार, २५ फागुन २०७८, २० : ३९
बुधबार, २५ फागुन २०७८

‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे ।  विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके ।

पेनाल्टी अघि खेलको २८ औँ मिनेटमा शिशिर लेखीले हेडरमार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ८० औँ मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

अब उपाधिका लागि मनाङले फागुन २८ गते बागमती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेता टोलीले रु १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद रु २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले रु १० हजार प्राप्त गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप