चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा ३० गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैँडा मरेका छन् । आवको आठ महिना पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा ती गैँडा मरेका हुन् । गत आव २०७७/७८ मा ३३ वटा गैँडा मरेका थिए । त्यसअघि आव २०७६/७७ मा २६ गैँडा मरेका थिए । यस आवको माघ र फागुनमा मात्रै ११ वटा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनकाअनुसार खोलाले बगाएर र दलदलमा भासिएर आठ, आपसमा जुधेर आठ, प्राकृतिक कारणले ६, बाघको आक्रमणबाट पाँच, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीले एउटा गैँडा मरेका हुन् । साउन ११ गते लिङ्ग पहिचान हुन नसकेको एउटा गैँडा माडीको घाँघर क्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गैँडाको खाग काटिएको थियो । उक्त गैँडा चोरी सिकारीले मारेको तिवारी बताउँछन् ।
त्यसैगरी, असोज ११ गते धोबाहा क्षेत्रमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला पर्यो । त्यसको पनि खाग चोरी गरिएको थियो । दुई वटा गैँडाको चोरी सिकारीमा संलग्न पाँच प्रतिवादीमध्ये दुई जनालाई पक्राउ गरिएको र अझै तीन जना फरार रहेको उनले बताए । माघ र फागुनबाट बाघको आक्रमणबाट चार गैँडाको मृत्यु भएको हो । बाघमारा पोस्टको काभ्रे ताल र खेरियामुहान क्षेत्रमा लिङ्ग पहिचान नभएका दुई गैँडा बाघको आक्रमणबाट मरे । सौराहा र सिसुवार मध्यवर्ती क्षेत्रमा करिब चार/चार महिनाका दुई पोथी गैँडा मरेका हुन् ।
त्यसअघि मंसिर ४ गते घटगाई क्षेत्रमा बाघको आक्रमणबाट डेढ वर्षको भाले गैँडा मरेको थियो । आपसमा जुधेर आठ गैँडाको मृत्यु भएको अनुमान गरिएको तिवारी बताउँछन् । सौराहा क्षेत्रको ठूलो घोल क्षेत्रमा साउन ७ गते आपसमा जुधेर करिब २२ वर्षको भाले गैँडा मर्यो । कात्तिक ६ गते नवलपुरको भुताहा मध्यवर्ती वनमा र कात्तिक ११ गते सौराहा क्षेत्रको २ नं मचाननेर एकरएक गैँडाको मृत्यु भएको थियो । त्यसपछि मंसिर ५ गते सौराहा क्षेत्रकै डुंगाघाटमा आपसमा जुधेर करिब २२ वर्षको पोथी गैँडा मर्‍यो ।
काभ्रे ताल क्षेत्रमा माघ १ गते भालेको आक्रमणबाट दुई वर्षको पोथी गैँडा मरेको थियो । माघ १२ गते सुरुङ खोला क्षेत्रमा एउटा भाले र फागुन ४ गते सिसुवार मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैंडा आपसमा जुधेर मरेको उनले बताए । फागुन १४ गते कुजौली पोस्ट नजिकै शुक्ला घोल क्षेत्रमा करिब २० वर्षको एउटा भाले गैँडा जुधेर मरेको थियो । पछिल्लो पटक फागुन १९ गते नवलपुरको कृष्णसार मध्यवर्ती वन क्षेत्रमा करिब २८ वर्षको पोथी गैँडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।
चालु आवमा प्राकृतिक कारणले मात्रै १४ वटा गैँडा मरेको उनी बताउँछन् । ‘सिमसार क्षेत्र र दलदलमा भासिएर मर्ने गैँडाको संख्या पनि बढी छ’, उनी भन्छन्, ‘बाढीले बगाएर पनि बच्चा गैँडा मर्ने गर्छन् । चालु आवमा बाढीले बगाएर र बुढो भएर चार गैँडा मरेका छन् ।’ मानवीय लापरबाहीका कारण माघ ९ गते खाडलमा परेर करिब १२ वर्षको भाले गैँडा मरेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गतको वनदेवी वरण्डाभार मध्यवर्ती वन क्षेत्रको टिकौली जंगलनजिक सडक नालीको खाल्डोमा परेर गैँडा मरेको हो ।
उक्त गैँडा मरेको विषयमा छानबिन गर्नका लागि वन मन्त्रालयले समिति नै बनाएको थियो । समितिले गैँडा मर्नुमा निकुञ्ज प्रशासन, सडक डिभिजन र निर्माण व्यवसायी सबैको गल्ती रहेको औंल्याएको छ । घटनाको छुट्टै अनुसन्धानका लागि निकुञ्जले राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ । गैँडाको संरक्षणको लागि वासस्थान व्यवस्थापन नै प्रमुख चुनौतीका रूपमा रहेको तिवारी बताउँछन् । ‘गैँडा बाहिर गाउँवस्तीमा निस्कँदा गैँडा र मानवबीच द्वन्द्व सिर्जना हुने अवस्था छ । त्यसकारण गैँडालाई वन जंगलमै कसरी सिमित गर्ने भनेर अलिकति ध्यान दिन आवश्यक देखिन्छ’, उनले भने ।
गत वर्ष चैतमा सार्वजनिक विवरणअनुसार नेपालमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा छन् । गैँडाको संख्या बढ्दै जाँदा एक ठाउँमा जम्मा भएर आपसमा जुधेर गैँडा मर्ने गरेका निकुञ्ज बताउँछ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?