शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘गल्ती गरियो, अब सप्रिने प्रक्रियातिर छौँ’

प्रचण्डले एमसीसीका विषयमा जुन आँट गर्नुभयो, त्यही नै हो वैचारिक स्पष्टता : हरिबोल गजुरेल
बुधबार, २५ फागुन २०७८

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले समेत पार्टीका महत्वपूर्ण सांगठनिक संरचनालाई पूर्णता दिन सकेन । १५ सदस्यीय पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटव्यूरो गठन जस्ता महत्वपूर्ण पार्टी संरचना निर्माणमा चुकेको माओवादीले एमसीसीबारे पार्टीमा देखिएको विवादलाई पनि निर्मुल पार्न सकेन ।

तर बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सफल रुपमा सम्पन्न भएको दावी भने गर्न छुटाएनन् । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री समेत रहेका हरिबोल गजुरेल माओवादी पार्टी सर्वहाराको वर्गको पार्टी, मजदुर किसानको पार्टी भन्छौं । तर, थपिएको केन्द्रीय समितिमा मजदुरबाटै कोही नपरेकोमा एउटा गम्भीर प्रश्न उब्जाएको जिकिर गर्छन् । यही सन्दर्भमा प्रस्तुत छ, गजुरेलसँग रातोपाटीका लागि मनोज न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

मिति तोक्दै, सर्दै गरेर बसेको पार्टीको केन्द्रीय समिति बैठकले ठोस रुपमा कस्ता कस्ता निर्णय गर्‍यो?

बैठकको मिति सर्नुको कारण कोभिड हो । पछिल्लो समय एमसीसीको विषय पनि जटिल भयो र त्यसले पनि अलि जटिल बनाउँदै गयो, त्यसले पनि ढिलो भएको हो । महाधिवेशनपछि तुरुन्तै बैठक राखेर सुरुमा पदाधिकारी चयन गर्नुपर्ने र त्यसपछि क्रमशः स्थायी, पोलिटब्युरोलाई निरन्तरन्तरता दिनुपर्ने हो । त्यो बेला हामी चुक्यौं । जे जस्तो भएपनि त्यहाँ हाम्रो कमजोरी भयो ।

तर, पछिल्लो समय हामीले  कमीकमजोरीलाई करेक्सन गरेका छौं । करेक्सनको अर्थ हामी पुनः सुल्टो बाटोबाट अघि बढ्दै छौं । सुरुको हाम्रो बाटो विग्रेको थियो तर, अब केन्द्रीय समितिलाई पूर्णता दिने, त्यसपछि पोलिटब्युरो, स्थायी र पदाधिकारीहरूको काम अघि बढाएका छौं । सम्पन्न बैठकमा हामीले केन्द्रीय समतिलाई पूर्णता दिनु नै ठूलो कुरा हो । ३ सय ४४ को केन्द्रीय समिति निर्माण गर्ने कुरा नै ठूलो हो । अब, ती केन्द्रीय सदस्यले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने अधिकार पाउने भए ।

अझ, हिजो पदाधिकारी चयन गर्न नसक्नुलाई पनि आज राम्रो भएछ भन्न सकिन्छ । किनकि, अब सबैजनाले मतदानमा सहभागी हुन उम्मेद्वार बन्ने अवसर पनि पाउने भए । यस हिसाबमा पनि हाम्रो बिग्रेको बाटोलाई सुल्ट्याएर अघि बढ्दैछौं ।

लामो गृहकार्य पछि पनि केन्द्रीय समितिलाई पूर्णता दिन नसक्नु भनेको नेतृत्वको असफलता होइन र ?

पूर्णता दिएको हो नि । पूर्णता दिएर नै अब कोही महासचिव हुन पाउने भए, कोही उपाध्यक्ष, कोषाध्यक्ष वा स्थायी समिति, पोलिटब्युरो बन्न पाउने भए नि त । यदि हामीले पहिले नै गरेको भए त यी ९७ जना त छुट्ने थिए नि । अब त ९७ जनाले पनि यो अधिकार पाउने भए । पछिल्लो प्रक्रियाले माओवादीले ठिकै गर्‍योभन्ने बनाएको छ । केन्द्रीय समितिलाई पूर्णता दिएर अन्य प्रक्रियामा अघि बढ्यो भन्ने सन्देश दिएको छ ।

प्रक्रिया सुरु भयो तर पूर्णता दिन चुकेको कुरा किन स्वीकार्नु हुन्न ?

यसलाई पूर्णता दिन नसक्ने भन्ने होइन ।  तर, स्थानीय तहको निर्वाचन ढेप्पिएर आएको हुनाले अब छलफल बहसलाई समय दिनुपर्ने भयो । पार्टीभित्रै निर्वाचन भयो भने पनि त्यसले समय त लिने नै भयो । सकभर सहमतिबाटै गरौं भन्ने हो ।

सहमतिबाटै किन भने हाम्रो ८ औं महाधिवेशनले केन्द्रीय समितिमा सहमति गर्यो, राजनीतिक प्रस्ताव पनि एक मतले पारित भयो । यद्यपि कतिपय साथीहरूले असहमति पनि राख्नुभयो । अब, हामीले पदाधिकारी बनाउँदा वा स्थायी कमिटी बनाउँदा पनि एक मतले नै बनाउनु पर्छ । पहिले तल्लो तहमा अहिले निर्वाचनमा नजाऔं, अवस्था पनि खराव छ भन्ने, प्रतिगमनविरुद्ध एकजुट भएर जानुपर्छ, निर्वाचन छ, अन्य कयौं मुद्दाहरू पनि छन् भनेर हललाई कन्ट्रोल गरियो । अहिले सहमतिमा जान अलिकति समय चाहिएको हो ।

अब, ठ्याक्कै भन्दा कहिले टुङ्गिएला त ?

हामीले अर्को बैठक चुनाव पछि गर्ने भनेका छौं । एमसीसीका बारेमा छलफल पनि चुनाव पछि नै हुन्छ । पदाधिकारी, स्थायी, पोलिटब्युरो पनि चुनाव पछि नै टुङ्गो लाग्छ ।

हालै प्रस्तुत गरिएको नाममा पनि विवाद देखियो । कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य प्रस्ताव गरिएको थियो ?

मापदण्ड त, समानुपातिक, समावेशी ‘अण्डर फोर्टी’, अग्रज कमरेडहरू, एकतामा आएकाहरूको आधार नै हो । अब, विवादको कुरा जे गरे पनि विवाद नै हुन्छ । यद्यपि त्यहाँ पनि केही ‘ब्लन्डर मिस्टेक’ भए । केही एकदमै अग्रज मान्छे, राम्रो भूमिका निर्वाह गरेर आएकाहरू, शान्तिपूर्ण हिसाबमा आफ्नो छवि बचाएर आएका मान्छेहरू जो छुट्नै नुहुने पनि छुटाइयो । त्यस्तै मजदुरतर्फ एउटा पनि परेनन् । त्यो कसरी छुट्यो ? हाम्रो पार्टी मजदुरको पार्टी, सर्वहाराको वर्गको पार्टी भन्छौं, मजदुर किसानको पार्टी भन्छौं । तर, मजदुरबाटै कोही परेन भनेपछि यो एउटा गम्भीर प्रश्न हो ।

नेतृत्वमाथि सधैँ आलोचना किन हुन्छ ?

हाम्रो अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनमा भनिसक्नु भएको छ कि, ‘वैचारिक, राजनीतिक अस्पष्टताले माओवादीभित्र समस्या, आए हामी कमजोर भयौं । त्यसको जिम्मा म लिन्छु र अरु साथीहरूले के कति जिम्मा लिनुहुन्छ । र, म  इतिहासका कमीकमजोरीलाई करेक्सन गर्छु र कार्यशैली, आचरण र जीवन शैली नै परिवर्तन गरेर जनतामाझ जान्छु ।’

यो विषय माओवादी भित्रको गम्भीर विषय पनि हो । हिजो माओवादीको ठूलो सम्मान थियो । जोसुकै माओवादी नेता आएपनि मान्छेले आदर्शका रुपमा हेर्थे । तर, अहिले माओवादीले यस्तो विषय गुमाइसकेको छ । अब माओवादी अर्कै दिशामा पुगिसकेको छ । अब नेताहरूलाई पद चाहिएको छ । भोलि पार्टी कमजोर भयो भने त पद नै नहोला कि भन्नेतर्फ ध्यान गयो ।

विचार राजनीतिमा हामी सवल भएर शक्तिशाली भएको भए माओवादी हुनु नै सम्मानको कुरा, गर्वको कुरा हुन्थ्यो । तर, त्यो नै स्थिति नरहँदा यो स्थितिमा आइपुगेको मलाई लाग्छ ।

खुल्ला परिवेशमा आई पुगेपछि बुर्जुवा परिपाटीमा सामन्ती संस्कारको चपेटामा परिसकेपछि पद र प्रतिष्ठा उनीहरूले हेर्ने गर्छन् । ठूलो नेता भयो भने एक ढंगले र सानो भयो भने अर्को ढंगले व्यवहार गर्ने गर्छन् । त्यस कारणले पनि पद नभएसम्म फरक व्यवहार गर्ने रहेछ है भन्ने भावले पनि हामी पदको लोभी भएका छौं । यसले पहिलेको माओवादीको साख लोप गराएको छ । जनयुद्धले दिलाएको ओझ कम हुँदै जाँदा पद प्रतिष्ठाका लालची बनाउँदै गयो र त्यसले सिंगो पार्टीमै असर पर्यो ।

नेताहरु पदको लोभी भएकै कारण महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारीमा पूर्णता दिन नसकेको भन्दा सही होला ?

मैले अघि पनि भने हाम्रो पार्टी अलिकति बिग्रिएकै छ । यो स्वीकार्य कुरा हो । अब, विग्रिएको पार्टीको एकाएक सबै कुरा राम्रो हुन्छ भन्ने त हुँदैन । आजको भोलि नै राम्रो खोजेर हुँदैन । एकै दिनका कारण माओवादी केन्द्र यस्तो भएको होइन । माओवादी एउटा प्रक्रियाबाटै बिग्रिएर आएको हो र अब सप्रिन पनि एउटा प्रक्रियाबाटै सप्रिने हो । जादु गरे जस्तो हुँदैन । त्यसैले अब सप्रिने प्रक्रियातिर छौं ।

अध्यक्ष प्रचण्डले बैचारिक अस्पष्टताका कारणले यो सबै भयो भनेर एमसीसीका विषयमा जुन आँट गरेर निर्णय गर्नुभयो, आँट गर्नुभयो, यसलाई जसरी हल गरेर अवतरण गराउनु भयो, त्यही नै हो बैचारिक स्पष्टता । प्रतिगमनका विरुद्धको संघर्षमा जसरी उहाँले सफलता हासिल गर्नुभयो, त्यही नै हो वैचारिक स्पष्टता । अब, अहिले केन्द्रीय समितिको बैठकमा सबै एकजुट भएर निर्वाचन केन्द्रीय भएर साथीहरू लाग्दै हुनुहुन्छ, त्यही नै हो बैचारिक स्पष्टता ।

त्यसैले हामी देखिने गरी परिवर्तन हुँदैछौं । रातारात माओवादी सच्चिन सक्दैन तर हामी प्रक्रियामा भने प्रवेश गरिसकेका छौं । शान्ति प्रक्रियामा आई सकेपछिको यो १०/१५ वर्षको अवधिमा हामी जे कुरामा अभ्यस्त भयौं, हामीलाई जे बानी भयो, त्यसलाई सच्याउन समय लाग्छ । त्यसैले गर्न नसकेको भनेर बुझ्नु भन्दा पनि हामी सच्चिदै अघि बढ्दैछौँ ।

अब, कुरा रह्यो माओवादीलाई पनि अन्य एमाले, काँग्रेसले आफू जस्तै बनाउन खोजिरहेका छन् । ‘माओवादीमा खोइ लोकतन्त्र, खोई जनवाद ? भनेर प्रश्न गरिरहेको छन् । तर, हामी त्यस्तो गर्न चाहदैनौं । अहिले माओवादीले एउटा नीति अघि सारेको छ । एउटा मूल्याङ्कन समिति र अर्को प्रत्यक्ष निर्वाचन । मूल्याङ्कन समितिमा ५०/६० प्रतिशत अंक राखिदिने र मतदाताको प्रत्यक्ष मतदानका लागि ५०/६० प्रतिशत अंक राखिदिने । यहाँ मूल्याङ्कन समितिमा केन्द्रीयता हुन्छ  र कार्यकर्ताको प्रत्यक्ष मतमा जनवाद हुन्छ । अब, यहाँ जनवाद र केन्द्रीयताको संयोजन हुन्छ । तर, जो पनि उठ्ने, जो पनि हुने भयो भने त्यहाँ केन्द्रीयता हुँदैन, त्यहाँ जो कोही पनि जितेर आउन सक्छ ।

अर्काेतर्फ हिजो हामीले गर्ने गरेको लिष्ट पढ्ने, सुन्ने अनि ताली बजाएर उठ्ने गर्दा त्यहाँ जनवाद भएन । त्यसैले हामीले दुइवटै कुरालाई जोडेर जनवादी केन्द्रीयताको ठोस अभ्यास गर्ने एउटा पद्धतिको विकास गर्दैछौं । यो अवधारणा हाम्रो विधानमा आएको छ । तर, यसलाई अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर यसलाई ठोस रुपमा अघि बढाउन भने बाँकी छ । यहाँ हामीलाई किन चुनाव नगर्या ? किन काम गर्न नसकेको भन्नेहरु छन् । तर, चुनाव गर्नेहरुको अवस्था चाँहि कस्तो छ, त्यो पनि हेरौं ।

चितवनमा एमालेले महाधिवेशन गर्दा दारुका कति वोत्तल सकिए, काँग्रेसको कति भयो ? होटलमा मान्छे कसरी बसे, कसरी काम गरियो, हामीले नदेखेको हो र ! अब के हामी पनि त्यस्तै चुनावतिर जानुपर्ने हो र ! उनीहरू हामीलाई त्यही पुर्याउन खोज्छन् तर हामीबाट त्यो हुँदैन । तथापि, केही चलेन, वाध्यात्मक अवस्था नै आयो भने हामी निर्वाचनमै भएपनि जान्छौं । त्यो भन्दा अघि हामी सहमतिकै प्रयासमा जान्छौं ।

तर माओवादीको केन्द्रीय कमिटी बैठक कर्मकाण्डी भयो भन्ने आरोप पनि छ नि ?

हेर्नुहोस् सबैले पहिले नै कुरा बुझ्दैनन् । दूरदर्शी हुने विषय सबैको एउटै हुदैन । दूरदर्शी हिसाबमा हेर्ने हो भने हाम्रो बैठक सानदार रुपमा सकियो । बैठकमा केही नाम प्रस्तुत गरेपछि विवाद भएको हो । तर, उच्च तहका नेताहरू बसेर निर्णय गर्यौं र एउटा वे–आउट निकालेर अघि बढ्यौं । समस्या सकियो, राम्रो वातावरणमा बैठक सम्पन्न भयो । अध्यक्षज्यूले अहिले ताली रोक्नुहोस् है भन्दा भन्दै पनि साथीहरूलाई ताली लगाउन हतार भयो । अध्यक्षज्यूले सबैलाई आफ्ना कुरा राख्न समय दिनुभयो । उहाँले हतार नगरी समस्या समाधान गर्यौं भनेपछि हाम्रो बैठक सानदार ढंगले सकियो ।

भनेपछि तपाईंहरूको पछिल्लो केन्द्रीय समिति बैठकमा आवश्यक सबै विषयमा पर्याप्त छलफल भयो हैन ?

पछिल्लो बैठक मात्र होइन कि हामी दुई/चार महिनाबाटै पर्याप्त छलफलमा छौं । अध्यक्ष प्रचण्डले हरेक बैठकमा हतारो गर्नु भएको छैन । उहाँको स्थायी समितिको बैठक, महाधिवेशन नै हेरौं, बैठक सकिएन भने भोलि बस्ने भनेर पर्याप्त छलफल गर्ने वातावरण तयार गर्न थाल्नु भएको छ । उहाँले पार्टीमा जनवाद स्थापित गर्नुपर्छ, कुरा सुन्नुपर्छ भन्ने कल्चरको विकास गर्दै जानु भएको छ । त्यसैले उहाँले जे प्रतिवद्धता जनाउनु भएको छ, त्यो गर्दै गएको म देख्छु । र, रुपान्तरणको दिशातिर उहाँ जानु भएको छ ।

पार्टीभित्र लम्बिदै गरेको विवाद छताछुल्ल हुने डरले जल्दाबल्दा विषयमा छलफल नगर्नु भएको हो कि ?

अहिले केही विषय बाहिर गए । साथीहरूले पार्टीमा निर्णय भएको विषयमा बाहिर जे गर्नुभयो, त्यसले झनै भ्रमित बनायो । ए ! नेताहरू नै यस्तो ? भन्ने सन्देश प्रवाह गर्‍यो। त्यसले हामीलाई घाटा पुर्यायो । तथापि, पार्टीमा जे कुरा उठाउनु भएको छ, त्यसलाई हामी सम्मान गर्छौ । कारण, यो बहस जरुरी छ ।

पार्टीका साथीहरूले बहस नउठाउनु भएको भए पनि कसैले त उठाउँथ्यो । नेपालको राष्ट्रियतालाई अब कसरी बुझ्ने भन्ने अब नयाँ अवधारणाको आवश्यक छ, बहस आवश्यक छ । हिजोको राष्ट्रियताको मान्यतामा रहेर त्यही ढाँचामा रहेर अहिलेको विश्वबजारमा हामी रहन सक्दैनौं । त्यसैले हामीले यो बहसलाई पार्टीमा टुङ्ग्याउन सक्थ्यौं तर, नयाँ अवधारणाको आवश्यकता छ । अझै ठूलो बहस गरेर नयाँ विषय जन्माऔं भनेर पछि धेकेलेका हौं । वास्तविक राष्ट्रवादको अवधारणाको जन्म आजको परिस्थितिमा जन्मिन्छ भन्ने मान्यता हो ।

तर, यहाँ एउटा राष्ट्रघाती चरित्र, अर्को मण्डले राष्ट्रवाद, अर्को नक्कली राष्ट्रवाद पनि छ । यस्ताले आज राष्ट्रवादी भनेको छ, भोलि गद्दारी गरेको, लम्पसारवादी बनेको छ, फेरि राष्ट्रवादी भनेको छ अनि जनतालाई भ्रममा पार्ने काम भइरहेको छ । चुच्चे नक्सामा सबै राष्ट्रवादी बनेर एक ठाउँमा आयौं । भनेपछि यहाँ राष्ट्रवादीका विभिन्न आयाम छन् ।

तपाईंको यो व्याख्याअनुसार माओवादीभित्र पनि एमसीसीका विषयमा यस्तै राष्ट्रवादी र लम्पसारवादीका कारण विवाद चुलिएको हो भनेर बुझ्न सकिन्छ ?

मैले पार्टी भित्रको होइन, पार्टी बाहिरको कुरा गरेको हुँ । र, भन्न खोजेको चाँहि, विश्वमै अहिले राष्ट्रियतालाई कसरी बुझ्ने, कसरी परिभाषित गर्ने बहस छ । त्यसैले अवधारणाको विकासका लागि साथीहरूले अहिले जे कुरा उठाइदिनु भएको छ, यो सकारात्मक छ ।

पार्टीभित्रको फरक मतमा चुनावपछि छलफल गर्ने भनेर समय किन तन्काइयो ?

एमसीसीका विषयमा कुरा उठाउनु हुने साथीहरूको कुरा फरक फरक छ । उहाँहरूले कुन हिसाबले कुरा गर्नुभयो, त्यसमा बहस गर्नुपर्छ । यो एजेण्डा उहाँहरूले उठाउनु भयो । अब, हामी व्यवस्थित ढंगले यसमाथि छलफल गर्छौं । यसले बैचारिक विकासको आधार खडा गरेको छ । हाम्रा लागि यो खुसीको कुरा हो ।

हामी चुनावसम्म जाँदा एमसीसी किन पास गरियो, के कारण छन् ? सबै कुरा प्रष्ट बनाएर जाने हो । माओवादी केन्द्रमा एमसीसीलाई जस्ताको त्यस्तै पास गराउने पक्षमा कोही थिएन । तर, अन्य दल त जस्ताको त्यस्तै पास गराउने पक्षमा थिए । नेकपा माओवादीले व्याख्यात्मक घोषणासहित पास गराएको छ नि । त्यसैले पार्टीभित्र एमसीसीको विरोध गर्ने र पास गराउने बीचको दूरी धेरै छैन ।

चुनावपछि एमसीसी विवादको विषय आफै मत्थर हुन सक्छ भनेर अध्यक्ष प्रचण्डले चलाखी गरे कि ?

बाहिरबाट त मान्छेले त्यही नै बुझिरहेका छन् । तर मैले बुझ्दा जसरी अध्यक्षले बैठकमा कुरा राख्नु भयो, अब चाँहि उहाँले दूरदर्शी भएर सोच्नु भएछ । यो त हाम्रा लागि ठूलो अवसरका रुपमा बुझेको छु । एमसीसीको विवाद हामीमाझ जसरी आयो, यो त ठूलो अवसर पो भयो त भन्ने हाम्रो बुझाइ छ । यसलाई त हामीले गर्व गर्नुपर्छ ।

पार्टीभित्र एमसीसीको विषयले उब्जाएको विवादलाई कसरी अवसर भनेर पुष्टि गर्नु हुन्छ ?

हाम्रो एउटा इतिहास छ कि फुन्टिवाङ बैठकमा माओवादी पार्टीमा गम्भीर बहस भयो, विवाद भयो, त्यसमा आरोप प्रत्यारोप भयो । बाबुराम भट्टराई रायमाझी पथमा हिँडे भन्ने भयो । लिवाङमा बाबुराम भट्टराईलाई कार्वाही भयो र हामीले त्यसलाई चुनवाङ बैठकमा पुर्यायो । जुन कुरा कति राम्रो थियो । त्यसैले अहिले लाग्छ, फुन्टिवाङ बैठक स्वाभाविक प्रक्रिया थियो । त्यसैले अहिले एमसीसीको बहस र विवादले जसरी हामी समाजवाद उन्मुख भइरहेका छौं । र, यस्तो बेलामा राष्ट्रियताको परिभाषा कसरी गर्ने भन्ने निष्कर्षमा पुग्न सक्छौं ।

त्यसैले जसले यो विषयको उठान गर्नु भएको छ, यसबाट हामी प्रफुल्ल छौं, उहाँहरूलाई धन्यवाद दिन चाहन्छौं । यसले राष्ट्रियताको सवालमा कोेशेढुङ्गा थप्ने कुरामा हामी विश्वस्त छौं ।

निर्वाचन नजिकिँदै छ, जनतामाझ कसरी जानुहुन्छ ?

हामीले के भन्ने भनेर केन्द्रीय समितिको बैठकले देखाइसकेको छ । अहिले सापेक्षित रुपमा नेतृत्वले ठीकै गरेको रहेछ भन्ने बुझाइ भएको छ । अब, ठोस रुपमा जनतामा जाने कुरा छ । त्यसमा हाम्रो गल्ती भएकै हो । बाबुराम भट्टराईको पालाबाट सुरु भयो । भट्टराईको पालाबाट आएको कुरा पटक पटक सरकारमा जाँदा छलफल  हुनु पर्थ्यो । पटक पटक हाम्रा प्रतिनिधि मन्त्री हुँदा यो विषयमा ध्यान दिनु पर्थ्यो ।

हामीले अमेरिकासँग खुल्ला छलफल गर्न सक्थ्यौं, देशभित्र गर्न सक्थ्यौं । त्यहाँ हाम्रो गम्भीर कमजोरी भयो । सुटुसुटु आउँदै जाने भयो । अर्को पक्ष एमसीसी जस्ताको तस्तै पास भएको भए के हुन्थ्यो र पास नभएको भए के हुन्थ्यो भन्ने कुरा पनि हामीले जनतालाई बुझाउनु पर्थ्यो । अब, एमसीसी जस्ताको तस्तै पास भएको भए पनि र खारेज गरेरै पठाएको भए पनि देशमा दुर्घटनामा जान्थ्यो । त्यसैले हामीले त व्याख्यात्मक विश्लेषणसहित पास गराएर देश दुर्घटनामा फस्नबाट बचायौं नि त । यही कुरा लिएर जनतामा जान्छौं । हामीलाई कन्फिडेन्स छ कि, हामीले यो ठीक गर्यौं । त्यसैले हामीलाई सजिलो छ । यही वास्तविक विषय लिएर जनतामा जान्छौं ।

साथै विदेशमा युवा पलायनको विषय, व्यापार घाटा, देशको जमिन बाँझो हँुदैछ जस्ता विषयको अन्त्यका लागि पनि ठोस आधार बोकेर हामी अघि बढ्छौं । देश विकासका लागि के के गर्नुपर्छ, अहिलेसम्म हाम्रो कमजोरी के के हो ? यस्ता विषय हामी कसरी करेक्सन गर्दै जान्छौं भन्ने विषय पनि प्रमुख छन् ।

चुनावी तालमेलबारे पार्टीले कस्तो योजना बनाएको छ ?

अहिलेको गठबन्धन हामीले एउटा निश्चित उद्देश्यका लागि बनाएका हौं । प्रतिगमनको खतरा अझै पनि टरेको छैन । अलिकति ठाउँ पायो कि, प्रतिगमनको विषय अगाडि आइ हाल्छ । प्रतिगमनकारीहरु सल्बलाइ हाल्छन् ।

अर्काेतर्फ गठबन्धनको कल्चर त हामीलाई चाहिन्छ नै । यहाँ कसैको पनि बहुमत आउँदैन । पछिल्लो समय दुईवटा पार्टी मात्र हुनुपर्छ भन्ने समेत कुरा आइरहेको छ । यदि त्यस्तो हो भने पहिलेबाट नै दुई वटा पार्टी राखे भइहाल्थ्यो । यसरी दुई वटा पार्टी भनेर नेपालका सबै प्रजातान्त्रिक आधारको विकासलाई मेटाउन खोजिएको देखिन्छ । खतरा अझै कायमै छ । यस अर्थमा पनि गठबन्धन भोलिका लागि भए पनि आवश्यक छ । त्यसैले निर्वाचनसम्म गठबन्धन कायम रहनेमा हामी प्रष्ट छौं ।

माओवादीलाई काँग्रेसको भरमा चुनाव जित्ने आशा छ । यदि काँग्रेसले अन्तिम अवस्थामा गठबन्धन नगर्ने भन्यो भने तपाईंहरुको रणनीति कस्तो हुन्छ ?

हुन त नेकपा माओवादीलाई यो सँग टाँस्सिने, कमजोर भएपछि अर्कोसँग टाँस्सिने भनेर आलोचना हुने गरेको छ । तर, हिजो हामीले कुन परिवेशमा गठबन्धन गर्यौं भन्ने कुरा नबुझे जस्तो लाग्छ । नेपालका यतिको कम्युनिष्टहरूले बहुमतमा नपुग्ने, सत्तामा स्थिर भएर बस्न नपाउने अवस्था भएपछि नेपाली जनताको चाहनाअनुसार हामी एक भएका थियौं । काँग्रेसले त बुहमत पाउँदै आएकै हो । त्यसैले हामीले कम्युनिष्ट एकता गरेका थियौं । हामीले कहाँ कति सिट आउँछ भनेर गएका थिएनौं । २/४ सीट घटबढ हुन्थ्यो होला, के हुन्थ्यो र ! हामी त ०७० को चुनावमा प्राप्त मतलाई पनि स्वीकारेर आएका हौं नि ! तर अहिले संसद्मा बहुमत नहुँदा नहुँदै पनि प्रतिगमनको प्रयास गरिरहँदा हामीलाई गठबन्धनको आवश्यकता हो ।  परिवर्तनको रक्षाका लागि, संविधानको रक्षाका लागि पनि गठबन्धनको आवश्यकता हो ।

प्रष्ट भन्नु न, काँग्रेससँग गठबन्धन गर्नबाट माओवादी केन्द्र बञ्चित भयो भने के गर्नु हुन्छ ?

हाम्रो सीट संख्या धेरै होला, थोरै होला त्यो छोडौं । तर, हाम्रो बुझाइ के हो भने, माओवादी जति करेक्सन हुँदै जान्छ, त्यति नै संख्यामा बहुमत बढ्दै जान्छ । नेतामा, कार्यकर्तामा आत्मविश्वास बढ्दै जान्छ । पार्टीभित्र ढुक्क भएर भन्न सक्ने अवस्था हुन्छ । आज हामी ढुक्क साथ भन्छौं कि कमजोरी भयो, अब सुधार गर्छौं । प्रतिगमन विरुद्ध हामीले जित हासिल गर्यौं । एमसीसीलाई हल गरेर निकास दियौं । त्यसैले हाम्रो जनमत बढेको छ । त्यसैले हामी धेरै सानो हुँदैनौं । अहिले एमाले, मधेसवादी दल विभाजित छन् । काँग्रेसमा एउटाले अर्कोलाई देख्न नसक्ने प्रवृत्ति हामी देखिरहेका छौं । त्यसैले माओवादीमा एकता छ, हामी ढुक्क छौं । लेखेर राख्नुहोस्, माओवादीको स्थिति पहिलेको भन्दा कमजोर हुँदैन ।

नेकपा माओवादी केन्द्र हरेक सरकारमा छ । सरकारमा हुँदा खास खास उपलब्धि के भए ?

मैले पार्टीमा भन्ने गरेको थिएँ कि सरकार सञ्चालन गर्ने मेकानिजम बनाऔं भनेर । म गरेर देखाउँछु भनेर यसको नेतृत्व मैले मागेको थिएँ । अध्यक्षले हुन्छ भन्दा पनि हाम्रा साथीहरूलाई ठीक लागेन । अब, अहिलेको सरकारमा जो साथीहरू गएका छन्, उनीहरूको उपलब्धि न नकारात्मक नै छ, न त सकारात्मक नै । हाम्रा मन्त्रीहरूले मिहिनेत गरिराख्नु भएको छ । तर, पार्टीको गाइडलाइन छैन, सहयोग छैन । म आफै ९ महिना मन्त्री भएँ, कुनै गाइडलाइन पाइँन । आफ्नै बुद्धिविवेकले पार लाउन त सकिन्न । त्यसैले अब चाँहि पार्टीले एउटा संयन्त्र बनाएको छ र त्यसको म सचिव छु । त्यसैले अब चाँहि हामी यसलाई व्यवस्थित गर्छौं ।

र, अर्को कुरा सरकारलाई सफल गराउन केही गर्नु पर्दैन । मात्र मन्त्रीहरूको भेटघाटलाई व्यवस्थित गर्न सके मात्र पनि २५ प्रतिशत बढी काम गर्न सकिन्छ । बढी भेटघाटकै कारण न खाना पाइन्छ, न सुत्न पाइन्छ, न त अध्ययन गर्न, फाइल हेरेर काम गर्न नै ।

मन्त्रालयमा खास भेटघाटका उद्देश्य चाँहि के हुँदा रहेछन् ?

म मन्त्री हुँदा एक जनामात्र आए, जसले सुझाव दिए । अरु सबै आफ्ना व्यक्तिगत काम लिएर आउने हुन्, फाइल लिएर आउने हुन् । त्यसैले हाम्रो पार्टीको गाइडलाइन भएन र तलबाट खबरदारी पनि भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया