११ महिनामा आगलागीबाट ८३ जनाको मृत्यु
पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो ।
यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा । घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
आगलागीमा परी यो वर्ष हालसम्म ३५२ जना घाइते भएका छन् । आगलागीका घटनाबाट २ हजार ४२२ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार आगलागीले यो वर्ष हालसम्म २ अर्ब २ करोड ८७ लाख १० हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । –न्युज कारखाना