हामीले सिंहासनमा राखेको काँग्रेसले हाम्रै अपमान गर्ने ? : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धन गर्ने विषयमा नेपाली काँग्रेसका नेताहरुको टिप्पणी प्रति आपत्ति जनाएका छन् । ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसका नेताहरुले अपमान सह्य नहुने बताएका हुन् ।
केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ’, प्रचण्डले भने, ‘अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’
अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै पारित गर्नुहुँदैन भनेर आफूले नै अडान लिएको दाबी पनि गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्ने अवस्थामा पुगेपछि आफूले ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेको पनि बताएका छन् ।
उनले एमसीसी बहसमा विगत जस्तो विवाद र बहस चलिरहेको भए माओवादी फुटिसकेको हुने भन्दै त्यसबाट आफूले बचाएको ब्रिफिङ गरेका छन् । ‘विगतमा जस्तो हुन्थ्यो भने हाम्रो पार्टी फुटिसकेको हुन्थ्यो । अहिले नारायणकाजीजी र म अलगअलग ठाउँमा बसेर एक अर्कालाई गाली गरिरहेका हुन्थ्यौँ । तर जिम्मेवार लिडरसिपको नेतृत्व हुँदा सजिलै छलफलको वातावरण बन्यो । देश पनि दुर्घटनाबाट बच्यो’, प्रचण्डको भनाइ छ ।
‘मलाई प्रधानमन्त्रीले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ’, अध्यक्ष प्रचण्डले भने, ‘अब एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा गयो ।’ अध्यक्ष प्रचण्डले अब एमसीसीमा धेरै बहस गरेर जाँदा चुनालाई असर गर्छ भनेर धेरै छलफल नगरेको समेत बताए ।
उनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला एमसीसीको प्रक्रिया अघि बढेको भए पनि त्यसबेला आफूलाई समेत त्यसबेला जानकारी नगराएको बताए ।
‘मेरो क्याबिनेटले केही निर्णय गरेको थिएन, तर सबै प्रक्रियामा कहीँ न कहीँ माओवादी पार्टी पनि संलग्न रहेको यथार्थ हो,’ प्रचण्डले नेकपा कालमा पनि कतिपय कुरा पार्टीमा जानकारी नगराइएको बताए । उनले भने, ‘कतिपय कुरा पार्टीलाई जानकारी नगरी नेकपा हुँदा ओलीले संसद्‍मा छिराए । नेकपाको स्थायी कमिटी चल्दै गर्दा प्रदीप ज्ञवालीले इन्डोप्यासेफिक अंगको सदस्यमा सम्झौता गरे भन्ने सूचना आयो बैठक चल्दाचल्दै हामीले सोध्दा उनले ‘होइन’ भने ।’ उनले त्यसबेला केपी ओली, प्रदीप ज्ञवाली र युवराज खतिवडाले जालझेल गरेको समेत आरोप लगाए ।
‘यो सही छैन, यसको विरोध गर्नुपर्छ भनेको मैले नै हो परिमार्जन नगरी पास गर्न सकिँदैन भनेर निर्णय गरेकै हो, हामीले जस्तोतस्तै पारित गर्न त सकिन्न भनेको नै हो’, प्रचण्डले भने, ‘तर प्रधानमन्त्रीले मतदानमा जाऔँ, जसले जिते पनि मानौँ भन्नूभो । हामी हराउने उपाय खोज्न थाल्यौ र त्यसक्रममा एमसीसी असफल बनाउने पक्षमा बहुमत जुट्ने जस्तो पनि देखियो ।’ तर त्यस्तो अवस्थामा एमाले र काँग्रेस मिलेर जस्ताकोजस्तै पारित गर्ने षड्यन्त्र सुरु भएपछि व्याख्यात्मकको सहमति गरेर गठबन्धन बचाउने उपाय निकालेको प्रचण्डले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी