रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरी क्लब विजयी
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘ए’को आज भएको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ । जितसँगै खुकुरी सुपर फोरमा प्रवेश गरेको होे । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४६ रनको योगफल बनाएको थियो ।
जसका लागि लालबहादुर अधिकारीले ३१ र निश्चल चौधरीले २३ रन बनाए । बलिङमा जीआरका सन्दीप सुनारले ४, विनय घर्ती क्षेत्री र लोकेश बमले समान २–२ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको जीआर २९.४ ओभरमा सबै विकेटको क्षतिमा ९० रनमै समेटिएका थियो । जहाँ लोकेश बमले ६४ र विशाल भुसालले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेका थिएनन् ।
उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ७.४ ओभर बलिङ गर्दै २ मेर्डन राखेर १८ रन खर्चेर ५ विकेट लिए । यस्तै, लालबहादुर अधिकारीले २, साहव आलम, दुर्गेश गुप्ता र धिरज शाहीले समान १–१ विकेट लिए । अजयकुमार चौहान म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । भोलि बुद्ध क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।