बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

दुई महिनामा साढे २ अर्ब रकमान्तर, पीडित किसानलाई राहत दिन १ अर्ब

बुधबार, २५ फागुन २०७८, १६ : २१
बुधबार, २५ फागुन २०७८

सरकारले पुस र माघ महिनामा २ अर्ब ५५ करोड रुपैयाँभन्दा धेरै बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयको साधारण प्रशासनतर्फ भैपरी आउने शीर्षकबाट बेमौसमी वर्षापीडित धान किसानलाई राहत दिनमात्रै गृह मन्त्रालयमा १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । पीडितलाई यो रकम पहिलो चरणको राहतस्वरूप उपलब्ध गराइने सरकारले जनाएको छ । 

अर्थ मन्त्रालयले पुस र माघ महिनामा भएका रकमान्तर विवरण सार्वजनिक गरेको हो । विभिन्न मन्त्रालयहरूले गरेको प्रस्तावअनुसार ३६ शीर्षकमा रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ । ठूला रकमान्तरमा किसानलाई राहतसहित राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने चिप्स खरिदमा ४९ करोड ९९ लाख, सशस्त्र प्रहरीको २२ नम्बर गणलाई भक्तपुरमा आवश्यक जग्गा अधिग्रहणबापत मुआब्जा उपलब्ध गराउन १६ करोड ६६ लाख, भन्सार एजेन्टको परीक्षा सञ्‍चालन गर्न ४० लाख, कोभिड संक्रमितलाई राखिने होल्डिङ सेन्टर बनाउन ४० करोड रुपैयाँ रकमान्तर गरिएको छ । 

राष्ट्रपति कार्यालयको लागि विज्ञ सेवा परामर्श खर्च शीर्षकमा अर्थ मन्त्रालय विविध शीर्षकबाट १० लाख रुपैयाँ रकमान्तर गरिएको छ । एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयमा ३ लाख रुपैयाँ पठाइएको छ । 

मन्त्रिपरिषद्‌ बैठकले माघ १ मा गरेको निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सिफारिस भएका पूर्णप्रसाद पौडेलसमेत २९ जनालाई क्षतिपूर्ति उपलब्ध गराउन गृह मन्त्रालयको नाममा २३ लाख रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमण भइ ज्यान गुमाएका ६ जना प्रहरीका परिवारलाई प्रतिपरिवार २४ लाखका दरले १ करोड ४४ लाख रुपैयाँ रकमान्तर निकासा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप