शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : केपी ओली

बुधबार, २५ फागुन २०७८, १५ : ३९
बुधबार, २५ फागुन २०७८

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् । ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’

उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओली काँग्रेसको आलोचनामा खनिएका थिए । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा दशकौँसम्म बन्न नसकेको काम भएको दाबी गरे । ‘दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ,’ ओलीले भने । ओलीले आफूले संसद् विघटन काम गर्न नदिएको कारण गरेको बताए । ‘अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्तिए,’ उनले भने, ‘संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि, आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।’

उनले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको पनि बताए । ‘नेपाली जनताले न्याय दिनुपर्ने भएको छ । अदालतबाट अन्याय पाएका छौँ । देशले पनि न्याय पाउनु पर्‍यो,’ उनले भने ।  ओलीले केही समय मैथिली भाषामा पनि भाषण गरेका थिए । नवप्रवेशीहरुलाई हौसला दिँदै ओलीले भर्खरै पार्टीमा आएको भनेर कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने बताए । 

रंगेलीका मेयर तथा उपमेयरसहित एमालेमा प्रवेश

सोही कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज रंगेलीमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । 

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार प्रमुख, उपप्रमुखसहित रंगेली नगरपालिका वडा नम्बर ७ का रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि एमालेमा प्रवेश गरेका हुन् । सोही कार्यक्रममा उनीहरूसहित मोरङका ७ वटा पालिकाबाट ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । एमालेमा प्रवेश गरेका वडाध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप