शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा मिर्गौला दान : प्रत्यारोपणका नाममा महिलामाथि अपराध

मिर्गौला दान गर्ने ७२ प्रतिशत महिला
बुधबार, २५ फागुन २०७८, १५ : २८
बुधबार, २५ फागुन २०७८

काठमाडौँकी ४८ वर्षीया नमुना प्रजापति (नाम परिवर्तन)ले मिर्गौला फेल भएपछि  डायलिसिस गराउन थालेको ५ वर्ष पुग्यो । उनले मिर्गौला प्रत्यारोपणको इच्छा राखे पनि पुरा हुन सकेको छैन । 

पाँच वर्षअघि मिर्गौला बिग्रिँदाको सुरुवाती समयमा प्रजापतिलाई मिर्गौला दान गर्न दुवै छोरी, श्रीमान् तयार भए । तर, आमालाई मिर्गौला दान गर्नका लागि तयार भएका छोरीहरूको परीक्षणका क्रममा मिर्गौला म्याच नहुँदा दान दिन मिलेन । दुई दिन अघिसम्म श्रीमतीलाई मिर्गौला दान गर्न तयार भएका उनका श्रीमान् छोरीहरूले मिर्गौला दान गर्न नमिल्ने भएपछि विभिन्न बहाना देखाउँदै मिर्गौला दानका लागि परीक्षण गर्न समेत तयार भएनन् । 

...

काठमाडौँकै शिक्षित परिवारमा सुविधा शर्मा (नाम परिवर्तन) को प्रेम विवाह भयो । विवाह गरेको दुई महिनापछि एक्कासि स्वास्थ्यमा समस्या आउँदा जाँचका क्रममा मिर्गौलामा खराबी देखियो । केही समय औषधि सेवनपछि चिकित्सकहरूले डायलिसिस गर्न सुझाव दिए । त्यहीअनुरूप उनले डायलिसिस गराउन सुरु गरिन् । तर, छोरालाई झुक्याएर विवाह गरेको भन्दै प्रत्यक्ष अप्रत्यक्षमा श्रीमान् पट्टिका परिवारका सदस्यबाट  नानाथरी भनाइ दिनहुँ जसो सुन्न थालिन् । यद्यपि विवाह अघि उनको स्वास्थ्यमा कुनै पनि समस्या देखिएका थिएन । उनका श्रीमानले मिर्गौलामा समस्या देखिएको सुरुवाती समयबाटै पूर्ण रूपमा साथ दिएका थिए । श्रीमतीलाई मिर्गौला दान दिन समेत तयार भए । जब मिर्गौला दान दिन र प्रत्यारोपणको तयारी गर्न थालियो, तब उनका श्रीमान् गायब भए । अन्ततः शर्मालाई जन्म दिने आमाले मिर्गौला दान गरेपछि प्रत्यारोपण गरिएको थियो ।

....

नमुना प्रजापति र सुविधा शर्मा यी दुई उदाहरण मात्र हुन् । मिर्गौला प्रत्यारोपण विशेषज्ञहरूको भनाइ अनुसार श्रीमतीको मिर्गौला फेल भएपछि मिर्गौला दिन बाचा गर्ने तर मिर्गौला दान दिने दिन नजिकिँदै गर्दा श्रीमतीसँग टाढिने पुरुष धेरै छन् ।

७२ प्रतिशत महिलाबाट मिर्गौला दान 

नेपालमा हालसम्म १२ सय भन्दा बढीले मिर्गौला प्रत्यारोपण गरेका छन् । जसमध्ये सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ८२१ जनाले मिर्गौला प्रत्यारोपण भएका छन् । अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण गर्ने पुरुष बढी छन् भने मिर्गौला दान गर्ने महिला बढी छन् । त्यसमा पनि मिर्गौला दान गर्ने बढी विवाहित महिला रहेका छन् । 

श्रीमतीको मिर्गौला फेल भयो भने हत्तपत्त पुरुष दान गर्न तयार हुँदैन । तर, सोही परिवारमा पुरुष सदस्यको मिर्गौला फेल भएको खण्डमा दान गर्न महिला सदा तम्तयार हुने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा मिर्गौला प्रत्यारोपण वरिष्ठ विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

सो अस्पतालमा गएको नौ वर्षको ८२१ जनाले मिर्गौला प्राप्त प्रत्यारोपण गर्दा ७८ प्रतिशत पुरुषले प्रत्यारोपण गरेका छन् भने ७२ प्रतिशत महिलाले मिर्गौला दान गरेको प्रत्यारोपण केन्द्रको तथ्याङ्कले देखाउँछ ।

अस्पतालका निर्देशक डा. श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण सन्दर्भमा महिलामाथि चरम भेदभाव भएको छ । अझै मिर्गौला दान गर्ने महिलामध्ये विवाहित महिला धेरै छन् । तर, विवाहित महिलालाई मिर्गौला दिने श्रीमान् भने धेरै कम रहेको अस्पतालका निर्देशक डा.श्रेष्ठ बताउँछन् ।

विवाहित तथा अविवाहित महिलालाई आमाले मिर्गौला दिएका छन् भने केहीलाई बुवाले दान दिएको पाइएको छ । तर, मिर्गौला फेल भएका श्रीमतीलाई उपचारकै क्रममा श्रीमान्ले छाडेर हिँडेको समेत उनले सुनाए ।

श्रीमती बिरामी परेपछि छाडेर हिँड्ने घटना धेरै छन् । यस्तै, श्रीमतीको उपचार गर्नुभन्दा अर्की श्रीमती ल्याउने थुप्रै घटना उपचारका क्रममा देखेको डा.श्रेष्ठले बताए । उनी भन्छन्, ‘पुरुष बिरामी हुँदा पहिलो प्राथमिकता राखी श्रीमतीले नै बढी सेवा गर्छन् । मिर्गौला रोगीको महिलाको मामिलामा भने अपवादबाहेक नियमित डायलिसिस गराउन ल्याउने पुरुष छन् ।’ 

अधिवक्ता तथा महिला अधिकारकर्मी मोहना अन्सारी मानव अंग प्रत्यारोपणमा पनि महिलामाथि पूर्णमा भेदभाव र अपराध भइरहेको बताउँछिन् । मिर्गौला दान गर्ने महिला बढी छन्, कानुनी प्रक्रिया पुर्‍याइ महिलामाथि अपराध गरिएको उनको जिकिर छ ।

यस्तै जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले महिलाहरूले आफ्नो शरीरमाथि आफ्नो अधिकार प्राप्त गर्न नसकेकाले मिर्गौला दिने महिलाको सङ्ख्या वृद्धि भएको बताइन् । पितृसत्तात्मक सोच कारण महिलाहरू दयालु, मायालु, सेवक भावनाका हुन्छन् भन्ने आम धारणा छ । उनी भन्छिन्,  ‘आमा बुवामध्ये एक जनाको मिर्गौला बिग्रियो भने छोरीले मिर्गौला दिए हुन्थ्यो भन्ने उनीहरूले आशा गर्छन् । छोराले घरबाहिर गई कमाएर भए पनि पाल्छ । छोरीले परिवारको बोझ उठाउन सक्दैन, घरै बस्नेले मिर्गौला दिउन् भनेर बा आमाले समेत अपेक्षा गर्छन् ।’ उनका विचारमा अंगदानका नाममा महिलामाथि शोषण भइरहेको छ ।

मिर्गौला दान दिनेमध्ये विवाहित महिला बढी हुनुका कारण गरिबी र परनिर्भरता भएको अधिवक्ता तथा महिला अधिकारकर्मी अन्सारीको भनाइ छ । छोराछोरी भइसके, श्रीमान्को मृत्यु भयो भने के गर्ने ? यस्ता विविध खालका परिस्थिति कारण मिर्गौला दिन महिला विवश छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका ५८७ जना महिला अर्थात् ७२ प्रतिशत मिर्गौला दान गर्दा २२८ जना अर्थात् २८ प्रतिशत पुरुषले मिर्गौला दान गरेका छन् । यस्तै, ६४२ जनाले पुरुषले मिर्गौला प्रत्यारोपण गरेका छन् भने १७३ जना अर्थात् २१ प्रतिशत महिलाले मात्र प्रत्यारोपण गरेको छन् । यस्तै, ६ जना ब्रेन डेथ भएका पुरुषबाट प्रत्यारोपण गरिएको थियो । 

प्रत्यारोपण केन्द्रमा ४० प्रतिशत महिला डायलिसिस गर्न पुगे पनि करिब २० प्रतिशत मात्र महिला प्रत्यारोपण गराउन आउने गरेको निर्देशक डा. श्रेष्ठ बताउँछन् । अस्पताल मिर्गौला दान गर्ने पुरुषलाई रु ५० हजार दिने व्यवस्था समेत मिलाएको थियो । तर दान गर्ने बढेनन् । मिर्गौला दान गर्न र प्रत्यारोपण गर्नका लागि पारिवारिक सरसल्लाह गरेर आउने भएकाले अस्पतालले केही भन्न नमिल्ने उनको भनाइ छ । उनी भन्छन्, ‘प्रत्यारोपण गर्ने कम अनि मिर्गौला दान गर्ने महिला बढी किन भए भनेर प्रश्न चिन्ह खडा भएकाले अब खोजबिनको विषय बन्नुपर्छ ।’

महिलाहरू परिवारका लागि त्यागी बन्ने, सहनशीलताको प्रतिमूर्ति बन्ने हुँदा समाजले एक प्रकारको ट्याग लगाइदिएकाले श्रीमान् तथा परिवारका सदस्यलाई मिर्गौला दान गर्न तयार हुने गरेको जनस्वास्थ्यविद् डा उप्रेतीको धारणा छ । 

अधिवक्ता अन्सारीका अनुसार मिर्गौला दिनेमध्ये केही महिलालाई मैले मिर्गौला दिन पाउँछु भन्ने थाहा नपाइकन दिएको अवस्था पनि छ । ‘यसरी मिर्गौला दिनु भनेको कानुनी रूपमा बर्जित छ । महिलाहरू सार्वजनिक जीवन बिताउनु पर्दैन अर्थात् घर बाहिर गई काम गर्नु पर्दैन भन्ने सङ्कीर्ण सोचको कारण मिर्गौला दिन तयार हुन्छन् ।’

ब्रेन डेथलाई प्राथमिकता

सहिद  धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले ब्रेन डेथलाई प्राथमिकतामा नपारेसम्म नेपालमा अंग दान गर्ने महिला नघट्ने बताउँछन् । उनी भन्छन, ‘ब्रेन डेथलाई प्राथमिकतामा नपारेसम्म प्रत्यारोपण गर्ने पुरुषको सङ्ख्या कुनै पनि हालतमा कमी आउँदैन । अंग दान दिने महिलाको दर घटाउने तथा महिलामाथि भएको विभेद कम गर्ने उपाय यही हो ।’

ब्रेन डेथ भएको केही समयसम्म पनि दुईटा मिर्गौला, दुईटा फोक्सो, कलेजो, प्यानक्रियाज, सानो तथा ठूलो आन्द्राले काम गरिरहन्छ । डा. श्रेष्ठका अनुसार विस्तारै ती अंगले पनि काम गर्न छाड्छन् । मस्तिष्कको मृत्यु भइसकेपछि अन्य अंगले काम गर्न नछाड्दै तिनलाई अरूको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । यसरी जीवन मरणको दोसाँधमा परेका व्यक्तिले नयाँ जीवन पाउन सक्ने अनि अंग दान गर्ने महिलाको सङ्ख्या कमी आउन सक्छ ।

विदेशमा र स्वदेशमा प्रत्यारोपण गर्ने अवस्था 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा स्वदेश र विदेशमा गरी हालसम्म ११ सय २२ जनाले मिर्गौला प्रत्यारोपण गरी औषधि सेवन गरेका छन् । जसमध्ये १४५ जना बिरामीले  विदेशमा मिर्गौला प्रत्यारोपण गराएका हुन् । आर्थिक वर्ष ०७७/०७८ मा ५६ जना गरी प्रत्यारोपण गराएका छन् ।  यस्तै,  ०७३/०७४ मा २५५ ले मिर्गौला प्रत्यारोपण गराउँदा ०७४/०७५ मा २७४ जनाले प्रत्यारोपण गराएका थिए । ०७५/०७६ मा २५९ जना, ०७६/०७७  मा  १३३ जना, ०७७/०७८ मा ५६ जना गरी स्वदेशमा ९७७ जनाले मिर्गौला प्रत्यारोपण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 गएको पाँच वर्षको अवधिमा विदेशमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण  ०७५/०७६ मा ५८ जनाले गराएको पाइएको छ । त्यसपछि ०७४/०७५ मा ५५ जनाले प्रत्यारोपण गराएका थिए भने ०७३/०७४ मा  १५ जना मिर्गौला प्रत्यारोपण गराएका थिए । ०७६/०७७ मा १३ जना, ०७७/०७८ मा  ४ जना गरी जम्मा १४५ जनाले प्रत्यारोपण गराएका थिए ।

 मिर्गौला प्रत्यारोपण सम्बन्धमा कानुनी व्यवस्था

नेपालमा मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ अनुसार परिवारको सदस्य वा नजिकका नातेदारबाट मिर्गौला दान लिन वा दिन सकिने व्यवस्था छ । ऐनले  परिवारको सदस्यको रूपमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरालाई मानिएको छ ।  

नजिकका नातेदारले मात्र अंग दिन पाउने प्रावधान अनुसार सौतेनी बाबु, सौतेनी आमा, ठूलोबाबु, ठूलीआमा, काका, काकी, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, अमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानलाई नजिकैको नातेदार मानेको छ । 

नजिकका नातेदारले मात्र अंग दन दिन पाउने प्रावधान भएकाले कानुन विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र ५ लाख जरिवाना हुने प्रावधान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप