शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा बलियो बन्ने एमालेको दाउ

एमालेमा प्रवेश गर्न लागेका दिलिप अग्रवाल को हुन् ?
बुधबार, २५ फागुन २०७८, १२ : ४२
बुधबार, २५ फागुन २०७८

मोरङको पुरानो सदरमुकाम हो रंगेली । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल बगडिया एमाले प्रवेश गर्ने भएपछि जिल्लाको राजनीतिमा एउटा तरंग सिर्जना भएको छ । माओवादी केन्द्रबाट निर्वाचित बगडिया एमालेमा प्रवेश गरेपछि स्वयं माओवादी केन्द्र मात्रै नभएर नेपाली काँग्रेसको मनमा पनि चिसो पसेको छ । रंगेली मोरङको  २ र ५ नम्बर क्षेत्रमा विभाजित छ । २ बाट काँग्रेस नेता डा मिनेन्द्र रिजाल निर्वाचित भएका थिए भने ५ बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल निर्वाचित भएका थिए । 

अहिले सबैभन्दा समस्यामा परेका छन्, माओवादी केन्द्रका नेता मण्डल । मण्डलले बगडियालाई आफ्नो दाहिने हातको रुपमा लिँदै आएका थिए । यद्यपि पछिल्लो समय मण्डलले दिलिपलाई अवसर दिएको हो कि दिलिपले मण्डललाई जिताएको हो भन्नेमा आपसमा जुँगाको लडाई देखिन्थ्यो । 

प्रदेश १ का १३७ वटा स्थानीय तहमा माओवादीले ८ वटामा मात्र जित हासिल गरेको थियो । त्यस्तै, मोरङका १७ स्थानीय तहमध्ये रंगेलीमा मात्रै माओवादीले विजयी हासिल गरेको थियो । यसरी बगडियाको एमाले प्रवेशले सिंगो माओवादी प्रदेश १ लाई पनि धक्का लागेको छ । ‘०७४ सालको स्थानीय निर्वाचनमै बगडियाले एमाले प्रवेश गर्ने चाहना राखेका थिए,’ एमाले स्रोत भन्छ, ‘तर, रंगेलीमा ०७२ साल माघ ८ गते एमालेले गरेको कार्यक्रमका कारण केही मानिसको मृत्यु भएपछि बगडिया हच्केका थिए ।’

बगडियाको विगत

बगडिया ०६८ सालमा काँग्रेसबाट माओवादीमा प्रवेश गरेका हुन् । माओवादीले विराटनगरमा गरेको राष्ट्रिय सम्मेलनको सन्दर्भमा उनी माओवादी निकट बनेका थिए । यद्यपि औपचारिक प्रवेश भने ०७० सालको निर्वाचनमा गरेका थिए । त्यसबेला माओवादीले बगडियालाई समानुपातिक सूचीमा संविधानसभाको उम्मेद्वार बनाएको थियो । देशैभर माओवादीले पराजय भोगेपछि बगडिया सांसद हुन पाएनन् । त्यसयता बगडियाले माओवादी केन्द्रका जिल्ला समिति सदस्य तथा रंगेलीका इन्चार्ज भएर काम गरे ।
मारवाडी कुलमा जन्मिएका उद्योगी पृष्ठभूमिका उनै बगडिया ०७४ सालको स्थानीय तहको निर्वाचनमा भने माओवादीबाट उम्मेद्वार बन्दै विजयी बनेका थिए । बगडियाले ८ हजार ८२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार २ सय ५० मत हासिल गरेका थिए । धेरैले त्यहाँ माओवादीले जितेको भन्दा पनि बगडियाको लोकप्रियताले जितेको भन्ने गर्दछन् । 

बगडिया नेपालकै सबैभन्दा ठूला इँटा उद्योगी हुन् । उनले सञ्चालन गरेको मोरङ र सुनसरीमा ‘आनन्द’ ब्रान्डका ११ वटा इँटा उद्योग छन् भने म्याजिक छाप जुत्ताचप्पल उद्योग र आनन्द कत्था इन्डस्ट्रिज खयर उद्योगका सञ्चालनमा छन् । यसबाहेक उनका आनन्द स्न्याक्स एन्ड स्पाइसेज नामको फास्टफूड र मसला उद्योग पनि रहेको छ । बगडिया रंगेलीमै जन्मिएका हुन् । उनले त्यहीँबाट व्यवसाय सुरु गरेका थिए । रंगेलीको मेयरमा निर्वाचित भएपछि जनताको हितमा धेरै काम गरेको उनी बताउँछन् । 

एमालेले ब्ल्याकमेल गरेको माओवादी दाबी

०७४ सालको संघीय संसद्को निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो । पार्टी एकतापछि जिल्ला जिल्लामा आन्तरिक पार्टीको समीकरण पनि फेरबदल भए । तत्कालीन नेकपाको मोरङमा गुटबन्दी नयाँ ढंगले सुरुवात भएको थियो । स्रोतका अनुसार त्यसबेला नेकपा नेता शिवकुमार मण्डल, महेश रेग्मी र दिलिप बगडियाहरु एकातिर थिए भने अर्कोतिर नेता विनोद ढकाल, गोपी अछामी, ऋषिकेश पोखरेल र गणेश उप्रेतीहरु थिए । 
बगडिया मण्डलतिर लागेपछि अर्को पक्ष उनको व्यापार व्यवसायमा भएको अनियमित चलखेलको अनुसन्धान गराउन राज्यलाई दबाब दिन थालेका थिए । 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धिकरण विभाग पनि आफू मातहत ल्याएका थिए । त्यसबेलाको विवाद सुनाउँदै एक नेता भन्छन्, ‘ऋषि पोखरेलले अब दिलिपको ढाड भाँच्नुपर्छ, सम्पत्ति शुद्धिकरणमा मुद्दा हालौं भन्ने प्रस्ताव सो गुटमा राखेका थिए ।’ तर, उक्त प्रस्ताव पार्टी विभाजनको प्रक्रियामा गएसँगै सेलाएको थियो । 

माओवादी निकट एक नेताका अनुसार एमालेले सोही विषयलाई बार्गेनिङ गरेर बगडियालाई थर्काउने, धम्क्याउने गर्दथे । त्यही कारण उनी एमालेमा प्रवेश गरेको देखिन्छ । तर, एमाले नेताहरुले यो कुरा अस्वीकार गरेका छन् । ‘बगडिया मसँग लामो समयदेखि एमाले प्रवेश गर्छु भन्नु हुन्थ्यो,’ एमाले नेता विनोद ढकालले भने, ‘अन्य कारण केही होइन, माओवादीमा तत्कालीन परिस्थितिका कारण मात्रै जानुभएको हो ।’

छ वर्ष अगाडिको त्यो गोलीकाण्ड...
संविधानमा असन्तुष्टि जनाउँदै ०७२ असोजपछि मधेसी मोर्चा आन्दोलनरत थियो । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसको आन्दोलनलाई ‘माखे साङ्लो’ भन्थे । त्यति मात्रै होइन, आन्दोलनका क्रममा मृत्यु भएका युवाहरुलाई दुई चारवटा पाकेको आँप झरेको भन्ने अभिव्यक्तिले एमालेविरुद्ध मधेसमा आक्रोश थियो । त्यही बेला एमालेले रंगेलीमा बृहत् सभाको आयोजना गर्यो । उक्त सभा रोक्ने तयारीमा मधेसी मोर्चाका कार्यकर्ता लागेका थिए । सोही क्रममा २०७२ माघ ८ गते कार्यक्रम स्थलमै झडप भई तीन जनाको ज्यान गएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले सुनवर्षी–७ का महादेव ऋषिदेव, सुनवर्षी–९ कै शिवु माझी र रंगेली–६ की द्रौपदीदेवी चौधरीको मृत्यु भएको थियो । 

उक्त घटनाका पीडित र प्रभावितहरुलाई अझै पनि त्यो दिनले झस्काउँछ । ‘हामीले त्यो बेला रंगेलीमा मधेसी मोर्चाको आन्दोलन निरन्तर छ, कृपया यहीँ सभा नगर्दिनुस् भनेर आग्रह गरेका थियौं,’ रंगेली–६ का दीपक ऋषिदेवले घटना सम्झिए, ‘तर, एमाले नेताहरु मानेनन् । आखिर झडप भयो । र, तीन जनाले अनाहकमा ज्यान गुमाउनु पर्यो ।’ 

यसपटक आउँदा ओलीले माफी माग्लान् कि भन्ने अपेक्षा ऋषिदेवलाई छ । ‘ओली आफै रंगेली आउँदैछन्,’ उनले भने ‘त्यसबेलाको हठले त्यो घटना भएकोमा माफी मागिदिए भने पीडित र प्रभावितहरुको मनमा थोरै शान्ति मिल्ने थियो ।’

दक्षिणी भेगमा बलियो बन्ने दाउ

एमाले मोरङको दक्षिणी भेगमा कमजोर छ । उसको जनमत रंगेलीमा तेस्रो स्थानको हो । यसअघिको निर्वाचनमा एमालेका मेयर उम्मेद्वार सन्तोषकुमार मण्डलले ३ हजार १ सय २१ मत ल्याएर तेस्रो स्थानमा थियो । बगडिया एमाले प्रवेश गरेपछि एमाले हौसिएको छ । यसले आफ्नो गुम्दै गएको साख फिर्ता ल्याउने र आगामी संसदीय निर्वाचनमा मोरङ–२ को विजयी सुनिश्चित गर्ने उसको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप