सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

इन्जिनियरको अवमूल्यनः विकासको बाधक

बुधबार, २५ फागुन २०७८, १२ : ४२
बुधबार, २५ फागुन २०७८

वाष्प इन्जिनको आविष्कारपछि औद्योगिक क्रान्ति सुरु भएको हो । विद्युत्, इन्टरनेटको विकास हुँदै गएपछि वर्तमान विश्व कृत्रिम बौद्धिक युगमा प्रवेश गरेको छ । आधुनिक विज्ञानका सहस्र उपलब्धिको विकास र विस्तारमा यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । यी आविष्कार व्यावहारिक ज्ञान, अध्ययन विधि तथा प्रयोगहरू आधुनिक इन्जिनियरिङका आधार बनेका छन् ।

इन्जिनियरिङ आधुनिक सभ्यताको विज्ञान भएकाले संसारका महाशक्ति राष्ट्रको तागतको मानक पनि यसैका आधारमा गरिन्छ । इन्जिनियरिङ क्षेत्रमा उपलब्ध जनशक्तिको गुणस्तरले कुनै पनि राष्ट्रको विकास क्षमतालाई देखाउँछ । त्यही भएर नै मानव जनशक्तिका भोका विकसित राष्ट्रहरू इन्जिनियरिङ जनशक्तिको तानातान गरिरहेका हुन्छन् । यसलाई उनीहरू राष्ट्रिय सुरक्षा रणनीतिसँग जोडेर हेर्छन् । यस विषयमा विश्वविख्यात लेखक पराग खन्नाले गत वर्ष प्रकाशन गरेको मुभ टु फोर्स अपरुटिङ अस पुस्तकले विस्तृत रूपमा चिरफार गरिदिएको छ । यी तथ्यले विकास, समृद्धि, उन्नतिका लागि इन्जिनियरिङ क्षेत्र कति महत्त्वपूर्ण छन् भन्ने देखाउँछ । 

औपचारिक रूपमा नेपालमा इन्जिनियरिङ शिक्षा सुरु भएको करिब ७ दशक पुगेको छ । तर कलात्मक निर्माण क्षेत्रको इतिहास हेर्दा यो विषय हजारौँ वर्ष पुरानो देखिन्छ । प्रसिद्ध चिनियाँ यात्री हु यान साङको यात्रा वृत्तान्तमा उल्लेख भएका लिच्छविकालीन भव्य दरबारदेखि धरहरा, काँक्रेबिहार, सिंहदरबारको निर्माण, तोप र मेसिन गनको निर्माणसम्म यहाँकै जनशक्तिले गरेको प्रामाणिक विगत पनि हामीसँग सुरक्षित छ ।

आजको समयसम्म आइपुग्दा विभिन्न विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त गरी ५० हाराहारी शैक्षिक संस्थाबाट वार्षिक ४५ सयभन्दा बढी इन्जिनियर नेपालको आर्थिक प्रणालीमा आउने परिस्थिति बनिसकेको छ ।

ती संस्थाबाट उत्पादित इन्जिनियरहरूको ठूलो सङ्ख्या उच्च आयको खोजीमा सोझै विकसित मुलुकमा जानु नेपालको मुख्य समस्याका रूपमा रहेको छ । हरेक वर्ष विद्यालयबाट १२ कक्षा पूरा गरेर निस्किने प्रथम श्रेणीका विद्यार्थीको रोजाइ  इन्जिनियरिङ क्षेत्र नै भएकाले खास प्रतिभाहरूको केन्द्रीकरण गर्ने थलो हो । नेपालका खास प्रतिभाहरू सोझै विकसित मुलुक पलायन हुन बाध्य छन् । यो अवस्था नेपालको ठूलो लगानीको डरलाग्दो क्षति हो ।

अर्को पक्ष भनेको नेपालको आर्थिक विकासमा भएको लामो समय देखिको सुस्तता र संरचनागत अवरोधले सिर्जना गरेको सङ्कट हो । यसले जनशक्तिको खपतलाई असाध्यै साँघुरो बनाएको छ । ठूल्ठूला आयोजनाका परामर्श सेवा तथा निर्माणका काम द्विपक्षीय तथा बहुपक्षीय दाता र लगानीकर्ताका सर्तका नाममा विदेशी जनशक्तिले ओगट्ने गरेका छन् । त्यस क्षेत्रमा नेपाली इन्जिनियरले सहभागी हुन पाउनुको सट्टा सहयोगीका रूपमा मात्र काम गर्न पाउँछन् । उनीहरूले ज्ञान हस्तान्तरणको अवसरसमेत नपाउनु यो क्षेत्रको अर्को विडम्बना हो ।

नेपालको प्रशासन, राज्य संयन्त्रमा इन्जिनियरप्रतिको दृष्टिकोण तथा पूर्वाग्रह हीनताबोधको कारण बनेको छ । स्थायी राज्ययन्त्रमा इन्जिनियरलाई तल्लो श्रेणीको व्यवहार हुने गरेको तथा वृत्तिविकासमा समेत पछाडि पारिएका छन् । इन्जिनियरिङ सेवाबाट नेपाल सरकारको सचिव बन्न नसक्नु यसको एउटा उदाहरण हो । राज्य पुनर्संरचनापछि बनेका स्थानीय सरकारमा इन्जिनियरको अवस्था अत्यन्त न्यून छ । पछिल्लो समयमा खुलेका सरकारी पदपूर्तिका विज्ञापनहरूमा इन्जिनियरलाई तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा तल्लो तहमा राखिनाले पनि इन्जिनियरप्रतिको दृष्टिकोण कस्तो छ भनेर बुझ्न सकिन्छ ।

व्यक्तिगत वा समूहगत रूपमा उद्यमशीलता तथा नवप्रवर्तनमा लाग्नुका आफ्नै दुःख छन् । छनोट प्रक्रियामा हुने अपारदर्शी चलखेलदेखि मापदण्डमा हुने गरेका अवैज्ञानिक प्रयोगले स्वतन्त्र र खुल्ला प्रतिस्पर्धामार्फत् असल काम गर्ने फर्मले काम पाउन जटिल बन्दै गएको छ । इन्जिनियरले स्वतन्त्र रूपमा काम गर्न पाउने अधिकारको दायरा साँच्चै सङ्कुचित छ । धेरै ठाउँमा आफ्नो घरको नक्सा बनाउने कामसमेत एकाधिकार प्राप्त फर्मलाई दिनुपर्ने सम्मको दूरवस्था छ ।

तीव्र गतिमा विकास गरिरहेका चीन, जापान, कोरिया, सिङ्गापुर लगायत पश्चिमी राष्ट्रका सरकारहरू इन्जिनियरले भरिएका छन् । यसको मुख्य उद्देश्य नै देशको नीति निर्माण र कार्यान्वयनमा इन्जिनियरहरूको महत्त्वको बोध हो । नेपालको पनि नेतृत्वदायी क्षेत्रमा इन्जिनियरहरूको प्रभावकारी उपस्थिति अनिवार्य आवश्यकता बनेको छ ।

तीव्र गतिमा विकासको सँघारमा रहेको नेपालले आफ्ना उत्कृष्ट जनशक्तिलाई नेपालमै उपयुक्त अवसर सिर्जना गर्दै अनुसन्धान र विकासको वातावरण तयार गर्नुपर्छ । सबै प्रकारका आयोजनामा नेपाली इन्जिनियरको प्रभावकारी सहभागिता तथा नयाँ जटिल परियोजनामा अनिवार्य ज्ञान र प्रविधि हस्तान्तरणको व्यवस्था गर्नुपर्छ । नेपालका इन्जिनियरले विश्व स्तरीय संरचना निर्माण गरेका उदाहरण तयार गर्न सक्नुपर्छ ।

कवि प्रोल्लास सिन्धुलीयको कविता ‘गाउँको वृद्धालय’ले वर्णन गरेजस्तो देशलाई वृद्धालयमा रूपान्तरण हुन लागेको त्रासदीबाट जोगाएर आफ्ना रहरलाग्दा नौजवानहरूले देशमै श्रम, ज्ञान र सीप खर्चने अधिकार सुनिश्चित गर्न पनि इन्जिनियरले देशमै काम गर्न पाउनुपर्छ ।

सरकारका विज्ञापन, नियुक्ति, वृत्तिविकास कार्यक्रममा आधुनिक प्राविधिक जनशक्तिको केन्द्रीय भूमिका पक्का गर्दै असमानताहरूको अन्त्य गर्नुपर्छ । असन्तुलित रहेका व्यवस्थाहरूलाई अद्यावधिक ऐन तथा प्रबन्धले प्रतिस्थापन गर्नुपर्छ । खुला र पारदर्शी प्रक्रियालाई संस्थागत गर्दै दक्ष प्राविधिकले सार्वजनिक काम गर्न पाउने आधारको सुनिश्चितता हुनुपर्छ । निजी क्षेत्रका काममा आवश्यक मापदण्डको निर्माण तथा आवश्यक कानुनमार्फत् व्यवस्थित गर्नुपर्छ । समाजका अग्रणी जनशक्ति इन्जिनियरहरूको अनिवार्य बीमाको व्यवस्था गर्नुपर्छ ।

विविध स्तरका प्रयोगशाला, अध्ययन र अन्वेशण र अनुसन्धान केन्द्र तथा स्तरीय जर्नलको संस्कृति विकास गर्नुपर्छ । राष्ट्र प्रगति पथमा अघि बढ्न मूल चालक शक्तिका रूपमा रहेका जनशक्ति इन्जिनियरले आत्मसम्मान, अवसर तथा आफ्नो ज्ञानको प्रभावकारी प्रयोग हुनुपर्छ । यसले इन्जिनियर तथा राष्ट्र दुवैलाई उचाइमा पुर्याउनेछ र यो आजको आवश्यकता पनि बनेको छ ।

सुवेदी सिभिल इन्जिनियर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप