आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनका एक बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर पुगे स्लोभाकिया

बुधबार, २५ फागुन २०७८, ११ : २९
बुधबार, २५ फागुन २०७८

रुसको हमलापछि लाखौं मानिस युक्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार युक्रेनी शरणार्थी पुग्ने क्रम जारी छ । यसैक्रममा  एक शरणार्थी परिवारका ११ वर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ ।  ती बच्चाको नाम हो हसन ।

बीबीसी हिन्दीकाअनुसार ​हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्ट, २ साना ब्याग र नातेदारको फोन नम्बरका साथ ती बालकलाई सीमासम्म जाने रेलमा चढाइदिइन् । त्यहाँबाट भन्सार अधिकारीले स्लोभाकियासम्म पुग्नका लागि ती बालकलाई सहयोग गरे । भन्सार अधिकारीले बच्चालाई बहादुर  भन्दै उसको मुस्कानले मानिसको मन जितेको बताएका छन् ।

ती बालकसँग स्लोभाकियाको सीमामा पुग्दा एक प्लास्टिक ब्याग, सानो रातो ब्याग र आफ्नो पासपोर्ट साथमा थियो । त्यहाँ स्वयंसेवीले उनका लागि खानपिनको व्यवस्था गरिदिएका थिए । सीमा अधिकारीले स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा उनका नातेदारसँग सम्पर्क गराइदिएका थिए । स्लोभाकियाका प्रहरीद्वारा पोस्ट गरेको एक भिडियोअनुसार बच्चाकी आमाले छोरालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । ती महिलाले भिडियोमा रुसी हमलाबीच आफ्नो छोराले यति लामो यात्रा किन गर्नुपर्यो भनेर प्रस्ट पार्ने कोसिस गरेकी छन् ।  

हसनकी आमा जुलिया पिसेकाले भिडियोमा भनेकी छन् : ‘मेरो शहरमा एउटा उर्जा प्लान्ट छ, जहाँ रुसीहरु गोलाबारी गरिरहेका छन् । म आफ्नी आमालाई छोड्न सक्दिन र उनी अन्यत्र कही जाने अवस्थामा छैनन् । यसैले मैले आफ्नो छोरालाई स्लोभाकिया पठाएको हु ।’ जुलियाका पतिको पहिले नै मृत्यु भइसकेको छ ।

जेपोरजिया परमाणु उर्जा प्लान्ट युरोपमा सबैभन्दा ठूलो हो । यसलाई गत साता रुसी सेनाले आफ्नो कब्जामा लिइसकेको थियो ।  रुसले उर्जा प्लान्टमा हमला गरेपछि युक्रेनी राष्ट्रपति भोलोदमीर जेनेन्स्कीले  रुसकोे गोलाबारीका कारण त्यहाँ चेर्नोबिलभन्दा पनि ठूलो दुर्घटना हुनसक्ने चेताजनी दिएका थिए ।

रुसको आक्रमणपछि २० लाखभन्दा बढी युक्रेनीले छिमेकी देशहरुमा शरण लिइसकेका छन् । त्यसमध्ये १२ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगेका छन् भने १ लाख ४० हजार मानिस स्लोभाकियामा पुगेका छन् । जुलियाले उक्त भिडियोमार्फत आँखाबाट आँशु झार्दै युक्रेनका बालबालिकालाई सुरक्षित ठाउँमा राख्नका  सम्बन्धित निकायहरूलाई आग्रह गरेकी छन् ।

बालक हसनले मानिसहरुको मन जितेको स्लोभाकियास्थित गृहमन्त्रालयका एक अधिकारीले बताए । त्यहाँका गृहमन्त्री रोमन मिकुलकले सोमबार हसनसँग भेटघाट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप