उपसचिवको ठाउँमा नायब सुब्बालाई नगरपालिकाको जिम्मेवारी

रौतहटको दक्षिणी भेगमा रहेको ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका उपसचिवको सरुवा गरी उनको स्थानमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नायब सुब्बालाई पठाइएको छ । नगरपालिकामा प्रशासकीय अधिकृतको रूपमा खिम बहादुर भुजेल कार्यरत थिए । २ महिना अघिमात्र भुजेल नगरपालिकामा हाजिर भइ काम गर्दै आएका थिए ।
तर सामान्य प्रशासन मन्त्रालयले भुजेललाई हटाएर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नायव सुब्बा नन्दकिशोर गुप्तालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको छ । भुजेललाई भने कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । उपसचिव रहनुपर्ने स्थानमा नायब सुब्बालाई जिम्मेवारी दिएर पठाउँदा ठूलो समस्या उत्पन्न भएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए ।
मन्त्रालयका कर्मचारीले आर्थिक चलखेलका कारण जिल्लाका १८ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा नायव सुब्बालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी दिएर पठाएको उनको भनाइ छ । ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत उपसचिव भुजेलको सरुवा गरेर आफ्नो स्वार्थ अनुसारका नन्दकिशोर गुप्तालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन जनता समाजवादी पार्टीका केही नेताहरु नै लागिपरेको मेयर मेहताको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृतको सुरुवाका लागि कार्यपालिका बैठक बसेको भन्दै कीर्ते माइन्युट खडा गरी मन्त्रालयमा बुझाइएको जानकारी पाएपछि आफूहरु काठमाडौं पुगेको नगरप्रमुख मेहताले जानकारी दिए । उनका अनुसार उपप्रमुख हुसने आराको अध्यक्षतामा नगर कार्यपालिकाको बैठक बसेर कीर्ते माइन्युट बनाइएको जानकारीमा आएको हो ।
तर उपप्रमुख आराले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक नबसेको र आफ्नो नक्कली हस्ताक्षर गरेर मन्त्रालयमा कागजात बुझाएको थाहा पाएपछि आफू पनि राजधानी पुगेको बताइन् । नगरपालिकामा राजनीतिक खिचातानी र मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण एक वर्षमा चार पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएको मेयर मेहता बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार