शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला तथा बालिकाविरुद्धको हिंसात्मक घटनामा कमी आएन : इन्सेक

मङ्गलबार, २४ फागुन २०७८, २० : ४२
मङ्गलबार, २४ फागुन २०७८

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनामा कमी आउन नसकेको जनाएको छ । सन् २०२१ मा भएका त्यस्ता घटनाको अभिलेखीकरणका आधारमा इन्सेकले यस्तो दाबी गरेको हो ।

इन्सेकले जारी गरेको तथ्यांकअनुसार सन् २०२० मा महिला बेचबिखन तथा ओसारपसारका २५ घटना भएकोमा सन् २०२१ मा ४२ वटा त्यस्ता घटना प्रकाशमा आएका छन् । सन् २०२० मा बालिका बेचबिखन तथा ओसारपसारका ३४ घटना भएकोमा सन् २०२१ मा २७ वटा त्यस्ता घटना भएका छन् ।

यस्तै, महिलातर्फ सन् २०२० मा बलात्कारका ६४८ घटना भएकोमा सन् २०२१ मा ६४९ त्यस्ता घटना भएका र बालिकातर्फ सन् २०२० मा ९८९ वटा घटना भएकोमा सन् २०२१ मा एक हजार ४३ वटा त्यस्ता घटना भएको इन्सेकले जनाएको छ ।

सन् २०२० मा बलात्कार प्रयासका १५२ घटना भएकोमा सन् २०२१ मा १७७ त्यस्ता घटना भएका छन् भने अघिल्लो वर्ष घरेलु हिंसाका एक हजार ३४६ घटना भएकोमा सन् २०२१ मा दुई हजार ५९ वटा त्यस्ता घटना भएको इन्सेकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, परिवारजनबाट महिलाको हत्यासम्बन्धी घटना सन् २०२० मा १०२ वटा भएकोमा सन् २०२१ मा ११२ त्यस्ता घटना भएको जनाइएको छ । दाइजोका कारण हत्याका घटना सन् २०२० मा तीन वटा भएकोमा सन् २०२१ मा ६ वटा त्यस्ता घटना भएको इन्सेकले जनाएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ एक सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा इन्सेकले जारी गरेको यो तथ्यांकले समाजमा महिला अधिकारका सम्बन्धमा नीतिगत तथा कानुनी संरचना भए पनि तिनीहरुको कार्यान्वयनमा अझै सुधारको खाँचो औंल्याएको छ ।

इन्सेकले अदालतसम्म पुगेका घटनाको न्याय पनि निकै कम रहेकाले अदालती प्रक्रियालाई छिटोछरितो बनाउन आवश्यक रहेको जनाएको छ । थोरै न्याय र धेरै मेलमिलापका कारण पीडित महिला न्यायिक निरुपण गर्ने निकायसम्म नजाने गरेको प्रस्ट पार्दै इन्सेकले महिलामैत्री कानुन बनाउने सम्बन्धमा सर्वोच्च अदालतले गरेका आदेश र निर्देशन पालना हुनुपर्ने खाँचो पनि औंल्याएको छ ।

इन्सेकले छिटो न्यायका लागि द्रुत गतिमा अदालत तथा पारिवारिक अदालत गठन गर्नुपर्ने, घरेलु हिंसाका प्रकृति अनुरुप समाजको कानुनी प्रावधान तर्जुमा गर्नुपर्ने सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप