बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद स्मारक बी डिभिजन : सरस्वती र टुसाल युथ क्लबबीचको खेल बराबरीमा सकियो

मङ्गलबार, २४ फागुन २०७८, २० : २२
मङ्गलबार, २४ फागुन २०७८

सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले पहिलो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दोस्रो खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा पहिलो खेलमा झम्सीखेल ब्वाइज युनियलाई ३–१ गोल अन्तरले हराउँदै पहिलो जित हासिल गरेका हो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । आठौं मिनेटमा कप्तान दिपेश श्रेष्ठले गोल गर्दै सरस्वतीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा दबाब दिएर खेलेको सरस्वतीले दोस्रो हाफमा दुई गोल खाँदा एक गोल गर्न सफल भएको थियो । पछि परे पनि दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको टुसालले ६०औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्किने संकेत दिएको थियो । 

बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका टुसालका धिरेन्द्र बहादुर शाहले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको अर्को मिनेटमा तालमेल अभाव भएको मौकालाई सदुपयोग गर्दै सरस्वतीले पुन अग्रता लिन सफल भयो । बिक्रम बिसुङ्खेले गोल गर्दै खेल २–१ को अवस्थामा पु¥याए । त्यसपछि झन रोमाञ्चक बनेको खेलको ७७औं टुसालका धिरेन्द्रले नै गोल गर्दै पुन टोलीलाई बराबरी अवस्थामा ल्याए । बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र अंक बाँडे । बराबरीसँगै सरस्वतीले तीन खेलबाट ५ अंक जोडेको छ भने तीन खेल मध्ये दुई खेलमा बराबरी खेलेको टुसालको २ अंक भएको छ ।  

यस्तै पहिलो खेलमा ब्वाइज युनियनलाई ३–१ गोल पराजित गर्दा झम्सिखेलले पहिलो हाफ २–० को अग्रतालाई कायम राख्दै दोस्रो हाफमा पनि दबाब दिएको थियो । दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाए पनि स्पष्ट तीन अंक जोड्न सफल भएको थियो । 

खेलको १३ औं मिनेटमा आकाश बहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए । खेलको ५८ औं मिनेटमा अविरल बरालले गोल गर्दै टिमको अग्रता ३–० को बनाएपछि केही रक्षात्मक देखिएको झम्सिखेलविरुद्ध ६० औं मिनेटमा ब्वाइजका विवेक राईले एक गोल गर्दै अन्तर घटाएका थिए । अग्रता छोट्उँदै खेलमा फर्किने संकेत दिए पनि बाँकी समयमा थप गोल हुन सकेन र झम्सिखेल ३–१ ले विजयी भयो । जितसँगै झम्सिखेलले ३ खेलमा ४ अंक जोडेको छ भने ब्वाइजले ३ खेलमा ३ अंक जोडेको छ ।

लिग अन्तर्गत दिनको तेस्रो खेलमा आमने सामने भएका श्री भगवती क्लब र नयाँबस्ती युथ क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । १४औं मिनेटमा रमेश तामाङको फ्रिकिकबाट लिएको अग्रता नयाँ बस्तीले कायम राख्न नसक्दा अंक बाँडेको हो । ५०औं मिनेटमा रमेब उरावले फ्रिकिकबाट रिबान्ड भएको बललाई जाली चुमाउँदै खेल बराबरीमा ल्याएका थिए । यससँगै श्री भगवतीले तीन खेलबाट ७ अंक जोडेको छ । यस्तै नयाँ बस्तीले तीन खेलबाट समान ३ अंक नै भएको छ ।

लिगमा बुधबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल बाँसबारीले खुमलटार युथ क्लबको सामना गर्दा दोस्रो खेल बीरगञ्ज युनाईटेड र सामाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल चर्च ब्वाइज युनाई र मध्यपुर युथ एसोसियनबीच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप