एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीको आग्रह
गृहमन्त्री बालकृष्ण खाणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गरे ।
नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज रुपन्देहीको मणिग्राममा गृहमन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदाता माझ प्रष्ट पार्नु जरुरी रहेको बताए । उनले भने, “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसीसीको पक्षमा उभिएर संसदबाट अनुमोदन गर्न सफल भयो ।”
गृहमन्त्री खाणले सञ्चारकर्मीलाई पनि एमसीसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको बताए । उनले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे । गृहमन्त्री खाणले आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भने, “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ ।”
उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे । सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उनले मूलधारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पारे । उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गरे । कार्यक्रममा जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो । गृहमन्त्री खाँणले जनही २५ हजार राशिको पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड