रात्रीकालिन यात्रुको सहजताका लागि नयाँ बसपार्कभित्र होटल तथा लज
मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कमा रात्रीकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले रातिको समयमा काठमाडौं आएका चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान तथा बस्नका लागि होटल तथा लज सञ्चालनमा ल्याएको हो ।
लोत्सेले यातायात व्यवसायीको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उदेश्यले होटल तथा लज सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले जानकारी दिए । “लामो दूरीबाट आएका चालक, सहचालक तथा यात्रुलाई सहुलियत दरमा स्वास्थ्य खाना खुवाउने र सुताउन मिल्ने लक्ष्यसहित होटल तथा लज सञ्चालनमा ल्याएका हौँ”, उनले भने ।
होटल सञ्चालनमा आए पनि लज भने वैशाखपछि मात्र सञ्चालनमा आउने अध्यक्ष कुँवरको भनाइ छ । होटलमा एकपटकमा २०० जनाले खाना खान मिल्ने गरी व्यवस्था गरेको लोत्सेले लजमा भने प्रत्येक दिन १०० जनासम्म सुत्न मिल्ने गरी व्यवस्था गरेको छ । अध्यक्ष कुँवरले चालक, सहचालक र यात्रुको सुविधाका लागि क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए ।
लोत्सेले पर्यटक बससमेत नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्नेगरी तयारी गरिरहेको छ । “पर्यटक बस नयाँ बसपार्कबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पर्यटक बस व्यवसायीसँग छलफल भइरहेको छ”, उनले भने । काठमाडौं महानगरपालिका–२६ गोंगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कबाट पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएको छ भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतको जिल्लामा सवारीसाधन जाँदैनन् ।
काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालिन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा आएको हो । प्रविधिमैत्री टिकट बुकिङ काउण्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले बस टिकट खरिद तथा बुकिङका लागि क्यू आर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था समेत मिलाएको छ । नयाँ बसपार्कमा हाल एक हजार ५०० को हाराहारीमा सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ भने दैनिक एक हजारको हाराहारीमा सार्वजनिक यातायात देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।
लोत्सेले विसं २१०२ सम्म नयाँ बसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता गरेको र सो अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’