पारिवारिक जिम्मेवारी, शिक्षण र समाजसेवामा एक साथ सक्रिय छिन् सिर्जना
भनिन्छ, दुई वटा डुंगामा खुट्टा राख्यो भने लडिन्छ । तर, वीरेन्द्रनगरकी सिर्जना कार्कीले तीन वटा डुंगामा खुट्टा राखेर जीवन अघि बढाइरहेकी छन् । उमेरले ३३ वर्षकी उनले आफूलाई गृहिणी, शिक्षण र सामाजिक कार्यमा एकसाथ अघि बढाएकी हुन् । काठमाडौंमा जन्मे–हुर्केकी उनी विवाहपछि सुर्खेत आएकी हुन् । उनी एक शिक्षिकामात्रै होइनन्, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय महिला पनि हुन् ।
विशेषगरी सामाजिक मुद्दामा उनको भूमिका अग्रणी रुपमा रहँदै आएको छ भने युवा वर्गका लागि उनी मार्गदर्शक बन्दै आएकी छन् । ०४५ सालमा काठमाडौंमा जन्मेकी उनले देशका ठुल्ठूला सहरमा गएर अध्ययन गर्ने अवसर प्राप्त गरिन् । उनका बुबा सरकारी सेवामा कार्यरत भएकाले पनि उनलाई सहज थियो । उनले आफ्नो विगत सुनाउँदै भनिन्, ‘काठमाडौ, विराटनगर, विरगंज, जनकपुर लगायतका स्थानमा गएर शिक्षा हासिल गर्ने मौका पाएँ । कक्षा १२ को परीक्षा मैले विरगंजमा दिएकी थिएँ ।’
सिर्जना सानैदेखि ट्यालेन्ट विद्यार्थी हुन् । काठमाडौंमा रहँदादेखि नै अध्यापन गराउँदै आएकी उनी हाल वीरेन्द्रनगरको जनमाविमा पढाउँदै आएकी छन् । उनीसँग सन् २०१२ देखि अध्यापन गराउँदै आएको अनुभव छ । तर अहिले उनी सामाजिक कार्यमा बढी अग्रसर छिन् ।
‘म सम्पन्न परिवारमा हुर्केकी भएर पनि होला, सुरुमा सामाजिक क्षेत्रलाई नियाल्न पाएको थिइनँ,’ उनले भनिन्, ‘सुर्खेत आएपछि (विवाहपछि) सुरुमा सामुदायिक साझेदारी प्रहरीको कार्यक्रममा सरिक भएर काम गर्ने मौका पाएँ । त्यहाँ रहँदा बालविवाह, घरेलुहिंसा, महिलाका व्याप्त समस्याका बारेमा बुझ्ने अवसर मिल्यो । त्यसपछि सामाजिक क्षेत्रमा मेरो रुचि बढ्यो ।’
त्यसपछि आफ्नो रुचि अनुसार ओरेक नेपाल नामक संस्थामा उनले जागिर गरिन् । सो संस्थाले सामाजिक क्षेत्रमा विभिन्न चेतनामुलक कार्यहरु गर्दै आएको छ । सिर्जना ओरेक नेपालमा कार्यक्रम अधिकृतका रुपमा कार्यरत छिन् । युवाको सोच बदलियो भने मात्र समाज परिर्वतन हुन्छ भन्ने उनको मान्यता छ ।
उनी सामाजिक क्षेत्रमा च्याम्पियन बन्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । ‘मैले अध्यापन गराउँदा यहाँका विद्यार्थीहरु जुझारु रहेछन् भन्ने पाएँ । युवाहरुलाई अवसर दियो भने केही गर्न सकिन्छ,’ रातोपाटीसँग उनले भनिन्, ‘सबैभन्दा पहिला आफू चेञ्ज हुनुपर्छ । मसँग अध्ययन गर्ने विद्यार्थीहरुलाई केही न केही चेञ्ज ल्याए भन्ने मलाई लाग्छ ।’
एउटा घरको बुहारीले सामान्यतया सबै जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । उनी पनि परिवारप्रतिको सो दायित्वमा उत्तिकै सशक्त छिन् । ‘म बिहान क्लास लिन्छु अनि दिउँसो जागिर गर्छु,’ उनले भनिन्, ‘त्यहाँ महिलाका सवालहरुमा वहस, विमर्श हामी गर्छौं ।’
अहिलेको जमानामा मान्छेले पपुलारिटीलाई महत्व दिएको पाइन्छ । तर साँच्चिकै परिवर्तन गर्नुपर्छ भन्ने उनको सोचाइ छ । त्यसले पनि होला उनी वीरेन्द्रनगरमा धेरैजसो युवाका लागि आदरणीय छिन् ।
उनी भन्छिन्, ‘जीवन यात्राका क्रममा त्यस्तो कठिनाइ भएन । किनकि मेरो श्रीमान् पनि सक्षम हुनुहुन्छ । केही समय अघि सडक बालबालिकाको बारेमा काम ग¥यौं । त्यो बेला सबैले ह्या योे त बौलाइछे भन्दै कुरा काट्ने गर्थे । पछि त्यो सफल भएपछि तिनीहरुले नै राम्रो भन्न थाले ।’
समाजको सोच नै पितृसतात्मक रहेको र त्यो वास्तविकताबाट माथि उठ्न अझै नसकिएको उनको भनाइ छ ।
कोरोना भाइरस (कोभिड–१९)को समया सिर्जनाले वीरेन्द्रनगरमा धेरै सहयोग गरिन् । नाकामा समस्यामा परेकाहरुलाई सघाउनेदेखि उद्धार कार्यमा उनी सक्रिय भइन् । जसले उनी स्वयम् पनि कोरोना भाइरसबाट संक्रमित हुन पुगिन् ।
सामाजिक मुद्दामा अग्रसर
सानै उमेरमा समाजमा राम्रो छवि बनाएकी सिर्जना सामाजिक मुद्दाहरुमा अग्रसर हुने आफ्नो योजना रहेको बताउँछिन् । ‘म समाजमा केही चेञ्ज भएको हेर्न चाहन्छु र म जे मुद्दा उठाइरहेको छु । त्यही कार्यमा रहेर समाजलाई योगदान गर्ने मेरो सोच छ,’ उनी भन्छिन्, ‘महिला भनेका संघर्षशील जीवनका योद्धा हुन् । महिलाले अवसर पाएको खण्डमा हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । तर समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । अब त्यो चेञ्ज हुनुपर्छ ।’
नारी दिवस भन्ने बित्तिकै आमाको अनुहार याद आउँछ
उनी नारी दिवस भन्ने बित्तिकै आफ्नो आमाको अनुहार याद आउने गरेको बताउँछिन् । ‘यो दिनलाई आमालाई सम्मान गर्ने दिनका रुपमा म व्याख्या गर्छु । आमाले परिश्रम गरेर हाम्रालागि त्याग नगरेको भए सायद आज यस्ता खालका कुराहरु हाम्रा दिमागमा आउँदैन थिए । आमाले सबै जिन्दगी नै हाम्रालागि भनेर सम्पिनुभयो,’ उनी भन्छिन् ।
नारी दिवस कार्यक्रममा सीमित नभएर साँच्चिकै महिलाको हक अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ छ । उनका अनुसार कतिपय महिलालाई अझै नारी दिवस भन्ने के हो भन्ने थाहा हुँदैन, न त उनीहरुलाई आफ्ना अधिकारका सवालमा जानकारी नै हुन्छ ।
‘अधिकारका लागि महिलामात्र होइन, पुरुषलाई पनि सँगसँगै लान जरुरी छ,’ कार्की भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...