लडाइँको मैदानमा एक नाबालिग
उनका लागि समाज बाघजस्तो छ । समाजका मानिस बाघका डमरुजस्ता छन् । सोसल मिडियाका अन्तरक्रिया पुलिसजस्ता छन् । बाघ र डमरुका मुखबाट ज्यान जोगाउन मुटु दह्रो बनाउँछिन् तर सोसल मिडियामा बर्सिने घृणाका शब्द तारेभीरझैँ उनको थाप्लोमा बज्रिन्छन्, त्यसलाई पन्छाएर अघि बढ्न उनलाई हम्मे हम्मे पर्छ । नाबालिग उनलाई लाग्छ, यो संसार भनेको बाघको बगाल हो र उनी आफू त्यस बगालको निमुखो शिकार हुन् । अँध्यारो सुरुङमा थुनिएको महसुस गर्छिन् । सुरुङको एकातिर बाघ छ, अर्कोतिर पुलिस । उनलाई लाग्थ्यो, सुरुङमा तड्पिई तड्पिइकन मर्नुबाहेक अन्य कुनै उपाय नै छैन ।
आफू बसेको ठाउँ बिरानो लाग्थ्यो । त्यो बिरानो ठाउँमा उनलाई पल–प्रतिपल थरीथरीका राक्षसी आँखाले आफूलाई घेरिरहेजस्तो, पछ्याइरहेजस्तो, लखेटिरहेको जस्तो लाग्थ्यो । त्यसैले त ‘मरिदिन्छु’ भन्ने सोचले बारम्बार उनलाई घच्घच्यायो ।
आफूलाई सबैले त्यागेको, हेपेको, घृणा गरेको सहन सक्दिनथिन् । जसलाई उनले कहिल्यै देखेकीसमेत थिइनन्, ती व्यक्तिले पनि उनको क्यारेक्टमा औँला उठाए । ‘यस्ती, उस्ती’ भनेर शब्दवाण प्रहार गरे । ‘रे’ को भरमा सत्यतथ्यबारे थाहै नपाइकन सुन्नै नसकिने शब्दले गालीगलौज गरेको सुन्दा यति रुन्थिन्, लाग्थ्यो आँखाका आँसु रित्तिइसके । यति ठूलो संसारमा मिठो वचन बोलिदिने, मायाले यसोक्क हात समाइदिने निकै थोरै थिए, एउटै हातको औंलामा गन्न मिल्ने ।
तर, त्यही सीमित व्यक्तित्वको स्नेह, आड र सान्त्वनाले उनलाई अघि बढ्ने प्रेरणा दियो । केही समय यता उनलाई समर्थन गर्ने व्यक्तिहरुको संख्या बढेसँगै उनको आँट र जाँगर पनि बढेको छ । सुरुवाती दिनमा भन्दा पछिल्लो समय उनी ‘स्ट्रङ्ग’ भएकी छिन् । ‘यिनीहरूले यत्तिसम्म पनि गर्न सक्दा रहेछन्’ भनेर अत्तालिएर रोइकराई गर्ने उनीमा ‘अब म लड्नुपर्छ है’ भन्ने कन्फिडेन्स जागृत भएको छ ।
‘मरेँ भने त हारेँ नि त’, यतिसम्मको सोच आउँछ आजकाल उनलाई । उनको रोजाईंमा मृत्यु परेको भए, उनलाई मरणोपरान्त पनि मानिसले ‘यसैको त गल्ती रहेछ नि, त्यसैले मरी’ भनेर सोच्थे । त्यसैले उनले हिम्मत हारिनन्, स्थितिसँग जुध्ने, लड्ने र कसैगरी जीत हासिल गर्ने भनेर अघि बढिरहेकी छिन् । यसका लागि उनलाई सबैको साथ, सहयोग, सल्लाह सुझाव र हौसलाको खाँचो छ ।
हेर्नेहरूलाई रमिताको आनन्द छ । हेरिने नाबालिग बाघ र डमरुहरूका ओडारमा छिन्, आशा र डर मिसिएका आँखाले सबैलाई नियालेर न्याय प्राप्तिका लागि अग्रसर छिन् । आफू सत्य छु, गलत छैन भन्ने कुरामा शत प्रतिशत विश्वस्त छिन् । सत्यको जीत हुने कुरामा उनलाई रत्तिभर पनि शंका छैन । उनका आशा निम्छरो पखेटा फिँजाउँदै, जानी नजानीकन उड्दै बिस्तारै वेग मार्न थालेको छ ।
उनको यो विषयले बलात्कार केलाई भन्ने विषयमा पनि विवाद निम्तिएको छ । ‘लुगा च्यात्तिएको थियो र ? जबरजस्ती गरिएको थियो र ? पल त त्यस्ता स्वभाव भएका व्यक्ति होइनन्’ भनेर एउटी नायिकाले अभिव्यक्ति दिएकी छिन् । एकजना रंगपत्रकारले ‘दाह्रा निस्किएकोलाई महानायिका भनिदिनुपर्ने’ भन्दाखेरि ती नायिकाले यस्तो अभिव्यक्तिले आफूलाई मानसिक तनाव दिएको बताएकी थिइन् । यसबारे उनले ठूलै रोइकराई पनि गरेकी थिइन् । सहकर्मीमाझ हारगुहार गरेकी उनले युट्युवमा रुँदै अन्तरवार्ता दिएर आँसुका माध्यमबाट सहानुभूति बटुल्न खोजेकी थिइन् । तर, अहिले परिस्थिति फेरिएको छ । एक नाबालिग गायिकाले आफ्नो साङ्गीतिक करिअर र सामाजिक प्रतिष्ठा सबै दाउमा लगाएर आफूमाथि भएको करणीमा आवाज उठाएकी छन् । उनको उजुरीको आधारमा प्रहरीले (पिडक) आरोपित अभिनेता पल शाहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कसैको नाम उल्लेख नगरीकन ती रङ्ग पत्रकारले ‘दाह्रा निस्किएकोलाई महानायिका भनिदिनुपर्ने’ अभिव्यक्ति आफू तिरै लक्षित भएको उनले बताएकी थिइन् । यसले सम्पूर्ण नारीको अपमान भयो भनेर रुँदै कराउँदै हिँड्ने पूजाले पल प्रकरणमा दिएको यस्तो अभिव्यक्तिले सम्पूर्ण नारीको शिर झुकेको छ ।
फिल्मको दृश्यमा देखाइए झैँ नायिकामाथि पहिला हातपात गर्न खोज्नु, प्रतिकार गर्दा लुगा च्यातिदिनु, बलजफ्ती यौन क्रियाकलाप गर्नु मात्रै सायद ती नायिकाका लागि बलात्कार होला । नेपालबारे सामान्यभन्दा सामान्य ज्ञान नभएको भन्दै ट्रोल भएकी उनले नेपालको कानुनमा उल्लेखित बलात्कारको परिभाषा पनि पढ्नुपर्ने देखिन्छ ।
ती नायिकाले के बुझ्नुपर्छ भने करणी कसुरमा मुख्य वारदात स्थल नै पीडितको शरीर हो अर्थात् in cases of rape, the victim's body itself is the scene of crime. यसै सम्बन्धमा करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्छ ।
त्यसमाथि यो प्रकरणमा उनलाई पीडित र पीडकबारे डे वानदेखि थाहा थियो । पीडित नाबालिगले आफ्नोबारे सबै कुरा उनलाई बताएकी पनि थिइन् । त्यसपछि उनले पीडितलाई ‘तिमीलाई साथ दिन्छु, सहयोग गर्छु’ भनेर समर्थन नगरेकी पनि होइनन् । तर अहिले आएर उनको फेरिएको अभिव्यक्ति सुनेर पीडित अलमलमा छिन् । यो मुद्दामा मेलमिलाप गराउन पीडितलाई दबाब दिनेमध्ये उनी पनि एक थिइन् । ‘हाम्रो मुभी यस्तो छ, अहिले त्यस्तो केही पनि नगर । अहिले तिमीहरू मिल । तिमीहरू मिलेपछि सबै जनाले राम्रो भन्छन्, सबैलाई राम्रो पनि हुन्छ’ भनेर पीडितलाई गलत आश्वासन दिलाएर फकाइन् । त्यसपछिका अन्तरवार्ता पनि उनीहरूकै दबाबमा आएर उनले दिइन् ।
उनको दिमागले के गर्ने, के नगर्ने भनेर ठम्याउनै सकेको थिएन, उनी मानसिक रूपमा विक्षिप्तजस्तै बनेकी थिइन् । त्यसरी फकाउने व्यक्ति(नायिका)को पछिल्लो बयानले पीडित साँच्चै नै अचम्ममा छिन् । एउटी छोरी मान्छेले अर्की छोरी मान्छेलाई समर्थन गर्नुको साटो, विभिन्न आक्षेप र लाञ्छना लगाउनु के सही हो त ?
कसैको चरित्रमाथि बोल्ने अधिकार कसैलाई पनि छैन । त्यसमाथि जसले जे जति बोलिरहेका छन्, त्यो बोल्न लगाइएको हो भन्ने लाग्छ पीडितलाई । उनीहरू योजना अनुरूप नै चलिरहेको हो भन्ने पनि थाहा छ उनलाई । पिडकको योजना दर्शकको नजरमा आफूहरू राम्रो हुने हो र पीडितलाई भने जतिसक्दो गलत देखाउनु हो ।
त्यस्ता पैसा लिएर बोल्ने मान्छेहरूलाई उनले यत्तिकै माफी भने दिने छैनन् । उनले कुनै पनि हालतमा छोड्ने वाला छैन । ती सबैबारे उनले एकएक हिसाब गरेर राखेकी छिन्, प्रत्येक शब्द वाणलाई उनले खात लगाएर राखेकी छिन् । प्रत्येकको नाम सूचीबद्ध रूपमा मनमा कुँदिएर बसेका छन् । सबैविरुद्ध उनले मुद्दा हाल्ने साहस जुटाएकी छिन् । हुँदै नभएको कुराहरू बोल्न कसैलाई पनि अधिकार छैन भन्छिन् । उनीविरुद्ध नराम्रो कुरा गर्नेहरुमध्ये कोही पनि उनको माफीको लायक छैनन् ।
एउटा अडियोको भरमा कतिले उनलाई कति थरी भने । त्यो अडियोको पनि उनी कुनै सत्यतामा नभएको स्पष्टिकरण दिन्छिन् । त्यही अडियोमा उनले आफ्ना दुःखको कुरा पनि गरेकी थिइन् । तर ती सबै काटिए, हालियो त केवल गलत अर्थ लाग्ने शब्द र वाक्यहरू । धेरैले पीडितलाई त्यही अडियोको भरमा नबुझेर गलत भनेको उनलाई लाग्छ ।
तर, अहिले पीडितलाई कसले के भने भन्दा पनि कानुनले को गलत, को सही भनेर निर्धारण गर्ने र समय नै बलवान् हो भन्ने लाग्छ । उनी समयको पर्खाइमा छिन् ।
कसले के भन्यो भनेर पछिल्लो समय सामाजिक सञ्जाललाई पछ्याउने पनि गर्दिनन् उनी । अहिले त उनीसँग मोबाइल पनि छैन । पीडक र पीडितबीचका संवाद हेर्नका लागि यो प्रहरीको अनुसन्धानको परिधिभित्र छ ।
यसमा पीडितले पीडकलाई फसाउन खोजेको भन्ने धेरैले आरोपसमेत लगाइरहेका छन् तर यस्ता मुद्दामा कसैलाई फसाउन चाहेर फसाउन सकिँदैन । यदि यसमा पीडितले नियतवश कसैलाई फसाउन खोजेको पुष्टि भएको खण्डमा सजाय भोग्न तयार भएको पीडित बताउँछिन् । उनी एकदम तयार छिन् ।
यस्ता विषयमा आफ्ना धारणा व्यक्त गर्न मानिसलाई निकै आतुर हुन्छ । यसभित्रको संसार दुई चिरा परेको छ । एउटा संसारले पीडितले न्याय पाउनुपर्छ भनिरहेको छ भने त्यसबाहेकको अर्को संसारमा पीडक र उनका समर्थकको रजगज र रोइकराई उदेकपूर्ण छ । तर, बलात्कार पीडितका लागि अनेकौँ लाञ्छना लगाउनेहरूले के बुझ्नुपर्छ भने जब यस्ता वारदात आफ्नो परिवार र दिदी बहिनीमाथि घटित हुन्छ तब वास्तविक पीडा के हो, थाहा हुन्छ ।
कसैको चरित्रमाथि नै प्रश्न उठाउन एउटा जिम्मेवार समाजको काम हुनै सक्दैन । दोषीलाई कारबाही, पीडितलाई न्यायको निरूपण गर्ने जिम्मा त अदालतको हो ।
फुल्न नपाई कलिलो कोपिला छँदैमा थरीथरीका राक्षसहरुको छाडा कुल्चाइमा परेर चुरचुर भएकी नाबालिग गायिकालाई कस्तो लाग्छ भने यो बाघ र डमरुहरूको एकछत्र राज चलेको संसार हो, तर बबन्डर आँधी उठेको उनको बाउँडिएको मन उचित समयको पर्खाइमा छिन् सत्यको नै जीत हुन्छ भन्ने कुरामा विश्वस्त भएर लडाइँको मैदानमा होमिएकी छिन् ।