बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेसको मतगणना अझै सुरु भएन

मङ्गलबार, २४ फागुन २०७८, १५ : ३७
मङ्गलबार, २४ फागुन २०७८

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भए पनि अझै मतगणना सुरु हुन सकेको छैन । सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

धनुषा काँग्रेसको निर्वाचनमा ३ हजार १७३ मतदाता छन् भने २ हजार ९१२ मत खसेको छ । २६१ मतदाता भने निर्वाचनमा सहभागी भएनन् । सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिए पनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । मंगलबार साँझसम्ममा मतपरिणाम आउने जनाइएको छ ।

उम्मेदवारहरुको सहमति अनुसार क्षेत्रगत रुपमा मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मतदान गरेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।

धनुषाको क्षेत्र नम्बर १ बाट ८०१ मतमध्ये ७५३ मत, क्षेत्र नम्बर २ बाट ८३० मध्ये कुल ८०० मत, क्षेत्र नम्बर ३ बाट ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ बाट ७०९ मध्ये ६९१ खसेको निर्वाचन समितिले जनाएको छ ।

धनुषा काँग्रेसको सभापतिमा ३, उपसभापतिको दुई सिटका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र सन्तोष यादवबीच कडा प्रतिस्पर्धा छ ।

उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादव प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।

यस्तै सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतकाले उम्मेदवारी दिएका छन् ।

धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ । सभापतिमा कडा प्रतिस्पर्धा रहेकाले कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सक्ने सम्भावना नदेखिएको कार्यकर्ताहरु बताउँछन् । त्यो अवस्थामा सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नकटे सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन गराउने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप