पुरूष प्रताडितका कुराबारे पनि बोलौं
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । संसारभरिका महिलाहरूले यस दिवस मनाउन थालेको ११२ बर्ष पुरा भएको छ । एक शताब्दी लामो संघर्षपश्चात पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक–फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधान– २०७२ ले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि कर्ममा विभेद जारी छ । संविधानमा जे लेखिएको भए तापनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ ।
सामान्यतः नेपाली महिलाहरूका लागि कानुनी उपचार काकाकूललाई पानी बराबर भएको छ । समाजमा ब्याप्त रूढिवाद र अशिक्षाको कारण नेपाली महिलाहरूको ठूलो हिस्सा कानुनको पहुँचभन्दा बाहिर छ । पहुँच भएकाहरू पनि पक्षपातको शिकार भएका छन् । देशमा कानुनका रक्षकहरू नै भक्षक भएका प्रशस्त उदाहरण छन् ।
नेपाली महिलामाथि हुँदै आएका र भइरहेका शोषणका रूप लैंगिक, धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, यौनिक, शैक्षिक लगायत बहुरूपी छन् । प्राकृतिक रूपमै महिलाहरू कमजोर हुन्छन् भन्ने भ्रम महिला, पुरूष दुबैमा जबरजस्त छ । तर अहिलेसम्मको अनुसन्धानले जैविक रूपमा पुरूषभन्दा महिला कमजोर हुन्छ भनेर कहिँ कतै प्रमाणित गरेको छैन । भ्रमलाई बोकेर हामी महिलाहरू मानसिक रूपमा आफूलाई कमजोर बनाइरहेका छौं । मेरो बिचारमा हामी महिलाहरूलाई प्रकृतिले होइन, यस पुरूषप्रधान समाजको मूल्य, मान्यता र संस्कारले कमजोर बनाइरहेको छ ।
“पुरूष प्रधान“ भनेर सम्बोधन गर्दा मेरा कतिपय पुरूष साथीहरू रिसाउने गर्नु हुन्छ । मेरो विनम्रतापूर्वक अनुरोध छ– “साथीहरू ! मैले कुनै पुरूष ब्यक्ति बिशेषलाई आरोपित गर्न खोजेकी होइन; केवल हाम्रो समाजमा भएको प्रवृत्तिको कुरा मात्रै गरेकी हुँ । कृपया रिसानी माफ गर्नुहोला ।’
कतिपय महिलाहरू छोरी भएर जन्मिएकोमा ठूलो गुनासो छ आफैँप्रति । तर म छोरी भएर जन्मिएकोमा गर्व गर्दछु । किनकि, छोरी भनेका यस श्रृष्टीलाई निरन्तरता दिने सिर्जनाशक्ति भएकी आमा हुन् । भ्रुणदेखि नै छोरीहरूमाथि गरिने भेदभावजन्य ब्यवहारले उनीहरूको शारीरिक र मानसिक बनोटमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ । म अनुरोध गर्न चाहन्छु–“आमाहरू ! भ्रुणदेखि नै अन्याय नगर्नुस् छोरीहरूमाथि । छोरीप्रति गर्व गर्नुहोस् र छोरासरह ब्यवहार गर्नुहोस् ।’
बलात्कार, महिला बेचबिखन र बिशेष गरी मधेसमा डरलाग्दो रूपमा रहेको दाइजो प्रथाले नेपाली नारीहरूलाई मृत्युको मुखमा धकेलिरहेको छ । यस्ता मानवताविरोधी अपराधजन्य कृत्य गर्नेहरूलाई राज्यले हदैसम्मको कानुनी कार्वाही र समाजले सामाजिक रूपमा बहिष्कार गर्ने हिम्मत गर्नु पर्छ ।
आर्थिक विपन्नताको कारण कतिपय नेपाली नारीहरू बेश्याबृत्तिमा लाग्न पनि बाध्य छन् । कतिपय होटल, रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर अघोषित वेश्यालय बन्न पुगेको छ । प्रहरी प्रशासनकै मिलिभगतमा त्यस्ता ठाउँहरूमा यौनब्यापार भइरहेको कुरा बेलाबखत मिडियाहरूमार्फत् समाचार सार्वजनिक भइरहेका छन् । मलाई लाग्छ, स्वेच्छाले कुनै पनि सद्दे महिला बेश्यावृत्तिमा लाग्नै सक्दैन । बेश्यावृत्तिमा संलग्न महिलाहरूलाई घृणा गर्नुभन्दा सबैलाई रोजगारी उपलब्ध गराई त्यस्तो घृणित पेसाबाट मुक्त गराउन सिंगै राज्य र समाज लागि पर्नु जरूरी छ ।
कानुनले बर्जित गरे पनि बालविवाह अहिले पनि समस्याको रूपमा रहेको छ । बिशेष गरी मधेसमा दलित समुदायभित्र बाल विवाहको समस्या चर्को छ । शिक्षा, सामाजिक चेतना र आर्थिक विपन्नताको कारण यो सब भइरहेको छ । त्यसैले, राज्यले बिशेष कार्यक्रम बनाई यस्ता विकृति रोक्न पहल गर्न जरूरी छ ।
धर्म, परम्परा, संस्कार र अन्धविश्वासको कारण नेपाली महिलाहरूमाथि अत्यन्तै हिंस्रक दानवीय ब्यवहार भइरहेको छ । बोक्सीको नाममा मानव मलमूत्र खुवाउनु, शारीरिक यातना दिनु त्यतिले मात्र नभएर नृशंसतापूर्वक हत्यासमेत गरिनु महिलामाथि हुने हदैसम्मको अत्याचार हो ।
छाउपडी, देउकी, कुमारी प्रथा पनि महिलामाथिको हिंसा हो । क्रमशः समाजमा आइरहेको जागरणसँगै यस्ता परम्परा घट्दै त गएको छ, तर यस्तो नियमित प्रकृयाले अझै कैयौं बर्ष नेपाली महिलाले हिंसा भोगिरहन बाध्य हुनेछन् । तसर्थ, राज्यले समय सापेक्ष कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन, नागरिक स्तरमा जनचेतना अभियानको माध्यमद्वारा यस्ता हिंसात्मक कुप्रथाको शीघ्र अन्त्य गरिनु पर्दछ ।
लैंगिक समानता र स्वतन्त्रताको अभियानसँगै निरपेक्ष समानता र स्वतन्त्रताको उपभोग गर्ने विकृति पनि समाजमा बढ्दै गइरहेको छ । समानताको अर्थ पुरूषले बच्चा जन्माउनु पर्छ भन्ने हुन सक्दैन । किनकि प्रकृतिले त्यो अधिकार महिलालाई मात्र दिएको छ ।
सहमतिमा हुने सम्बन्धहरुलाई आफ्नो निजी स्वार्थपूर्तिको लागि कÞानून हातमा लिएर जवर्जस्ती करणी भयो भनेर आजभोलि कानुनलाई अनुचित तवरले प्रयोग भैरहेको छ ।
त्यस्तै स्वतन्त्रता भनेको ब्यक्तिगत अराजकता होइन । ब्यक्तिले प्राप्त गरेको अधिकार र कर्तब्यको सुन्दर संयोजन हो । समानता र स्वतन्त्रताको नाममा केही महिलाहरूले गर्ने कतिपय उच्छृंखल ब्यवहारले महिला समानता र स्वतन्त्रताको अभियानलाई कमजोर बनाइरहेका छन् । यसमा हामी महिलाहरू बढी सचेत हुन जरूरी छ ।
घर–घरमा महिलाले महिलामाथि गर्ने हिंसा, महिला मुक्तिको लागि ठूलो बाधक बनिरहेको छ । पुस्तान्तरणको कारण पैदा भएको सासू–बुहारी र आमा–छोरीबीचको अन्तरविरोध होस् वा अशिक्षा र असल संस्कारको अभावमा देखिएको एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति होस् । यसले हामी महिलाहरूलाई पछि पारिरहेको छ । यस्ता आफैलाई पछि पार्ने गलत हर्कत अब बन्द गरिनु पर्दछ ।
हाम्रो समाज पुरूषप्रधान छ । त्यसैले पुरूषको तुलनामा महिलामाथि बढी नै अन्याय, अत्याचार हुन्छ । समाजको धर्म, संस्कृति, सबै पनि पुरूष अनुकूल छ । तर, यसको अर्थ पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन रहेछ । महिलाहरूबाट पुरूष पनि प्रताडित रहेछन् । उनीहरूको पक्षमा हामी सचेत नारीहरूले बोल्नैपर्छ ।
महिलाका लागि महिलाले मात्र र पुरूषका लागि पुरूषले मात्र बोलेर, लडेर हुँदैन । पुरूष–महिला हातेमालो गर्दै अघि बढ्न सकेमात्रै समाजले गति लिन्छ, देशको मुहार बदलिन्छ ।
हिंसा, आखिर हिंसा नै हो । चाहे महिला विरूद्ध गरिने हिंसा होस् वा पुरूष विरूद्ध । हिंसाले ब्यक्ति, घरपरिवार, समाज र देशलाई नै बिगार्छ । शान्ति, सिर्जना सबैको ढोका बन्द गरिदिन्छ । तर, स्मरणीय कुरा के छ भने पुरुष वा महिलाले अन्याय, अत्याचारको विरूद्ध गरिने प्रतिवाद हिंसा नभएर उसको अधिकार हो । मेरो प्रष्ट बुझाइ छ, अन्याय, अत्याचार हिंसा हो भने त्यसको प्रतिवाद गर्नु अधिकार ।
समानताका नाममा असंभव कुरा माग गर्ने विकृत मानसिकता पनि हामी केही आधुनिक नारीहरूमा मौलाउँदै गइरहेको छ । यी दुबै विकृत मानसिकताबाट नारी–पुरूष मुक्त हुनु पर्दछ । कृपया ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन, सद्भाव राखेर सिंगै नारी जातिको सम्मान गर्नुस् ।
हिंसा, आखिर हिंसा नै हो । चाहे महिला विरूद्ध गरिने हिंसा होस् वा पुरूष विरूद्ध । महिला र पुरूष रथका दुई पांग्रा हुन् । पुरूषप्रति बदलाभाव राखेर वा महिलालाई हेपेर समानता संभव छैन । तसर्थ, एकले अर्काको अस्तित्व स्वीकार गर्दै सहयात्रा गरौं । अनि कायम गरौं नारी–पुरूष समानता ।
लेखक पुँजीबजारका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?