मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नारीवादी नेपाली साहित्य

चेतनाको ज्योति बाल्ने साहित्य क्षेत्रमा पनि विभेद कायमै
मङ्गलबार, २४ फागुन २०७८, १२ : ५५
मङ्गलबार, २४ फागुन २०७८

हरेक मार्च ८ का दिन महिलाहरुले आफ्ना हक अधिकारका बारेमा बहसहरू गर्दै आएका छन् । अहिले विश्वमा सशक्त महिला लेखकहरु आएका छन् । विशेष गरी पश्चिमका मेरी ओल्स्टनक्र्याफ्ट, भर्जिनिया उल्फ, जर्मन गिरले साहित्यमार्फत् नारीवादी चेतनाको पृष्ठभूमि तयार पारे । यसपछि सिमोन द बुबर, नवाल सादवी, भारतीय लेखिका कमला दास लगायतका सशक्त लेखक÷साहित्यकारहरुले यसलाई स्थापित र विकसित गर्दै आए । नेपालमा पनि नारीवादी साहित्यकारहरु सशक्त ढंगले कलम चलाउन थालेका छन् ।

के हो नारीवादी साहित्य ?

समाजका संस्कृति, रीतिरिवाज, घटना परिघटनाको प्रतिविम्बिन साहित्य हो । यसमा गरिबी, शोषण, दमन र वर्गीय विभेदलाई देखाइएको हुन्छ । यस्तै नारीसँग सम्बन्धित भएर लेखिएको साहित्य नारीवादी साहित्य हो । महिलाले भोगेका विभेद, आर्थिक असमानता, घरायसी तथा सामाजिक शोषण, धार्मिक उत्पीडन आदिबारे साहित्यमा कसरी प्रस्तुत भएको छ, त्यही आधारमा नारीवादी साहित्य हो होइन भनेर निर्धारण गरेको पाइन्छ ।

डा. साधना प्रतीक्षाका अनुसार नारीलाई केन्द्रमा राखेर सिर्जना गरिएको साहित्य नै नारीवादी साहित्य हो । साहित्य समालोचनामा नारीको भूमिका र त्यसलाई हेर्ने दृष्टिकोण हो । साहित्यमा नारीलाई कुन भूमिका दिएर प्रस्तुत गरिएको छ भन्ने हो । उनी भन्छिन्, “साहित्यमा नारीका समस्याको उठान गरिएका तथा नारी पात्रले स्वतन्त्रताका लागि विद्रोह गरेर अघि बढेका दुवै खालका साहित्य नारीवादी साहित्य हुन् । किनभने कुनै पनि कृतिमा पहिले नारी समस्याको उठान गरिन्छ, त्यसको पहिचान गरिन्छ अनि मात्र समाधानतिर गइन्छ ।”

साहित्यकार तथा समालोचक लीला लुइँटेल नारीको पहिचानको खोजी गरिएको, नारी सशक्तीकरणको मुद्दा उठाइएको, नारीको हक र अधिकार पहिचान गर्नका लागि आवाज उठाइएको साहित्य नारीवादी साहित्य हो भन्छिन् ।

यी आधारमा हेर्दा सचेत रूपमा नभए पनि नारीमाथिका विभेद नेपाली साहित्यमा सुरुवातदेखि नै आएको देखिन्छ । डा. प्रतीक्षाका अनुसार साहित्यकार गुरुप्रसाद मैनालीहरुले महिलाका समस्याको उठान मात्र गरिदिएका थिए, त्यसलाई निरन्तरता दिँदै भीमनिधि तिवारी, बालकृष्ण समलगायतले साहित्यमा महिला समस्यालाई उठाए । ती सिर्जनामा आएका नारी समस्याले निकास पाएका छैनन् । तर नारीवादले सम्पूर्ण समस्या देखाएर समाधान खोज्नुपर्छ भन्छ । डा. प्रतीक्षा भन्छिन्, “गोपालप्रसाद रिमालले हेलेन पात्रलाई विद्रोही बनाएर उत्पीडन सहनुभन्दा स्वतन्त्र भएर एक्लै बस्नु राम्रो भनेर निस्केको देखाएका छन् ।” तसर्थ समस्या देखाउने, उत्पीडनको चित्रण गर्ने, त्यो उत्पीडनबाट मुक्तिका लागि महिलाहरुलाई अग्रसर गराएर विद्रोही पात्रहरु उभ्याइदिने, उनीहरुले अस्तित्व र पहिचानको खोजी गरेको देखाइदिने काम नारीवादी साहित्यले गर्ने हो ।

नारी मुक्तिको विषय समावेश गरी साहित्य लेखनको सुरुवात गोपालप्रसाद रिमालले गरेको देखिन्छ । “मैले विश्वेश्वरप्रसाद कोइरालामाथि नारीवादी अनुसन्धानगरेँ, त्यसमा मेरो निष्कर्ष कोइरालाले नै नारीवादी चिन्तन भित्र्याएका हुन्,” डा. प्रतीक्षा भन्छिन्, “उनले पहिलो कथा चन्द्रवदन (१९९२) मार्फत् महिला समस्या उजागर गरेका छन् ।” तर नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालालाई यौनमनोविज्ञानका आँखाले मात्र हेरेको पाइन्छ । उनका अनुसार त्यो यौन मनोविश्लेषण मात्र थिएन, चन्द्रवदनमा चाहिँ पितृसत्तत्मक समाजमा महिलाले कस्तो खालको उत्पीडन भोग्नुपर्छ भन्ने देखाइएको छ । त्यो देखाउनु नै नारीवादी चिन्तन भएको उनको ठहर छ । त्यसपछि गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान, विजय मल्लहरुले सचेत रूपमा लेखेका छन् । पछिल्लो समय त पुरुषभन्दा महिला साहित्यकारले नै बढी लेख्ने गरेका छन् । अहिले महिला साहित्यकारहरुको पहिलो प्राथमिकता आफ्नो अस्तित्व र पहिचानमा बढी केन्द्रित छ भन्छिन् उनी ।

तर नारीवादी चिन्तनको जुन गहिराइ हो, त्यहाँसम्म चाहिँ नेपाली नारीवाद पुग्न नसकेको समालोचक लीला लुइँटेलको ठम्याइ छ । उनी भन्छिन्, “अहिले एकथरी महिला साहित्यकारहरु शृङ्गारिक धारामा रमाइरहेका छन्, एकथरी जे लेखे पनि भइहाल्छ भन्नेछन् तर साहित्यमा नारी मुक्तिको आवाज उठाउनेहरुले पनि त्यो परिवेशलाई नमिलाई जबरजस्ती अभिव्यक्ति दिइएको जस्तो देखिन्छ ।” नारीवादको वकालत गर्न खोजिए पनि परिवेशलाई मिलाउन नसकिएको अवस्था रहेको उनी बताउँछिन् ।

तर साहित्यमार्फत् नारीका समस्या मात्र राख्नु नारीवाद होइन भन्छन् प्राडा. कृष्णहरि बराल । यसले नारीका समस्या र त्यसको समाधानसहितको साहित्यलाई चाहिँ नारीवादी साहित्य भन्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, “कसै कसैले बीपीका कथालाई पनि नारीवादी भनेका छन् तर उनका कथा नारीवादी होइनन् । किनभने उनका नारी स्वतन्त्र भएका छैनन् ।” कर्णेलको घोडा कथामा पनि कर्णेलनी आफ्नो इच्छा दबाएर घोडा सुमसुम्याएर बसेकी छ, आँट गरेर अर्कोसँग हिँडेकी भए नारीवादी हुन्थ्यो । चन्द्रवदन कथाकी चन्द्रवदन पनि हिँड्न सकिन । मधेसतिर कथाकी विधवा पनि त्यस्तै अफ्ठ्यारामा परेकी छ, अर्कोसँग जान त खोज्छे तर अफ्ठ्यारोमा परेर गइन ।

उनका अनुसार चन्द्रवदन कथाको छायामा लेखिएको गोविन्द गोठालेको पल्लो घरको झ्याल उपन्यास चाहिँ नारीवादी हो । उनी भन्छन्, “पल्लो घरको झ्यालमा मिस्री भन्ने एउटा बदमास पात्र छ । त्यसलाई मूल पात्र महिलाले झ्यालबाट हेरिरहन्छे । अनि सोझो लोग्नेलाई छोडेर अन्त्यमा ऊसँग हिँड्छे ।” यसलाई चाहिँ उनी नारीवादी साहित्य मान्छन् । किनभने उसले आफ्ना इच्छा मार्न दिइन ।

यसैगरी विश्वेश्वरप्रसाद कोइराला हुँदै हृदयचन्द्र सिंह प्रधान, गोविन्द गोठाले र विजय मल्लले नारी समस्यालाई प्रष्टसँग राख्दै आए पनि नारी चेतनालाई सशक्त रूपमा उठाउने काम पारिजातले गरेको बताउँछन् डा. दुर्गा घर्ती । २०६२–०६३ पछि यस क्षेत्रमा कलम चलाउने धेरै नारी साहित्यकारहरु आए । पछिल्लो समय डा. बानिरा गिरी, सुधा त्रिपाठीहरुले नारीवादी समस्यामा केन्द्रित भएर लेख्ने गरेका छन् ।

साहित्यिक कार्यक्रममा महिलाको उपस्थिति न्यून

पछिल्लो समय हरेक दिन विभिन्न साहित्यिक कार्यक्रम हुने गरेका छन् तर ती कार्यक्रममा महिलाको उपस्थिति निकै नै कम हुन्छ । अझ मञ्चमा आसिन महिला प्रायः शून्य नै हुने गर्छ । त्यसको कारण पारिवारिक संरचनामा महिलाहरुले निभाउनुपर्ने भूमिकाले पनि हो । ती सामाजिक भूमिका, पेसागत भूमिकाले गर्दा साहित्यिक कार्यक्रमा महिलाहरुको उपस्थिति न्यून भएको डा. प्रतीक्षाको धारणा छ । उनी भन्छिन्, “पुरुषका तुलनामा महिलाको भूमिका धेरै छन्, ती सबै भूमिका निर्वाह गर्न र सन्तुलन गर्न केही अफ्ठ्यारो पनि भएको छ । अहिले महिलाका सहभागिता एकदमै कम भएको अवस्था चाहिँ होइन ।”

महिला पुरुषबीच विभेद कायमै

अझै पनि नेपाली समाजमा महिला पुरुषबीच विभेद कायमै छ भन्छिन् डा. प्रतीक्षा । उनी भन्छिन्, “मैले विद्यावारिधि गरेँ । मसँगै अरू पुरुषहरूले पनि विद्यावारिधि गरेका छन् तर सँगै बसेको पुरुषलाई सम्बोधन गर्दा डाक्टर साब भनिन्छ तर महिला छ भने फलानाकी श्रीमती भनेर बोलाइन्छ ।” यस्तो खालको सोच हाम्रो समाजमा धेरै रहेको उनी बताउँछिन् ।

जनचेतना फैलाउने जस्ता साहित्यिक कार्यक्रममा पनि महिलालाई प्राथमिकता दिने, अगाडि आएर बोल्न दिने अवस्था अझै पनि नभएको अनुभव छ समालोचक लुइँटेलको पनि । उनी भन्छिन्, “अहिले जनकपुर, हेटौँडा, वीरगञ्ज, सुदूरपश्चिम लगायत विभिन्न ठाउँमा साहित्य महोत्सव भइरहेका छन् तर त्यहाँ पनि खोइ त महिलाको पर्याप्त  सहभागिता ?” लेख्न मन गर्ने दिदीबहिनीहरु अझै पनि घरधन्दामै व्यस्त भएको र उनीहरुलाई अवसर नदिइएको उनी बताउँछिन् । एकै परिवारमा हुँदा पनि त्यस्ता कार्यक्रममा जान पनि अवसर दिइएको छैन । यस्तो अवस्थामा पनि साहित्य सिर्जनामा लागेका महिला धेरै रहेको उनी बताउँछिन् ।

अबको नारीवादी साहित्य

अहिले नयाँ पुस्ताले देखेको र पहिले हामीले भोगेको ग्रामीण र सहरी परिवेश फरक छ । महिलाका समस्या पनि फरक तरिकाले आउन थालेकाले नारीवादी साहित्य सिर्जनामा फरकपन आएको समालोचक लुइटेलको भनाइ छ ।

पहिला पहिला नारीहरू एकदमै पीडित थिए । पुरुषले महिलालाई हेर्ने दृष्टिकोण एकदमै एकाङ्गी, पूर्वाग्राही भएकाले महिलाहरु धेरै आक्रोशित र धेरै विद्रोही थिए । डा. प्रतीक्षा भन्छिन्, “अबको नारीवादले धेरै विद्रोह, पुरुषद्वैषी भावभन्दा समतामूलक समाज खोज्नुपर्छ ।” अहिले त महिला र पुरुष बराबरी भनेर जेन्डर स्टडिज विषय आइसकेको अवस्था छ । पुरुषको पनि अध्ययन हुनुपर्छ भन्ने आवाज आइसकेको छ । समस्या दुवै पक्षका छन्, अबको नारीवाद भनेको कुनै पितृसत्ता मातृ सत्ता होइन कि सत्ताविहीन समतामूलक विचार स्थापित गर्नका लागि अबको नारीवाद अग्रसर हुनुपर्छ भन्ने डा. प्रतीक्षाको मान्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप