बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसामा महिलाकै धाप : ती नेतृ, यी अभिनेत्री

मङ्गलबार, २४ फागुन २०७८, १२ : ४३
मङ्गलबार, २४ फागुन २०७८

अस्तिको दिन जानेमानेका पत्रकार ऋषि धमलाको अहिलेको जल्दोबल्दो विषयमा गर्मागर्मी बहस भइरहेको रहेछ । अतिथिमा हुनुहुन्थ्यो एक चिरपरिचित मोडल र एक गायिका । 

‘बलात्कार’ जस्तो विषयमा राष्ट्रिय टेलिभजनमा ‘टक शो चलाउँदा धेरै कुरा विचार पुर्याउनुपर्ने हुन्थ्यो । तर, यहाँ प्रस्तोतालाई मतलब थियो केवल भ्यूजसँग । त्यसैले उनी कसरी हुन्छ घटनाको फेहरिस्त छताछुल्ल बनाउन प्रयासरत हुनुहुन्थ्यो । नाबालिगको गोपनीयता र संवेदनशीलताको कत्ति मतलब नगरी उहाँ बेपरवाह शैलीमा सबै खाले प्रश्न सोधिरहनुभएको थियो । पीडितको पहिचान लुकाउने धर्मसम्म निभाउनुभएन ।  

गायिकाद्वयले दिएका जवाफ मैले ध्यान दिएर सुनेँ । सोचेको थिएँ, उहाँहरूले एक नाबालिगविरुद्ध भएको हिंसाविरुद्ध खुलेर आवाज उठाउनुहुन्छ । तर, म गलत रहेछु । उहाँहरू त पिडककै बचाउमा उत्रिनुभयो । नाबालिगलाई नै आरोपित गर्ने प्रयासमा लाग्नुभयो । नाबालिग भएर कसरी यत्रो गीत गाइन् ? कसरी विदेश भ्रमणमा गइन् ? जस्ता कुतर्क गर्न थाल्नुभयो । यस्तो बकबक मैले धेरै सुन्न सकिनँ । एउटी नाबालिग चेलीलाई न्याय दिलाउनका लागि लडिरहँदा महिला कलाकारहरूबाटै नै उनीमाथि नै प्रश्न र आशंका वर्षारहेको देख्दा मुटु छियाछिया भयो ।  

बलात्कार यस्तो संवेदनशील विषय हो, जसमाथि सञ्चारमाध्यममा टक सो चलाउनुअघि धेरैपटक सोच्नुपर्ने हुन्छ । सधैँ भाइरल कन्टेन्टको पछि कुद्ने ऋषि धमलाको त के कुरा गर्नु, समाजले नायक मानेका असल कहलिएका पत्रकारहरू समेत यो विषयको आन्द्राभुँडी केलाउन व्यग्र छन् । आफैँ वकिल र आफैँ न्यायाधीश बनिरहेका छन् । यसक्रममा महिलाहरू नै प्रयोग भइरहेका छन् पीडितको तेजोवध गर्न । यो बडो दु:खलाग्दो छ । 

​मुद्दा अदालतमा गइसकेको छ । अब सडकमा, सामाजिक सञ्जालमा र टेलिभिजनमा गरिने तर्कवितर्क भनेको ‘मिडिया ट्रायल’ मानिन्छ । मुद्दाको दुवै पक्षले यस्तो गर्न मिल्दैन ।

यो घटनाले समाजका धेरै पात्र र प्रवृत्तिहरूलाई उदाङ्गो पारिदिएको छ । विगतमा महिला हक–हितका पक्षमा सडक उचाल्दै नारा लगाउनेहरू मौन प्राय छन् । महिलाका मुद्दालाई अघि सारेर राजनीति गरिरहेका विभिन्न पार्टीका महिला सङ्गठनहरूको निद्रा खुलेको छैन । पेट्रोलमा एक रुपैयाँ भाउ बढ्दा सडक ठप्प पार्न सक्ने सामर्थ्य भएका विद्यार्थी सङ्गठनहरूलाई यो विषयले छोएकै छैन । मानौँ यो युट्यूबरहरुले मिलाउने सेलिब्रिटीको झगडा मात्रै सोचेका छन् उनीहरूले । घटनाले यति उग्ररुप लिइसक्दा पनि जिम्मेवार निकायहरू मुख खोल्न डराइरहेका छन् । मुद्दाको विषयवस्तुमा छिरेर धारणा राख्न मिल्दैन त्यो त ठिक छ, तर पीडित नाबालिग विरुद्ध सामाजिक सञ्जाल र अन्य माध्यमबाट जुन खालको चरित्रहत्या गर्न प्रयास भइरहेको छ, त्यसका विरुद्ध त आवाज उठाउन सकिन्थ्यो नि ।  

​मुद्दा अदालतमा गइसकेको छ । अब सडकमा, सामाजिक सञ्जालमा र टेलिभिजनमा गरिने तर्कवितर्क भनेको ‘मिडिया ट्रायल’ मानिन्छ । मुद्दाको दुवै पक्षले यस्तो गर्न मिल्दैन । वादीले पनि आफूसँग गएको प्रमाण अदालतलाई देखाउने हो प्रतिवादीले पनि । मेडिकल रिपोर्टदेखि जन्म मितिसम्मका डकुमेन्टहरू सञ्चारमाध्यममा छरपस्ट गराइदिँदा प्रतिवादीले त्यसको फाइदा उठाएर आफ्नो तयारी गर्ने सम्भावना हुन्छ । त्यसैले गोपनीयता अति आवश्यक छ ।

यो प्रकरण सार्वजनिक भएदेखि म स्वयम्को दैनिकै अस्तव्यस्त छ । पीडितलाई हौसला र प्रत्यक्ष साथलाई अहिले मैले आफ्नो सबैभन्दा पहिलो जिम्मेवारी ठानेको छु । ममाथि पनि अनेक प्रश्नहरू तेर्स्याइएका छन् । अनेक आरोपका वाणहरूले घोचिएका छन् । विभिन्न माध्यमबाट धाकधम्कीहरु पाइरहेको छु । तर, न्यायको लडाईंमा यस्ता प्रतिकूलताहरू आउँछन् नै । जोखिम छ भनेर जान्दाजान्दै पनि म यसमा नडगमगाउने गरी अगाडि बढेको हुँ । पछि हट्न सम्भावना त शून्य प्रतिशत पनि छैन । मलाई विश्वास छ सम्पूर्ण न्याय प्रेमी दाजुभाइ दिदीबहिनीहरू हाम्रो व्यापक सपोर्टमा हुनुहुन्छ । 

तर दुखलाग्दो कुरा, धेरैजसो मानिसहरूले अझै पनि नाबालिगलाई नै गलत सोचिरहेका छन् । टिकटकमा आइरहेका पोस्टहरू त झनै हेरिनसक्नु हुँदैन । नाबालिग बालिकालाई लाञ्छित गर्ने पोष्टहरुमा अधिकांस महिलाले समर्थन जनाउनु मलाई सबभन्दा बिझाएको कुरा हो । के हाम्रा दिदीबहिनीहरुले यो विषयको गहिराई बुझ्न सकिएन वा उहाँहरू स्वयम् पुरातन पुरुषवादी मनोग्रन्थिबाट पीडित हुनुहुन्छ । वास्तवमा पुरुषवादी ग्रन्थि पुरुषमा मात्रै होइनन्, महिलामा पनि हुँदो रहेछ । खासमा महिलामा अझै बढी हुँदो रहेछ, जुन यो घटनामा अभिव्यक्त भयो । 

नायिका पूजा शर्मालाई एउटा टेलिभिजन कार्यक्रममा प्रस्तोताले ‘बडिसेमिङ’ गरियो । राष्ट्रिय टेलिभिजनबाट एक नायिकाको दाँतमाथि टिप्पणी गरेर होच्याउने कार्य आपत्तिजनक थियो । त्यसविरुद्ध नायिकाले प्रेस काउन्सीलेदेखि प्रहरीसम्म गुहार्नुभयो । त्यसबेला उहाँले दिएका अभिव्यक्ति अहिले पनि सुरक्षित छन् । उहाँले भन्नुभएको थियो, ‘ह्यारेसमेन्ट गर्नलाई रेप नै गर्नुपर्छ जस्तो लाग्दैन । यो त टु मच भयो ।’

महिलाहरू ‘यस्ता कुराहरूबाट केटीहरू आफै बच्नपर्छ’, ‘पुरुषहरूले मौका पाएपछि गरिहाल्छन् नि’, ‘महिलालाई मन परुञ्जेल चमत्कार हुन्छ, मन पर्न छोडेपछि बलात्कार हुन्छ’ यस्ता यस्ता खालका निकृष्ट विचारहरूले सामाजिक सञ्जालमा व्यापकता पाइरहेका छन् । यस्ता विचार प्रवाह गर्नेमा बढी नारीहरू नै छन् । 

बलात्कारजस्तो संगीन आरोपमा एक व्यक्तिलाई हिरासतभित्र राखिएको छ । अनि बाहिरको भिडले पिडककै पक्षमा न्याय माग्दै नाराबाजी गर्छ भने के यसलाई सभ्य र आधुनिक समाज भन्न सकिन्छ । समाज त बहकाउमा पर्‍यो अरे । तर, समाजलाई सही दिशानिर्देश गर्नुपर्ने सिलिब्रिटीहरुकै भूमिका सन्देहास्पद किन ?  औँलामा गन्न सकिने महिला सेलिब्रिटीहरुले मात्रै न्यायको पक्षमा  बोल्नु भएको छ । बाँकी यात मोन हुनुहुन्छ, या घुमाउरोतरिकाले पिडकलाई समर्थन गरिरहनुभएको  छ । 

एकजना नायिकाको नाम लिन कर लाग्यो । नायिका पूजा शर्मालाई एउटा टेलिभिजन कार्यक्रममा प्रस्तोताले ‘बडिसेमिङ’ गरियो । राष्ट्रिय टेलिभिजनबाट एक नायिकाको दाँतमाथि टिप्पणी गरेर होच्याउने कार्य आपत्तिजनक थियो । त्यसविरुद्ध नायिकाले प्रेस काउन्सीलेदेखि प्रहरीसम्म गुहार्नुभयो । त्यसबेला उहाँले दिएका अभिव्यक्ति अहिले पनि सुरक्षित छन् । उहाँले भन्नुभएको थियो, ‘ह्यारेसमेन्ट गर्नलाई रेप नै गर्नुपर्छ जस्तो लाग्दैन । यो त टु मच भयो ।’

पूजा शर्मालाई शारीरिक हाउभाउलाई लिएर होच्याउँदा ह्यारेसमेन्ट महसुस भयो । त्यो स्वाभाविक पनि हो । नेशनल टेलिभिजनबाट एउटा नायिकाको बडी पार्टलाई व्यङ्ग्यको विषय बनाउँदा पत्रकारले पत्रकारिताको आचारसंहितालाई धज्जी उडाइएको थियो । त्यसबेला हामी सबैले उनको समर्थनमा बोलेकै हौं । 

तर, अहिलेको प्रकरणमा पूजा शर्माको गतिविधि र अभिव्यक्ति लाजमर्दो छ । उहाँ सोध्नुहुन्छ, ‘लुगा नच्यातीकन कसरी बलात्कार हुन्छ ? पल शाह त्यस्तो खालको मान्छे नै होइन ।’

उहाँले अलिकति बलात्कारसम्वन्धी कानूनको अध्ययन गर्नुभएको भए सायद यति हास्यास्पद तर्क गर्नुहुने थिएन । नेपालको कानुनले १८ वर्षमुनिका नाबालिगसँग सहमतिमा राखेको सम्बन्धलाई पनि बलात्कार मान्छ ।

यति मात्र होइन, उहाँ त पीडकको तस्बिर अंकित टिशर्ट लगाएर सिनेमाहलहरुमा पुग्नुभयो । दर्शकसामु इमोसनल ब्ल्याकमेलिङ गर्नुभयो । त्यसले उहाँको फिल्मको व्यापारलाई निकै ठूलो सर्पोट त मिल्यो होला, पैसा कमाउनुभयो होला, तर आफ्नो व्यक्तिगत छवि र प्रतिष्ठा भने धुमिल बनाउनुभएको छ ।

उहाँले राष्ट्रपतिको चरित्रमाथि नै  प्रश्न उठाएर गरेको यो भाषण अशोभनीय मात्र नभएर अराजनीतिक र आपत्तिजनक थियो । 

यति बेला म एक युवा नेतृलाई सम्झिरहेकी छु । धेरै होइन, करिब एक वर्षआडिको प्रसङ्ग हो । उहाँले देशको महिला राष्ट्रपतिलाई सार्वजनिक मञ्चबाट गम्भीर आक्षेप लगाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’ संज्ञा दिँदै यस्तो भाषण गर्नुभएको थियो– म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कारगेट छोडेर, शीतल निवासको सुख सुविधा, ऐस आराम छाडेर, पहिले कोटेश्वरमा आउनुस् । चाबहिल कि बानेश्वरतिर बसाई छ भन्ने सुन्या थिएँ । होइन भने बालकोटै गए पनि हुन्छ ।’

एउटै पार्टीमा रहेका बेला उहाँले राष्ट्रपतिको चरित्रमाथि नै  प्रश्न उठाएर गरेको यो भाषण अशोभनीय मात्र नभएर अराजनीतिक र आपत्तिजनक थियो । 

उहाँ यतिमा मात्रै रोकिनु भएन । राष्ट्रपतिले सेतो सारी लगाएर शक्ति आर्जन गरेको आरोपसमेत लगाउनुभयो । 

‘मदन भण्डारीको हत्यापछि सेता सारी लगाएर र जुन गलत सांस्कृतिक अभ्यास गरेको थियो त्यसको प्रत्युत्पादक हो विद्या भण्डारी । विचार, सिद्धिन्छ सकिएपछि कपाल, लुगा, देखाएर राजनीति गरिन्छ, फुट्ने त्यही हो ।’

नेपालमा श्रीमानको निधनपछि श्रीमतीले विभिन्न धार्मिक मापदण्डहरूमा बस्नुपर्ने प्रचलित संस्कार छ । राष्ट्रपतिले अनुसरण गर्नुभएको यही संस्कार हो । यसमाथि समेत प्रश्न उठाएर नेतृले नेपालको धार्मिक र सांस्कृतिक मूल्यमान्यतामाथि नै प्रहार गरेकी थिइन् । 

यो प्रसङ्ग यहाँ उल्लेख गरिनु कतिपयलाई असान्दर्भिक कुरा पनि लाग्न सक्छ । मैले चाहिँ यहाँ प्रवृत्तिको कुरा गर्न खोजेको हो । ती नेतृ र अहिलेका अभिनेत्री पत्र फरक भए पनि प्रवृत्ति एकै हुन् । 

जब कुनै महिला एक्कासि अगाडि बढ्छ र माथिल्लो स्तरमा पुग्छ, उनलाई तल खसाल्नका लागि महिलाहरू नै सबैभन्दा बढी सक्रिय हुँदा रहेछन् । नाबालिग गायिकाले कलिलो उमेरमा लोकप्रियताको जुन स्तर कायम गरेकी छन्, त्यो जोकोहीका निम्ति असम्भव छ । उनलाई तल खसाल्न सक्ने अरू कुनै उपाय नभेटाएहरुका लागि अहिले यो प्रकरण ठूलो अस्त्र बनेको छ । सोझो तरिकाले नलेखेपनि घुमाउरो तरिकाले उनीहरू गायिकालाई नै गलत साबित गर्न तल्लीन छन् । तर, अदालतले केही दिनमा दूधको दूध पानीको पानी छुट्याउने छन् नै ।

जब एउटी महिला आफ्ना इज्जत तिलाञ्जली दिएर हिम्मतका साथ अगाडि बढ्न खोज्दा ऊ आफैं उच्छृङ्खल भइ भन्ने खालका अभिव्यक्ति आउने गर्छन् । यदि कोही महिलाले आफू घरेलु हिंसामा परेँ, सामाजिक हिंसामा परेँ, राजनीतिक हिंसामा परेँ भन्छन् भने महिलाको हक अधिकारका लागि सबैले ऐक्यबद्धता जनाउनुर्छ, ताकि भोलि उसैलाई परेको खण्डमा अरुले पनि समर्थन जनाउन सकून् । आज  ११२ औं अन्तराष्ट्रिय नारी दिवस मनाइराख्दा महिलाकै खोइरो खन्ने महिलाले सद्बुद्धि पाउन् । प्रत्येकले नारी सम्मान र समानताका लागि प्रतिबद्धता जनाउन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्यास्मिन ओझा
ज्यास्मिन ओझा
लेखकबाट थप